मुम्बईको स्टुडियोमा ‘ह्यारी कि प्यारी’को पोस्ट प्रोडक्सन, बलिउडकर्मीले गरे तारिफ


द सिनेमा टाइम्स, काठमाडौं – हास्य अभिनेता जितु नेपाल र अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाहको शिर्ष भूमिका रहेको सिनेमा ‘ह्यारी कि प्यारी’ यतिबेला चर्चामा छ ।

कमेडीमा जमेका जितु र रोमान्टिक अभिनेत्रीको छवि बनाएकी साम्राज्ञीको यो पहिलो सहकार्य कस्तो बनेको होला भन्ने जिज्ञासा चौतर्फी सुरु भएको छ ।

माघ २० लाई प्रदर्शन मिति तोकेको सिनेमालाई डा: कपिल रिजालले निर्देशन गरेका हुन् । रोमकम जनराको सिनेमामा निर्देशक रिजाल कै प्रस्तुति र कथा छ ।

रिलिजको लागि २ महिनाको समय बाँकी रहँदा सिनेमाको टिम भने यतिबेला बलिउड नगरी मुम्बई पुगेको छ ।

मुम्बईको चर्चित प्राइम फोकस स्टुडियोमा ‘ह्यारी कि प्यारी’को पोस्ट प्रोडक्सनको कार्य भैरहेको छ । प्राइम फोकसले यसअघि ‘ओम शान्ति ओम’, ‘मेरी कोम’, ‘पा’, ‘गुरु’, ‘गजनी’, ‘एक भिलेन’, ‘कयामत’, ‘धडक’, ‘गुड न्युज’ जस्ता थुप्रै बलिउड सिनेमाको सम्पादन गरिसकेको छ ।

नेपालमा प्रयाप्त प्रोडक्सन स्टुडियो भएपनि राम्रो नतिजा दिन मुम्बईको अत्याधुनिक स्टुडियोमा प्रोडक्सन कार्य थालनी गरिएको निर्देशक रिजालले बताए ।

‘मेरो हजुरआमाले भन्नु हुन्थ्यो, ‘गरेपछि राम्रैसंग गर्नु पर्छ ।’ बिस्तारै भनेर हुँदैन । त्यसपछि सबभन्दा राम्रो स्टुडियो कुन ? भन्दा प्राइम फोकसको नाम अगाडी आयो । ब्रमास्त्र जस्तो ६ सय करोडको सिनेमा बनाएको स्टुडियो भनेपछि प्राइम फोकस मै आउने निधो गरियो ।’

‘ह्यारी कि प्यारी’का मुख्य सहायक निर्देशक गिरिराज घिमिरे मुम्बईमा काम गर्दा टेक्निकल रुपमा सजिलो हुने बताउछन । साथै प्राइम स्टुडियोका कर्मचारीहरुले दिएको सम्मान र कामप्रतिको लगावले घिमिरेलाई प्रभावित बनाएको छ ।

सिनेमाका छायांकार सुदिप बराल मुम्बईमा पोस्ट प्रोडक्सनको काम गर्दा प्राविधिक रुपमा सिनेमा अब्बल हुने धारणा राख्छन ।

‘नेपालमा हामीले सिमित स्क्रिनमा हेरेर डीआइको काम गर्नु पर्छ । त्यहाँ सम्पादन गर्दा हलको रेजुलेशनमा कस्तो दृश्य देखिन्छ भन्ने कुरा देख्न पाइन्थेन । यहाँ भने हलको प्रोजेक्सनकै लेभलको स्क्रिनमा सम्पादन गर्न पाउदा डिटेलिङमा देखिन्छ । नेपालमा प्राय: हलहरुमा टुके प्रोजेक्सन हुन्छ भने यहाँ हामीले फोरकेमा सम्पादन गरिरहेका छौं ।’ छायांकार सुदिप बरालले मुम्बईको कामले नेपालमा पनि प्राविधिक शिक्षा अझ बिस्तार हुने आशा बोकेका छन् ।

सिनेमा सम्पादनको लागि मुम्बई पुगेका अभिनेता जितु नेपाल त्यहाँको स्टुडियोले नेपाली सिनेमालाई दिएको माया र सम्मानको कदर गर्छन ।

‘हामि उहाँहरुको क्लाइन्ट भएका कारण राम्रो काम दिनु भएको छ । अझ त्यो भन्दा नि राम्रो कुरा उहाँहरुले नेपालीलाई दिएको सम्मान । उहाँहरुले बलिउड सिनेकर्मीलाई जस्तै हामीलाई पनि सम्मान दिनु भएको छ । उहाँहरु नयाँ काम गर्न पाएकोमा उत्साहितपनि देखिनु भएको छ ।’ जितुले प्राइम स्टुडियोको प्रशंसामा शब्द खर्चिए ।

‘गजनी’, ‘तारे जमीन पर’, ‘पिके’, ‘गोलमाल’, ‘थ्री इडियट्स’, ‘सिङ्घम’ जस्ता बलिउडका चर्चित सिनेमामा साउण्ड मिक्सिङको काम गरिसकेका सुवीर दासले ‘ह्यारी कि प्यारी’मा साउण्ड मिक्सिङ गर्न पाउदा एउटा माइलस्टोन पार गरेको बताउछन ।

‘सिनेमाको कन्टेन्ट र भावना राम्रो छ । यो कन्टेन्ट दर्शक माँझ पुग्न जरुरी जस्तो लागेपछि मिक्सिङको काम अगाडी बढाएँ । यो मेरो करिअरको माइलस्टोन हो । सिनेमाले भावनात्मक रुपमा दर्शकसंग कनेक्ट गर्न सक्छ ।’ साउण्ड इन्जिनियर दास सिनेमाको तारिफ गर्दै भन्छन ।

पहिलो पटक नेपाली सिनेमामा कलरको काम गरेका प्राइम स्टुडियोका सिनियर कलरिस्ट मनोज वर्मा नयाँ अनुभव प्राप्त गर्न पाएको बताउछन । साथै उनि नेपाली सिनेमालाई बलिउड जतिकै प्राथमिकता राखेर काम अगाडी बढाएको बताउछन । उनका अनुसार ‘ह्यारी कि प्यारी’मा बलिउड सिनेमा ‘बजरंगी भाइजान’को लेभलको कलरको काम भएको छ ।

स्टुडियोका प्रोडक्सन हेड निर्मल गाला आफुहरुले राम्रो काम दिने र समय मै सिनेमाको काम सकाउने बताउछन । उनले २० वर्षे लामो करिअरमा ८ सय बढी सिनेमाको काम गरेका छन् ।

सिनेमाको लागि ब्याकग्राउण्ड म्युजिसियनको काम गरेका बापीले ‘ह्यारी कि प्यारी’ मनोरन्जनको प्याकेजिङ भएकाले संगीत दिन मज्जा आएको बताए ।

‘उहाँहरुले भावनात्मक सिनेमा बनाउनु भएको छ । जसमा नेपालको ग्रामिण भेगलाई मज्जाले उतार्नु भएको छ । नेपालको र सिनेमाको मर्म मर्न नदिन मैले इन्टरनेशनल लेभलको ब्याकग्राउण्ड म्युजिक दिएको छ । आशा नेपाली दर्शकहरुले मन पराउनु हुनेछ ।’ ब्याकग्राउण्ड स्कोरर बापीले भने ।’

प्रतिक्रिया दिनुहोस्