‘महापुरुष’को पुरुषार्थ


द सिनेमा टाइम्स, काठमाडौं – ०७९ सालमा हालसम्म रिलिज भएका नेपाली सिनेमामध्ये नेपाली बक्स अफिसमा दोस्रो सर्वाधिक ग्रस कलेक्सन गर्ने बाटोमा  सिनेमा महापुरुष अग्रसर भइरहेको छ । सिनेमा निर्माण टिमलाई बधाई ! केही दिन अगाडि सिनेमा वितरक तथा निर्देशक प्रचण्डमान श्रेष्ठले आफ्नो फेसबुकमा लेखे । प्रचण्डमानले यति लेखिरहँदा महापुरुष तेस्रो दिनमा चलिरहेको थियो । त्यसको भोलिपल्ट तीन दिनको बक्सअफिस रिपोर्ट सिनेमा निर्माण पक्षले मिडियालाई उपलब्ध गरायो । उक्त रिपोर्ट अनुसार महापुरुषले तीन दिनमा तीन करोड ३८  लाख रुपैयाँ ग्रस कलेक्सन गरेको थियो ।

यो कलेक्सनले निर्माण टिम निकै उत्साहित छ । सिनेमाका निर्देशक प्रदीप भट्टराई, निर्माता रविन्द्र सिंह बानिया तथा मुख्य कलाकार हरिवंश आचार्यले दर्शक तथा शुभचिन्तकलाई धन्यवाद दिइरहेका छन् । दर्शकले दिएको माया भन्दै हाउसफुल अकुपेन्सीका स्क्रिनसट सेयर गरिरहेका छन् । दर्शकको हाउसफुल उपस्थितिले उत्साही बनेको कलाकारसहतिको निर्माण टिम कहिले एकै परिवारका २८ जनाले काटेको टिकट भन्दै टिकटको लामो रोल फेसबुकमा पोष्ट गरिरहेको हुन्छ भने कहिले ९१ वर्षीय वृद्धा महापुरुष हेर्न हलमा भन्दै लेखिएका समाचार सेयर गरिरहेको हुन्छ ।

लामो समयको मिहिनेत र ठूलो लगानीमा बनेको सिनेमा के होला भनेर त्रास र उत्साहको दोसाँधमा दर्शक माझ पु¥याउँदा ढुक्कले चलेपछि उत्साही हुनु नौलो पनि होइन । तर, प्रायः लगानी डुबिरहने नेपाली सिने नगरीमा कसरी उत्साहप्रद व्यापार यो सिनेमाले गरिरहेको छ भन्ने प्रश्नलाई केलाउने हो भने कमेडी जनराको सोसल ड्रामा यसको मुख्य कारण हो । नेपाली सिनेमा नगरीमा अहिले कमेडीले राज गरिरहेको छ । उदाहरणका रुपमा ‘छक्का पञ्जा’ सिरिज, ‘कबड्डी’ सिरिज, ‘जात्रा’ सिरिज, ‘दुई नम्बरी, के घर के डेरा’लाई लिन सकिन्छ । यस्ता सिनेमा परिवारसहित हेर्न दर्शक हलमा आइरहेका छन् । जब परिवारसहित दर्शक हलमा आउँछन्, ती सिनेमाको व्यापारमा उछाल आउँछ । यो सत्य हो । त्यसैले त हो ‘महापुरुष’को निर्माण पक्ष परिवारसहित सिनेमा हेर्न आएका दर्शक देखेर उत्साही भएको । टिकटको लामो रोल देखाउँदै सोही परिवारसँग फोटो खिचेर खुसी साटेको ।

अब लागौँ सिनेमाको कथातर्फ, अहिले नेपाली समाजमा विस्तारै परिवर्तन आउन थालेको छ । एकल महिलाको विवाहको कुरालाई यसको उदाहरणको रुपमा लिन सकिन्छ । उमेरमै श्रीमान बिते अथवा छोडेर गए एक्लो भएकी महिलाले दोस्रो बिहे गर्न थालेका छन् । यद्यपि सहज भने छैन ।तर यो सिनेमाले एकल महिला होइन एकल पुरुषको कुरा गर्छ । श्रीमती वितेपछि दुई छोरालाई आमाको समेत माया दिएर हुर्काइरहेका बुवा छन् सिनेमामा । जसको भूमिका हरिवंश आचार्यले निभाएका छन् । छोराको भूमिकामा छन् नवनायक अरुण क्षेत्री र रविन्द्र सिंह बानिया ।

आदर्श नगरमा उनीहरूको घर छ । जुन नगरमा बस्नका लागि आदर्शनगरले छुट्टै मापदण्ड बनाएको छ । त्यो मापदण्ड पालना नगर्ने उक्त नगरमा बस्नै पाउँदैन । आदर्शनगरमा महापुरुष कहलिएको छ हरिवंशको क्यारेक्टर । जसको आदर्श नै उनको चिनारी हो, सम्पत्ति हो । उनी स्वयंको इज्जत मात्रै होइन छोराहरूको गौरव पनि हो ।जेठो छोरो विदुर बाउको त्यही इज्जतमा टेकेर स्कुलको विजनेस गर्छ । कान्छो विज्ञान सपनाको देश अस्ट्रेलिया उड्ने चक्करमा डिपेन्डेन्ट भिसाको खोजीमा छ ।

