‘ह्यारीकी प्यारी’को ट्रेलर रिलिज, रोमाञ्चक कथामा ट्विस्ट नै ट्विस्ट
Published On : 8 January, 2023 5:13 pm
द सिनेमा टाइम्स, काठमाडौं – जितु नेपाल र साम्राज्ञी राज्यलक्ष्मी शाह अभिनित सिनेमा ‘ह्यारीकी प्यारी’को ट्रेलर रिलिज गरिएको छ ।

आइतबार राजधानीमा आयोजित प्रेसमिटका बीच रिलिज गरिएको ट्रेलर शिर्ष पात्र हरि ‘जितु’को वरिपरि घुम्छ ।
आफ्नो अधबैशें छोराले विवाह नगरेसम्म पुर्खेउली जग्गामा दावी गर्न नपाउने आमाको निर्णयसंगै सिनेमाको कथा अगाडी बढ्छ । त्यसबीचमा आउने ३० लाखको विर्यदानले कथामा ट्विस्ट ल्याउछ ।
पैसाको लागि जितुले विर्यदान गर्दा साम्राज्ञीसंग भेट हुन्छ । उनले साम्राज्ञीसंग सर्तसहित विवाह गर्छन । त्यसपछि मुख्य पात्रको जीवनमा आउने उतारचढाव ट्रेलरमा देखाइएको छ ।
डा. कपिल रिजालको डेब्यु निर्देशनमा तयार भएको सिनेमाको ट्रेलर रोमाञ्चक बनेको छ । ट्रेलर हेरिरहँदा दर्शकमा कौतुहलता पैदा गर्न सक्षम हुन्छ ।

माघ २० देखि सार्वजनिक प्रदर्शनमा आउने सिनेमामा साम्राज्ञी र जितुसंगै विजय बराल, लक्ष्मी गिरी, सुवाष गजुरेल, रन्जना भट्टराई, सरला रिजाललगायतका कलाकारहरुको अभिनय छ ।
निर्देशक रिजालकै कथा रहेको सिनेमामा सुदिप बराल, गिरिराज घिमिरे, अभिमन्यू निरवी र निर्देशक स्वयम्को लेखन छ ।
सुदिप बरालको डिओपी, रविन्द्र न्यौपानेको छायांकन, कविराज गहतराजको कोरियोग्राफी र युग भुषाल/शिखर सन्तोषको संगीत रहेको सिनेमा अर्जुन जिसीले सम्पादन गरेका हुन् ।
बिआर प्रोडक्सनको व्यानरमा निर्मित सिनेमामा डा. भोला रिजालको निर्माण छ । सिनेमाको कार्यकारी निर्मातामा मनिष रिजाल, प्रलय रिजाल, सुदिप बराल र जीवन ओली रहेका छन् ।