द सिनेमा टाइम्स, काठमाडौं – नेपाली रजतपटमा एउटा त्यस्तो कोही पात्र छ, जो हम्मेसी बोल्दैन । सार्वजनिक कार्यक्रममा देखिँदैन । अरु त के आफू र आफ्नै परिवारसँग जोडिएर सारा सिनेमाकर्मी र सिनेमा उद्योग नै दुई भागमा विभाजित हुँदा पनि ऊ भने मौन रहन्छ । को हो त्यो पात्र ? जगजाहेरै छ, अनमोल केसी । हो अनमोल केसी जो आफ्नो सिनेमा रिलिजका बेला एकाध दिन आफ्नो सिनेमाका कार्यक्रममा देखिन्छन्। केही अन्तर्वार्ता दिन्छन् । र, फेरि हराउँछन् आफ्नो अर्को सिनेमा नआउँदासम्म । तर, यो पटक उनी आफ्नो सिनेमा रिलिजको पूर्वसन्ध्यामा पनि मिडियामा देखिएनन् ।
सिनेमा ‘छड्के-२’ रिलिज भयो । तर, यो पटक सिनेमाले सफलता हात पारेन । सिनेमालाई लिएर धेरैले असन्तुष्टि जनाए । ‘छड्के-२’प्रति असन्तुष्टि जनाए पछि प्रमुख पात्रको हिसावले उनको भागमा असफलताको अंश पर्ने नै भयो । त्यसो त उनले सिनेमामा ‘सिप अफ द क्याप्टेन’ निर्देशक हुने भएकाले त्यसको सफलता असफलताको सम्पूर्ण भागिदार निर्देशक नै हुने बताउने गरिन्छ । तर, अनमोलले त्यसो गरेनन् । आफूले दर्शकलाई निराश बनाएको भन्दै माफी मागे । आउँदा दिनमा दर्शकलाई निराश नबनाउने प्रतिबद्धता जनाए । आफूले थप निखारिएर आउनु पर्नेमा त्यसमा ध्यान नदिनु नै कमजोरी भएको स्वीकार गरे । र, आगामी दिनमा यस्तो कमजोरी नदोहोर्याउने जनाए । तर, उनले कहीँ कतै सिनेमा कमजोर हुनुको र आफ्नो चरित्र अपेक्षाकृत नहुनुको कारण निर्देशक भएको आरोप लगाएनन् । यसको भागिदार आफू नभएर निर्देशक हुने बताएनन् । लामो स्टाटसमा उनले आफ्नो कमजोरी पुनः नदोहोर्याउने भन्दै यसमा ढुक्क हुन आग्रह गर्दै यसलाई एक दिन सम्झिएर अर्को दिनको सुनौलो बिहानी कुर्न अनुरोध गरेका छन् ।

सायद यो नै उनको नम्र पक्ष हो । उनको भद्र पक्ष हो । उनको यही विनय शिलता देखेर होला अनमोलको फेसबुक स्टाटसमा जीवन रसाइली नामक फेसबुक प्रयोगकर्ता लेख्छन, ‘सधैँ नै सफल हुनुपर्छ भन्ने छैन । सबै कुराहरु सफलताबाट मात्र सिक्न सकिन्छ भन्ने पनि छैन । आज तपाईँले आफूमा भएको कमजोरी यही असफलताले नै गोर गरेको छ । तपाईँका सबै सिनेमाहरु हेरिन्छ । र राम्रो पनि लाग्छ । तथापि अझै राम्रो बनाउने प्रयत्न गर्नुहोस् शुभकामना छ ।’
अर्का फेसबुक प्रयोगकर्ता कैलास बोगटी लेख्छन्, ‘असफलतामा साथ दिने कोही हुन्न । सफलतामा पनि तिम्रो हो विफलता नि तिम्रो हो। एउटा सिनेमा असफल हुँदैमा सब सकिँदैन । विफलतालाई आत्मसाथ गरेर अगाडि बढ्न सक्नु नै ठूलो कुरो हो । यु क्यान बाउन्स ब्याक ।’ निर्देशक दीपेन्द्र के खनालले पनि अनमोलको सालिनताको तारिफ गरेका छन् । ‘सालिनता र सुझबुझले अनमोल अनमोल नैरहनेछन्,’ निर्देशक खनाल फेसबुकमा लेख्छन्, ‘तिम्रो आगामी दिनका लागि शुभकामना ।’ धेरैले सामाजिक सञ्जालमार्फत उनलाई एउटा असफलतामै नआत्तिन भन्दै धैर्य गर्न ढाडस दिइरहेका छन् ।

