राजालाई प्रहसन देखाउँदाजस्तै हरिवंशलाई ‘महापुरुष’को कथा सुनेर डर लागेपछि…


द सिनेमा टाइम्स,काठमाडौं । प्रज्ञा प्रतिष्ठानमा वि.सं. २०३४ सालमा गाईजात्रा महोत्सव हुने भयो । हरिवंश आचार्यले ‘आधुनिक श्राद्ध’ नामक प्रहसन तयार पारेका थिए । उनले पनि दरखास्त दिए । स्क्रिप्ट पढेर उनलाई बोलाइयो । पत्र पढ्दा उनको खुसीले पहाड उक्लिएको थियो ।

अब प्राज्ञहरुको अगाडि प्रहसन देखाउनु पर्ने भयो । उनले देखाए । लैनसिंह बांदेल, सत्यमोहन जोशी, माधव घिमिरे, विजय मल्ललगायत प्राज्ञहरू थिए । उनीहरू प्रहसन हेरेर मुसुमुसु हाँसे । टाउको हल्लाए । हरिवंशले संकेत पाए, मेरो प्रहसन पनि छनोट हुने भयो ।

प्रज्ञाबाट दोस्रो पत्र आयो । पत्रमा थियो, तपाईंको प्रहसन विशेष प्रहसनमा पर्‍यो । विशेष प्रहसन भनेको राजपरिवारलाई देखाउने विशिष्ट प्रदर्शन हो । विशिष्ट प्रदर्शन भनेको सातदिनसम्म प्रदर्शन गर्नुपथ्र्यो । राज परिवारका सदस्य आउने दिन प्रज्ञा भवनमा विशेष सुरक्षाको प्रवन्ध मिलाइएको थियो । कुकुर ल्याएर सुरक्षा जाँच गरियो । राजा कार्यक्रम हेर्न आउने भएपछि भवनको सजावट भब्य थियो । हलमा अत्तर छरिएको थियो । हरहर बास्ना आउने । देशका ठूला हास्यव्यंग्य कलाकारसँगै आफूले पनि विशेष प्रहसन गर्न पाउने भएकाले हरिवंश दङ्ग परेका थिए ।

राजालाई प्रहसन देखाउने भनेपछि सबै नर्भसजस्ता देखिन्थे । कुनामा गएर सबै आआफ्नो डाइलग कण्ठ गरिरहेका थिए । हरिवंशलाई पनि डर लाग्यो । बिर्सिएला कि भन्ने भयो । कन्चटमा चिटचिट पसिना आयो । ट्वाइलेट गएर पिसाव फेरे । तुरुक्क मात्रै आयो । एकछिन पछि फेरि गए । फेरि त्यस्तै तुरुक्क मात्रै आयो । वाकवाक आउलाजस्तो भयो ।

स्कुलका नेविसंघ अध्यक्ष मुकुन्दराज न्यौपानेलाई केही दिन अगाडि भनेका थिए, राजालाई विशेष प्रहसन देखाउने भने पछि मलाई त डर पो लागिएको छ । उनले ढाडस दिँदै भनेका थिए, उसको केको डर ? राजा पनि हामी जस्तै मान्छे त हो । उसले पनि दिसा गर्दा चकलेट गर्दैन । उसले पनि दाँत माझेन भने सास गनाउँछ । त्यो पनि बुढो हुन्छ, चाउरी पर्छ । हरिवंशले मुकुन्दले भनेका कुरा सम्झिए र आफैंले आफैंलाई ढाडस दिँदै भने, हो त राजा भनेको पनि हामी जस्तै मान्छे त हो नि । के डर ? पालो आयो । प्रहसन प्रस्तुत गरे । मान्छेहरु खुब हाँसे । पाठ बिर्सिला भन्ने चिन्तामा रहेका हरिवंशलाई थपिएर पो आयो ।

पछि सत्यमोहनले गाली गर्दै भने– स्क्रिप्टमा नभएको कुरा किन थपेको ? तिम्रो कार्यक्रम पहिलाभन्दा ५ मिनेट लामो भयो । तर एकदम राम्रो भयो । बधाई छ । पब्लिक शोजमा झन जमाउनू । गालीसँगै प्रोत्साहन पनि दिए । भोलिपल्ट गोरखापत्रमा नाम र समाचार छापियो । एकसाता पछि गोल्ड मेडलको घोषणा भयो । उनले पनि पाए । गोल्ड मेडलसँगै ९ हजार पनि पाए । त्यो बेलाको ९ हजारले बूढानीलकण्ठतिर एक रोपनी जग्गा आउँथ्यो । यो प्रसंग हरिवंशले आफ्नो पुस्तक ‘चिना हराएको मान्छे’मा उल्लेख गरेका छन् ।

