मदनकृष्ण श्रेष्ठको ‘बेस्ट लाइफटाइम एचिभमेन्ट अवार्ड’ हुन् हरिवंश !


Published On : 8 January, 2023 4:04 pm

द सिनेमा टाइम्स, काठमाडौं – शनिबार दहचोकस्थित स्विजरल्याण्ड पार्कमा यसबर्षको सुपरहिट सिनेमा ‘महापुरुष’को ५१ औं दिनको सेलिब्रेसन कार्यक्रम आयोजना गरिएको थियो । प्रदीप भट्टराईको निर्देशनमा निर्माण भएको सिनेमाको सेलिब्रेसन कार्यक्रममा कास्ट एण्ड क्रिउ र मिडियाकर्मीको बाक्लो उपस्थिति रहेको थियो ।

सफलताको खुसी साटासाट कार्यक्रममा बरिष्ठ अभिनेता मदनकृष्ण श्रेष्ठ हरिवंशको प्रशंसाको ओइरो लगाए । उनले हरिवंश जस्तो मान्छे आफूले जीवनमा पाउनु ठूलो भाग्य रहेको बताए । श्रेष्ठले भने, ‘४२ वर्षदेखि हामी निरन्तर काम गर्दै आइरहेका छौं र यो यात्रा जीवनभर रहनेछ । हामी ८ अर्ब मान्छेमा ८ अर्ब सोच हुन्छ । एउटाले अर्कोको स्वभाव स्वीकार गर्दैन । तर, हामीमा त्यस्तो केही पनि भएन । हरिवंशले मलाई कति सहेको होला । उसले भनेको जस्तो म कहाँ हुँला र !’

बरिष्ठ अभिनेता श्रेष्ठले अगाडी भने,’हिजो आज मैले ठाउँ ठाउँमा लाइफटाइम अचिभमेन्ट अवार्ड पनि पाइरहेको छु । तर, जिवनमा मलाई सबैभन्दा ठूलो लाइफटाइम अचिभमेन्ट अवार्ड भगवानले जुराइदिएको हरिवंश नै हो ।’ उनी हरिवंशलाई आफ्नो साथी, विजनेश पार्टनर, अभिभावक, भाई सबथोक मान्ने गर्छन् ।

यस्तै सोही कार्यक्रममा अभिनेता हरिवंश आचार्यले भने आफूहरु नेगेटिभ र पोजेटिभ तार रहेकोले वर्षौंदेखि बत्ति बलिरहेको बताए । हरिवंश भन्छन्, ‘मदन दाईले मलाई ‘नाई’ भन्न सक्छ भन्नुभयो र दाईलाई ‘नाई’ भन्न एकदमै गाह्रो लाग्छ भन्नुहुन्छ । झ्वाट्ट हेर्दा म नेगेटिभ र मदन दाई पोजेटिभ देखिन्छ । तर, नेगेटिभ र पोजेटिभ नभइ बत्ति बल्दैन । बत्ति बलिरहेको छ, धेरै वर्ष भयो । मदन दाई र म दुईटा तार हौं भने न्यूट्रल प्रदीप भट्टराई, राजाराम पौडेल, किरण केसी हुनुहुन्छ । अर्थिङ चाहिँ पत्रकार र नेपाली जनता । अर्थिङ भएन भने बत्ति निभ्न सक्छ ।’

आचार्यले ‘महापुरुष’ आफ्नो जीवनका लागि ‘बलिदान’पछिको एउटा अविस्मरणीय सिनेमा बनेकोमा खुसी व्यक्त गरे । यो सिनेमामा जोडिन पाएकोमा उनी आफूलाई भाग्यमानी मान्छन् । सिनेमाको चारित्रिक लुक्स लुकाउनका लागि आफू तीन महिना निमन्त्रणा आएका कुनै सार्वजनिक कार्यक्रममा नगएको पनि आचार्यले खुलाए । त्यसको प्रतिफल धेरै राम्रो मिलेकोमा उनी खुसी प्रकट गर्छन् ।

एकल पिताको एक्लोपनको कथामा निर्माण भएको सिनेमामा मदनकृष्ण श्रेष्ठ, हरिवंश आचार्य, गौरी मल्ल, राजाराम पौडेल, अरुण क्षेत्री, अञ्जना बराइली, रविन्द्र सिंह बानियाँ, शिखा तामाङ, कोपिला थापा, शिरु विष्ट, कविता श्रेष्ठ, नरेश पौड्याल, नरेन्द्र कंसाकार लगायतको अभिनय रहेको छ ।

तस्वीर : सुरेन्द्र थापामगर

प्रतिक्रिया दिनुहोस्