शुक्रबारबाट ‘मनसँग मन’ र ‘आँधि तुफान २’ रिलिज
Published On : 10 February, 2023 10:23 am
द सिनेमा टाइम्स, काठमाडौं – शुक्रबारबाट दुई नेपाली सिनेमा ‘मनसँग मन’ र ‘आँधी तुफान २’ प्रदर्शनमा आएका छन् । ‘मनसँग मन’मा चलेका कलाकारहरुको अभिनय र ‘आँधी तुफान २’ हिट सिनेमाको सिरिज भएकाले यी दुई सिनेमाले कस्तो व्यापार गर्छन् त्यो आइतबारसम्म थाहा होला नै । तर, दुवै सिनेमाको कमजोर पब्लिसिटी र प्रचार सामाग्रीप्रति दर्शकमाझ खासै चर्चा नभएका कारण ठूलो व्यापारिक अपेक्षा छैन ।

कैलाश राई निर्देशित तथा अरुण तामाङ निर्मित ‘मनसँग मन’मा पुष्प खड्का, वर्षा सिवाकोटी, बुद्धि तामाङ, रविन्द्र झागायतको अभिनय छ । पल शाह र पूजा शर्माले एक गीतमा नृत्य गरेका छन् । यस वर्ष प्रदर्शनमा आएका दुई सिनेमा ‘कृष्ण लीला’ र ‘तिम्रो मेरो साथ’ बक्सअफिसमा असफल भएका कारण पुष्पलाई मनसँग मन सफल हुनुपर्ने दबाव छ ।
त्यस्तै, मौनता श्रेष्ठको लेखन र निर्माण रहेको ‘आँधी तुफान २’मा आरती आचार्य, सोनी बिसी, याङ्शु श्रेष्ठ, रवि गिरी, पुस्कर राउत, सन्जीत भण्डारी, विन्दिया ठकुरी, रुपा केसी, ऋचा थापा, चक्र राई, संजय खतिवडा, कनिज कोइराला, सपना श्रेष्ठ, राजु घिमिरे, शत्रुधन अन्सारीलगायतको अभिनय छ । मदन घिमिरेद्वारा निर्देशित सिनेमाले महिला सशक्तिकरणको विषय उठान गरेको छ ।