‘महापुरुष’बाट आशावादी डेब्यु जोडी अरुण र अन्जना


द सिनेमा टाइम्स, काठमाडौं – कात्तिक ११ गतेबाट प्रदर्शनमा आउने सिनेमा ‘महापुरूष’ बाट डेब्यु गर्दैछन् अरुण क्षेत्री र अञ्जना बराईली । बाल्यकालदेखी नै मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यलाई ठुलो र सानो पर्दामा हेर्दै हुर्किएका अरुणले हरिवंशको कान्छो छोरा र अञ्जनाले मदनकृष्णकी छोरीको भूमिका निर्वाह गरेका छन् । ‘मलाई डर नलागेको होइन । तर मैले त्यसलाई आत्मविश्वासमा बदलिए । उहाँहरूको आशिर्वाद लिएर डेब्यु गर्न पाउँदाको खुसी व्यक्त गर्ने शब्दनै मसँग छैन’, अरुणले भने । उनी सिनेमामा अडिसन मार्फत छानिएका हुन् ।

जापानबाट अभिनयमा आफ्नो भविष्य देखेर नेपाल फर्किएका अरुणले निर्देशक प्रदीप भट्टराईसँग काम गर्ने योजना बनाएका थिए । तर उनको भेट हुनसकेको थिएन । उनले निर्देशक भट्टराईसँगै रबिन्द्र सिंह बानियाँलाई सम्पर्क गर्न प्रयास गरे । ‘त्यो समयमा उहाँहरूको जात्रै जात्रा रिलिज हुँदै थियो । त्यसैले पनि भेट् भएन । अहिले उहाँको सिनेमाबाट डेब्यु गर्ने अवसर पाएँ’,अरुणले भने ।

मोडलिङ र म्युजिक भिडियोमा अभिनय गरेकी अञ्जना पनि अडिसन मार्फत छानिएकी हुन् । उनी सिनेमामा प्रतिष्ठाको भूमिकामा छिन् । ‘मैले केहि सिनेमामा अडिसन पनि दिएकी थिएँ । एक सिनेमामा सेल्केट भएर प्रतीक्षा गरें । तर त्यो सिनेमा बनेन् । यहाँ अडिसन दिएँ’, उनले भनिन् । मह जोडी र प्रदीप भट्टराईको निर्देशनमा काम गर्न पाउँदा उनको सिकाई पनि भएको छ । ‘म यहाँको लागि नौलो मान्छे । मलाइ रबिन्द्र दाई र प्रदीप दाईले राम्रोसँग गाइड गर्नु भयो । अभिनयलाई प्रस्तुत गर्ने शैली सिकाउनु भयो’, उनले भनिन् ।

अडिसनमा देखाएको अभिनयले नै ‘सेलेक्ट’ गरिएको कलाकारसँगै कार्यकारी निर्माता रहेका बानियाँले बताए । ‘हामीलाई चाहिएको कलाकार उहाँ दुईमा पायौँ । अडिसनमा दिइएको उहाँको प्रस्तुतिले प्रभाव छाड्यो । धेरैको अडिसन लिएता पनि भूमिका सुहाउँदो भएकाले सेलेक्ट गरेका हौँ’, बानियाँले भने । आफूहरूले दया वा मायाले भन्दा पनि कलाकारिता हेरेर दुई नयाँ अनुहारलाई डेब्यु गराउने निर्णय लिएको बताए । ‘दिग्गज कलाकारहरुसँग स्क्रिनमा देखिएको कन्फीडेन्टले अन्जना र अरुणको भविष्य उज्वल छ, भन्ने लागेको छ’, उनले भने ।

कास्टिङ डिरेक्टरको रुपमा काम गर्ने थियटर आर्टिस्ट सुदाम सिकेले नै अरुणलाई षटकोण आर्ट्ससम्म पुर्याएका थिए । ‘हामीले क्यारेक्टर चाहियो भनेपछि सुदामले अरुणको बारेमा जानकारी दिए । अडिसन भयो । उनले भूमिकालाई जीवन्त बनाएपछि हामीले सेलेक्ट गरेका हौँ’, बानियाँले भने । अरुण र अञ्जनालाई वर्कशपमा केही समस्या भयो । सिनेमाको लागि नयाँ उनीहरूले क्यारेक्टरलाई बाच्न समय लिए । तर सिनेमामा नयाँ कतै नदेखिने निर्देशक भट्टराई बताउँछन् ।

‘हामीले नयाँ प्रतिभालाई स्थान दिनुपर्छ भनेर अडिसनमार्फत खोजेका हौँ । नयाँपुस्ताको कथा नयाँ मार्फत नै भन्न खोजेका छौँ’, निर्देशक भट्टराईले भने । सिनेमामा काम गर्दा धेरै सिक्न पाएको अरुणले बताए । ‘पहिलो दृश्य देखि अन्तिमसम्म उहाँहरूबाट सिकेको सिकाईलाई आउँदो दिनमा प्रयोग गर्ने छु । मह जोडीले किन सम्मान पाउनु हुन्छ भन्ने काम गरेपछि झनै थाहा भयो । उहाँले आफू मात्र नभई हामीलाई समेत सिकाउँदै राम्रो कलाकार बनाउनु भयो’, अरुणले भने ।

अञ्जना पनि अरुण झैँ महसँग अभिनयलाई बुझ्न पाएको बताउछिन् । ‘क्यारेक्टर बाच्न उहाँहरू मार्फत सिके । सरलता, सामीप्यता, सहयोगी भावले हामी जस्ता नयाँ कलाकारलाई धेरै हौसला र उर्जा थप्छ’, उनले भनिन् । छायांकन अवधिभर अविभावकको कमि महसुश नभएको समेत उनले बताइन ।

सामाजिक विषयवस्तुमा आधारित ड्रामामा गौरी मल्ल, राजाराम पौडेल, शिखा तामाङ, कोपिला थापा, शिरु विष्ट, कविता श्रेष्ठ, नरेन्द्र कंसाकार, सविन बास्तोला, नरेश पौड्याल, प्रेम पाण्डे, सुमन रिमाल, माधव अधिकारी, प्रकाश भट्टराई, घनश्याम जोशी, अर्जुन आचार्य, प्रज्वल पराजुली लगायतको अभिनय छ । फिल्ममा प्रदीप भट्टराईको लेख्नसँगै निर्देशन रहेको छ । निर्देशक भट्टराई अब चौथो सिनेमा लिएर दर्शकमाझ आउँन लागेका हुन् । उनी यसपटक यसअघिका सिनेमा भन्दा झनै कन्फीडेन्ट छन् ।

षट्कोण आर्ट्स प्रा.लि.को व्यानारमा निर्मित सिनेमामा कार्यकारी निर्माता रबिन्द्र सिंह बानियाँ हुन् भने निर्माता दिपेश खत्री रहेका छन् । सिनेमामा दीपक बज्राचार्यको छायांकन, मित्र डी गुरुङको सम्पादन रहेको छ । यही सिनेमाबाट कवि नवराज पराजुलीले पनि गीतकारको रुपमा सिनेमामा डेब्यु गर्दै छन् । सिनेमाको पार्श्व ध्वनिमा रोहित शाक्य÷शैलेश श्रेष्ठ, ध्वनि संयोजनमा अमित श्रेष्ठ, रंग संयोजनमा कपिल पराजुली र प्रोडक्सन म्यानेजरमा रूपक प्रताप अधिकारी रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्