बोर्डले युएईसहितका ६ मध्यपूर्वी देशमा नेपाली सिनेमा प्रदर्शन गर्ने


Published On : 21 February, 2023 3:26 pm

द सिनेमा टाइम्स,काठमाडौं – चलचित्र बिकास बोर्डले मध्यपूर्वी ६ देशका ६० बढी सिनेमा हलमा नेपाली सिनेमा प्रदर्शनको लागि सम्झौता गरेको छ ।

गत साता संयुक्त अरब इमिरेट्सको दुबईमा बोर्डले सम्पन्न गरेको ‘नेपाल सिनेमा फेस्ट–२०२३’को दौरान यस्तो सम्झौता भएको बोर्डले प्रेस वक्तव्यमा उल्लेख गरेको छ ।

यस विषयमा नेपाली सिनेमाका मध्यपूर्वका वितरक रमेश ढकाल र बोर्डबीच लिखित सहमति भएको हो । फेस्टको दौरान बोर्डले केहि महत्वपूर्ण उपलब्धिपनि हाँसिल गरेको बताएको छ । सम्झौताको समयमा संयुक्त अरब इमिरेट्सका लागि नेपालका राजदूत कृष्णप्रसाद ढकाल, गैरआवासीय नेपाली संघ, अध्यक्ष कुल आचार्य पनि उपस्थिति थियो ।

‘हामी नेपाली सिनेमालाई अन्तर्राष्ट्रियकरण गर्ने ढोका खोल्न युएईमा उक्त कार्यक्रम लिएर पुगेका थियौँ । बोर्डको पूर्वानुमान र कार्यक्रमको उद्देश्यअनुरुप स्वदेशपछि नेपाली सिनेमाको दोस्रो ठूलो बजार युएई बन्न सक्ने देखिएको छ । युएई मात्र होइन पूरै मध्यपूर्वमै नेपाली सिनेमाका वास्तविक दर्शक हुनुहुन्छ भन्ने बोर्डले ठानेको छ । नेपाल प्राकृतिक रुपमै छायांकन स्टुडियो भएकाले सिनेमा छायांकनको लागि नेपाल आउन त्यहाँका फिल्ममेकरलाई आग्रह गरिएको छ भने नेपाली सिनेमा संयुक्त अरब इमिरेट्समा छायांकन हुँदा युएईसरकारबाट इन्सेन्टिभ (प्रोत्साहन) प्रदान गर्न पनि अनुरोध गरेका छौँ ।’ बोर्डले जानकारी दियो ।

फेस्टमा बोर्डले तयार पारेको गण्डकी प्रदेशको पर्यटन क्षेत्र र छायांकन गन्तव्य सम्बन्धी श्रव्यदृश्य प्रचारसामग्री प्रदर्शन गरिएको थियो ।

बोर्डले सार्वजनिक गरेका उपलब्धिहरु

~ हरेक शुक्रवार मध्यपूर्वमा नेपाली सिनेमा रिलिज गर्न चलचित्र विकास बोर्डले आवश्यक प्राविधिक सहयोग गर्ने

~ मध्यपूर्वमा निरन्तर ५० भन्दा बढी स्क्रिनमा नेपाली सिनेमा सेन्सर गरी औपचारिक रुपमा प्रदर्शन गर्न मध्यपूर्वमा नेपाली सिनेमाको वितरक कम्पनी नेपफिल्म प्रा.लि. तयार रहेको र सोको लागि निर्माता र वितरकसँग नेपफिल्मलाई बोर्डले समन्वय गर्ने

~ मध्यपूर्वमा निरन्तर रिलिज हुने नेपाली सिनेमाको ‘इन्कोडिङ’को लागि बोर्डले नेपफिल्मलाई सहयोग गर्ने

~ मध्यपूर्वमा निरन्तर प्रदर्शन हुने नेपाली सिनेमाका लागि बोर्डले प्रचार प्रसारमा सहयोग गर्ने

~ बोर्डले युएई सरकारको सम्बन्धित सरोकारवाला निकाय ‘मिडिया एण्ड फिल्म कमिशन’सँग नेपाली सिनेमा रिलिजका साथै कला, संस्कृति प्रवर्द्धन गर्न सहकार्य गर्ने

~ मध्यपूर्वमा नेपाली सिनेमा छायांकनका लागि आवश्यक औपचारिक अनुमति, डकुमेन्टेशन र सहजिकरणका लागि बोर्ड र नेपफिल्मले सहकार्य गर्ने,

~ युएईका सिनेकर्मीले नेपालमा सिनेमा छायांकन गर्दा चलचित्र विकास बोर्डले आवश्यक सहयोग गर्ने ।

माघ २९ गतेदेखि फागुन ३ सम्म आयोजना भएको फेस्टमा नेपाली सिनेमाका निर्देशक, निर्माता, वितरक, कलाकार, सञ्चारकर्मी तथा गैरआवासीय नेपालीहरुको सहभागिता रहेको थियो । बोर्ड अध्यक्ष भुवन केसीसहित हल सञ्चालक नकिम उद्दिन, वरिष्ठ अभिनेता शिव श्रेष्ठ, निर्देशक तथा सञ्चारकर्मी भुषण दाहाल, निर्देशक रामबाबु गुरुङ, निर्माता रामकृष्ण पोखरेल, वितरक तथा निर्माता गोविन्द शाही, अभिनेत्री ऋचा शर्मा, अभिनेता अनमोल केसी, अभिनेत्री उपासना सिंह ठकुरीलगायत सिनेकर्मीको उपस्थिति थियो ।

फेस्टको क्रममा नेपालमा सर्वाधिक कमाइ गरेको सिनेमा ‘कबड्डी ४’ र यस वर्ष नेपालबाट अस्कर अवार्डमा सिफारिस गरिएको ‘ऐना झ्यालको पुतली’ प्रदर्शन गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्