हरिवंशलाई जबजब पीर हुन्छ तब उनलाई डर लाग्छ । जब डर लाग्छ उनलाई पिसाब आउँछ । डरले आएको पिसाब तुरुक तुरुक मात्रै आउँछ । अनि वाकवाक लाग्छ । खोइ किन हो चलचित्र ‘महापरुष’का बेला पनि हरिवंशलाई यस्तै भयो । कति चलचित्रमा अभिनय गरे । सयौँ प्रहसन गरे । तर, यसपटक उनलाई पिर प¥यो । उही राजालाई प्रहसन देखाउने बेलाको जस्तै ट्वाइलेट धाए । तुरुक्क, तुरुक्क पिसाव फेरे । वाकवाक आए जस्तो भयो । अर्थात उनलाई पिर भयो । पिर जन्माइदिएको थियो– महापुरुषको चरित्रले । निर्देशकले आजसम्म हरिवंशले गरेको कुनै पनि क्यारेक्टरजस्तो हाम्रो चलचित्रको क्यारेक्टर देखिनु हुँदैन भनेका थिए । गेटअपदेखि आवाजसम्म फरक हुनुपर्छ भनेका थिए । त्यतिमात्रै पनि होइन सक्कली हरिवंश पनि देखिनु हुँदैन भनेका थिए । त्यसैले उनले विल्कुल नयाँ चरित्र निकाल्नु थियो । अरूले लेखेको स्क्रिप्टमा काम गर्नुथियो । त्यसैले उनलाई पिर परेको थियो ।

यो पिर अघिल्लो हप्ता काठमाडौंमा आयोजित एउटा पत्रकारसँगको भेटमा उनी सुनाउँदै थिए । साथमा अरू कलाकार पनि थिए । अगाडि पत्रकार थिए । छेउमा निर्देशक प्रदीप भट्टराई । “मलाई विश्वास गरेर आएपछि मैले काम गर्नुपर्ने थियो । तर, कसरी गर्ने भन्ने डर थियो । मलाई हरेक काम गर्दा डर लाग्छ । यो पटक पनि यस्तै भयो,” हरिवंश भन्दै थिए, “कथा सुनाए पछि मलाई पिर पर्‍यो । विश्वास गरेर दिएको जिम्मेवारी कसरी पूरा गर्ने भन्ने भयो । पिर परेपछि म ट्वाइलेट गकोगइ गरेँ ।”

छेउमा बसेका ‘महापुरुष’का नायक अरुण क्षेत्रीले पनि हरिवंश ट्वाइलेट धाएको देखेका रहेछन् । उनी भन्दै थिए, “हो हरि बा पटक पटक ट्वाइलेट गइरहनु भएको थियो ।”

संयोगले भनौँ वा अरु केही ? अरुणको पनि उही समस्या रहेछ । डराउने । पहिलो चलचित्र त्यसमा पनि साथमा लिजेन्ड कलाकारसँग स्क्रिन सेयर गर्नुपर्ने । उनलाई डरले चिटचिट भइरहेका रहेछन् । जब डर लाग्छ तब उसैगरी हरिवंश झैँ ट्वाइलेट जाने उनको बानी रहेछ ।

“म त यति धेरै डराइरहेको थिएँ । पहिलो सिनेमा त्यसमा पनि हरि बा, मदन बा, गौरी माँसँग काउन्टर पार्टमा काम गर्नुपर्ने । डरले पिसाव आएजस्तो हुन्थ्यो । त्यसैले ट्वाइलेट धाएको धाएै थिएँ । हरिबा पनि । हरि बा भित्र हुँदा म बाहिर, म भित्र हुँदा हरि बा बाहिर हुनुहुन्थ्यो,” अरुण स्मरण गर्दै थिए, “जब हरिबा डराएको देखेँ अनि मलाई लाग्यो, हरि बा जो ४० वर्षदेखि यही काम गरिरहनु भएको छ । उहाँ त नयाँ काम गर्दा आत्तिनु हुन्छ भने म पहिलोपटक काम गर्दैछु, डर लाग्नु स्वाभाविक हो ।”

त्यसपछि अरुणमा आत्मबल भरियो । र डरलाई पाखा लगाएर चुनौतिको पहाड फोर्न तम्सिए । पहाड फोर्न सके वा सकेनन् । कार्तिक ११ गतेपछि थाहा होला । तर, हरिवंशले उनको काम मन पराए । निर्देशक प्रदीप र निर्माता तथा कलाकार रबिन्द्र सिँह बानिया अरुणलाई नेपाली सिनेमा क्षेत्रको लामो रेसको घोडा भनिरहेका छन् ।

आम दर्शकको मूल्यांकन कस्तो गर्लान् ?, ‘महापुरुष’लाई लिएर के भन्लान् ? थाहा छैन । तर, हरिवंशको नयाँ क्यारेक्टर प्रिमियरमा आउने चलचित्रकर्मीले मन पराए । मनमात्रै पराएनन् । तारिफ नै गरे । निर्देशक निश्चल बस्नेतले हरिवंशले डराउँदै डराउँदै गरेको कामको प्रशंसा गरे । सिनेमा हेरिसकेपछि उनले भने, ‘हरिवंश दाइको धेरै समयपछि यस्तो रुपमा अभिनय हेर्न पाइयो ।’

अधिकांशले उनको मुक्तकण्ठले प्रशंसा गरे । हरिवंशलाई सिनेमाको कथा सुनेर लागेको पिर अहिले प्रशंसामा बदलिएको छ । सायद कार्तिक ११ पछि रुपैयाँमा बदलिने छ ।

प्रतिक्रिया दिनुहोस्