जसै उसलाई बिहे गरेर डिपेन्डेन्टमा लैजाने युवती प्रतिष्ठा फेला पर्छिन् । यता, सुँगालाई साथी बनाएर आफ्नो एक्लोपनको निरश जीवन व्यथित गरिरहेका हरिवंशको जीवनमा गौरी मल्लको प्रवेश हुन्छ । अनि सुरु हुन्छ सिनेमामा द्वन्द्व । जब निरश जीवन बिताएरहेका बालकृष्ण (हरिवंश)को जीवनले दशकौँपछि रंग भर्न थाल्छ तब छोराहरूको होस् उड्छ ।सुरुमा परोक्ष, पछि प्रत्यक्ष बालकृष्णको खुसीमा छोरोहरू धावा बोल्न थाल्छन् । त्यसको कारण छ, कान्छोलाई बाउले बिहे गरे आफ्नो बिहे भाँडिन्छ र अष्ट्रेलिया सपना चकनाचुर हुन्छ भन्ने डर छ । जेठोलाई घाटामा गएको स्कुलमा बल्लतल्ल भेटिएको साझेदार भड्किन्छ भन्ने त्रास छ । यति मात्रै होइन बाको जीवनगाथा लेखेर भगवान जस्ता मेरा बा भनेर बाको उचो इज्जतलाई बेचेर धनी हुने सपना पूरा नहोला भन्ने चिन्ता छ । यसकै वरिपरी कथा घुम्छ । पात्रहरू डुल्छन् ।

एक्लै निस्सासिएको जीवनमा अनायसै खुसी लिएर आइपुगेकी महिला पात्रले त्राण भर्न थालेपछि कति आदर्शको जलप लगाएर निरश जिन्दगी जिउनु भन्ने बालकृष्ण जसै विद्रोही हुने बाटो विस्तारै पक्रिन्छन्, छोरासँगै समाज वाधक बन्दै अगाडि खडा हुन्छ । आदर्शनगरको इज्जतसँग जोडेर उनीहरु बालकृष्णलाई रोक्न खोज्छन् ।जतिजति सिनेमाको कथा अघि बढ्दै जान्छ त्यति नै आदर्शको लेप पग्लिदै जान्छ । समाजको इज्जत ढाक्न आफ्नै खुसी दबाएर बाँचिरहेका एकल पुरुषहरु बालकृष्णको पक्षधर बन्दै खुल्न थाल्छन् । छोराहरू भने आफ्नो इज्जतमा दाग लाग्ने भन्दै बुुवाको खुसीमाथि धावा बोलिरहन्छन् ।

विस्तारै विज्ञानको बुझाई र व्यवाहारमा परिवर्तन आउँछ । आफ्नो बिहे रोकेर ऊ बाउको बिहे गराउने प्रयासमा लाग्छ । विदुर भने टसको मस हुँदैन । उसलाई स्कुलको साझेदारको चिन्ताले छोड्दैन । बायोग्राफी मेरा बा प्रकाशनको चिन्ताले छोड्दैन ।अनि सुरु हुन्छ दाजुभाइबीचको द्वन्द्व उत्कर्ष । सिनेमाको उत्कर्ष पनि दाजुभाइबीचको यही लडाइँ नै हो । बाउको बिहे हेर्न चाहने विज्ञान र आदर्शको विर्को झन कस्न चाहने विदुर । कसको जित हुन्छ ? यही उत्सुकता मेटाउँदै सिनेमा सकिन्छ ।यति हेर्दा दर्शक कतै हाँस्छन् कतै रुन्छन् । गम्भीर विषयमा घरी रुवाउने त घरी हसाउने निर्देशकको खुबी नै सायद सिनेमाको बलियो पक्ष हो । चोटिला गम्भीर संवादमार्फत पनि दर्शकलाई हसाउन सक्नु निर्देशको खुबी हो । त्यसैले त सिनेमाका एकाध कमजोरीलाई दशर्कले ख्याल गर्दैनन् र मजाले हास्छन् । र कसैले सोधे सिनेमा राम्रो छ हेर्न जाउ भन्दिन्छन् । अर्थात सिनेमाको वर्ड अफ माउथ राम्रो छ । दर्शक आउनेक्रम उल्लेख्य छँदै छ ।

मिश्रित समीक्षा बटुलिरहेको ‘महापुरुष’ हरिवशंको ‘बलिदान’पछिको बिर्सन नसकिने अर्को सिनेमा भनेर धेरैले प्रशंसा गरिरहेका छन् । यसैले दर्शकको बाक्लो उपस्थितिले सिनेमाले शानदार व्यापार गरिरहेको छ । बक्स अफिसमा यो वर्ष अर्को एउटा सिनेमा बलियो बनेर आइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्