सुनसरीमा ‘प्रथम इनरुवा उत्सव तथा सिनेमा महोत्सव २०७९’ आयोजना हुने


Published On : 16 February, 2023 11:48 am

द सिनेमा टाइम्स, काठमाडौं – आगामी फागुन ७ गतेबाट १७ गतेसम्म सुनसरीमा ‘प्रथम इनरुवा उत्सव तथा सिनेमा महोत्सव २०७९’ आयोजना हुने भएको छ । सुरुवातमा ५ दिनसम्म मात्र महोत्सव गर्ने तयारी गरिएको भए पनि इनरुवावासीको उत्साह र चासोलाई ध्यानमा राख्दै ११ दिनसम्म लम्ब्याइएको नेपाल चलचित्रकर्मी महासंघ प्रदेश नम्बर १ का अध्यक्ष अरुण कुमार प्रधानले बताए ।

नेपाल चलचित्रकर्मी महासंघ प्रदेश नम्बर १ ले आयोजना गर्ने सिनेमा महोत्सवको बुधबार इटहरीस्थित डिथ्री अनलाइनको कार्यालयमा पत्रकार सम्मेलनको गर्दै महोत्सवमा प्रदेश नम्बर १ मा बनेका फिचर तथा लघु सिनेमा प्रदर्शन गरिने जानकारी दिइयो । इनरुवा नगरपालिकाले संयोजन गरेको महोत्सवका लागि यतिबेला सिनेमा दर्ताको प्रक्रिया चलिरहेको छ । विभिन्न क्षेत्रमा योगदान र्पुयाएकालाई महोत्सवमा सम्मान पनि गरिनेछ ।

महासंघका अध्यक्ष प्रधानले भने, ‘प्रतिभा प्रवद्र्धन तथा स्थानिय उत्पादनलाई प्रोत्साहित गर्ने उद्देश्य समेत यो महोत्सवको छ । बेबी फेन्सी ड्रेस प्रतियोगिता, साहित्य सम्मेलन, उत्कृष्ट तरकारी उत्पादक प्रतियोगिता, विद्यालय स्तरीय नृत्य प्रतियोगिता, बेहुली सुन्दरी प्रतियोगिता समेत महोत्सवमा हुनेछ ।’ नेता भर्सेज अभिनेता फुटबल खेलदेखि सांस्कृतिक कार्यक्रम समेत राखिएको उनले बताए ।

सिनेमा महोत्सवले प्रदेश १ को पर्यटन प्रवद्र्धनमा महत्त्वपूर्ण भूमिका खेल्ने विश्वास नेपाल चलचित्रकर्मी महासंघ प्रदेश नम्बर १ को छ । यस्तै प्रदेश नम्बर १ बाट प्रतिनिधित्व गर्ने सिनेमा क्षेत्रका हस्तीहरुलाई ‘प्रदेश १ तारा’ उपाधिबाट सम्मान गरिने पनि अध्यक्ष प्रधानले जानकारी दिए । कार्यक्रममा सहभागी अतिथीहरुलाई बराहक्षेत्र नगरपालिका क्षेत्रमा पर्ने प्रस्तावित फिल्मी सिटीको भ्रमण गराउने कार्यक्रम समेत राखिएको छ ।

प्रतिक्रिया दिनुहोस्