चितवनमा ‘महापुरुष’ टिम
Published On : 14 October, 2022 8:58 pm
द सिनेमा टाइम्स, चितवन – कार्तिक ११ गतेबाट प्रदर्शनको तयारीमा रहेको सिनेमा ‘महापुरुष’ को देशव्यापी प्रचार-प्रसारमा व्यस्त रहेको छ ।
“प्रमोसनल’ टुरका लागि देश दौडाहामा रहेको सिनेमा युनिटले आज (शुक्रबार) चितवनका पत्रकारहरुसँग भेटघाट गरेको छ । नारायणगढमा आयोजित पत्रकार सम्मेलनमा सिनेमाका कार्यकारी निर्माता एवं कलाकार रविन्द्र सिंह बाँनियाले ‘महापुरुष’ को कथाको जन्म देवघाटबाट भएको बताएका छन् ।
देवघाटका एक ‘बा’ को कथाबाट प्रभावित भएर ‘महापुरुष’ को कथा जन्मिएको उनको भनाइ थियो । देवघाटका एक एकल ‘बा’ को सत्य घटनाबाट सिनोमा प्रभावित भएको उनले बताए । आमाको कथामा धेरै सिनेमा बनेको बताउँदै ‘महापुरुष’ बुवाको कथामा केन्द्रित रहेको उनको भनाइ थियो ।
सिनेमामा उठान गरिएको कथाबस्तुलाई बलियो बनाउन निकै मिहिनेत गरिएको उनले बताए । राम्रो बिषयबस्तुमा सिनेमा निर्माण गरे चल्छ भन्ने उदाहरण ‘महापुरुष’ ले दिने उनको विश्वास छ ।
लेखक तथा निर्देशक प्रदीप भट्टराईले परिवारसँगै रहे पनि सन्तानले समय नदिँदा बुवा आमाले कसरी एक्लोपन महसुस गर्छन् भन्ने कथा सिनेमाको माध्यमबाट देखाउन खोजिएको बताए । उनले सिनेमालाई स्वादिष्ट बनाउन खोजिएको बताए । ‘हामीले स्वादिष्ट बनाउन खोजेका छौं । ११ गतेपछि प्लेटमा पस्किन्छौं । सबैले मिठो मान्नु हुनेछ भन्ने विश्वास छ’, उनले भने ।
कलाकार हरिवंश आचार्यले लामो समयपछि ‘महापुरुष’ मार्फत गम्भीर भूमिकामा अभिनय गर्ने अवसर पाएको बताए । ‘बलिदान’ पछि पहिलो पटक यस सिनेमा मार्फत एउटा गम्भीर भूमिका निर्वाह गर्ने अवसर पाएको उनको भनाइ थियो । सिनेमा हसाँउदा हसाँउदै रुवाउने र रुवाउँदा रुवाउँदै हसाउँने उनले बताए ।
नायक अरुण क्षेत्रीले सामाजिक कथामा काम गर्ने इच्छा ‘महापुरुष’ बाट पुरा भएको बताए । अभिनेत्री अन्जना बराईलीले सिनेमामा राम्रो काम गर्ने प्रयास गरेको बताईन् । दिग्गज कलाकारहरुबाट हरेक दिन नयाँ कुरा सिक्ने अवसर पाएको उनको भनाइ थियो ।
म्याक्स दीपेश खत्री निर्मित सिनेमामा मदनकृष्ण श्रेष्ठ, गौरी मल्ल, राजाराम पौडेललगायतको मुख्य पनि अभिनय छ । दीपक बज्रचार्यले खिचेको सिनेमालाई मित्र डि गुरुङले सम्पादन गरेका हुन् ।