अनमोल सिनेमा बाक्लै साइन गर्दै आएका छन् । तर, बिचैमा सिनेमा कारण बस बन्दैनन् वा कुरा मिल्दैन । त्यसैले उनको सिनेमाको संख्या सीमित बन्न पुग्छ । थोरै काम गरौँ । तर राम्रो गरौँ भन्ने उनको धारण रहने गरेको छ ।
अनमोल तिनै अभिनेता हुन्, जो महंगो पारिश्रमिक चार्ज गर्छन् । उनी नेपालकै सर्वाधिक महंगा अभिनेता हुन् । उनी प्रतिसिनेमा ५० लाखसम्म चार्ज गर्छन् । तर, अनमोल जति डिमान्ड गर्छन् त्यति तिर्न निर्माता तयार हुन्छन् । अहिलेसम्म देखिएको तथ्य हो यो ।
अनमोलमाथि गरिएको लगानी खेर जाँदैन भन्ने आम निर्मातामा विश्वास छ । अर्थात अनमोल जस्तोसुकै सिनेमा गरुन् उनको स्टारडमले सिनेमाले इनिसियल राम्रो व्यापार गर्छ भन्ने विश्वास छ । उनको ‘छड्के-२’ पहिलो सिनेमा हो जसले ओपनिङ राम्रो गरेन । लगानी उठाएन ।
युवा पुस्तामा अनमोलको लोभलाग्दो क्रेज छ । जसले दर्शक हलसम्म आउने गरेका छन् । इनिसियल व्यापार राम्रो हुँदा लगानी उठाउन सिनेमालाई कठिन हुँदैन । पहिलो र दोस्रो हप्ता निर्माताले ५० प्रतिशत सेयर पाउने भएकाले पनि इनिसियल व्यापार राम्रो भयो भने निर्माता सुरक्षित हुने उच्च सम्भावना हुन्छ । त्यसैले पनि अनमोलको स्टारडमले निर्मातालाई सुरक्षित बनाउने निर्मातामा रहेको विश्वासका कारण पनि निर्माताहरूले उनी माथि आँखा चिम्लिएर लगानी गरेको देखिन्छ । यो पटक मात्रै हो उनको सिनेमा नचलेको । त्यसो अरुस्टारका पनि कहाँ सिनेमा सधैँ चलेका छन् र ।
अनमोलका हालसम्मका कुनै पनि सिनेमा बक्स अफिसमा फ्ल्प नभएका कारण पनि निर्माण पक्ष सिनेमा हिट हुनेमा ढुक्क छ । ‘होस्टल’, ‘जेरी’, ‘गाजलु’, ‘ड्रिम्स’, ‘कृ’, ‘क्याप्टेन’ र ‘ए मेरो हजुर-३’ र ‘ए मेरो हजुर-४’ उनले अभिनय गरेका सिनेमा हुन् । यी सबै व्यवासायिकरूपमा सफल (हिट) सिनेमा हुन् ।

थोरै बोल्ने त्यो पनि तौलिएर अनमोलको विशषता हो । आफैँ माथि कोही किन नखनियोस् जाइ नलाग्ने उनको गुण हो । भुवन केसी (अनमोलका पिता) केही समय अगाडि सिनेमा क्षेत्रको सर्वोच्च संस्था सिनेमा विकास बोर्डको अध्यक्षमा नियुक्त भए । उनको समयमा राति ११ बजे भित्र नेपाली सिनेमा प्रदर्शन भइसक्नु पर्ने नियम लागु भयो । सिनेमा घरहरुले त विरोध गर्ने नै भए । केही मेकर रकलाकारले पनि विरोध गरे । भुवनलाई छोरो अनमोलका प्रतिस्पर्धी मानिएका अभिनेताको सिनेमा चल्न नदिन उक्त नियम बाध्यकारी बनाएको आरोप लगाए । भुवनको आलोचना नगर्ने सायद थिए होला । जोडेर अनमोलको पनि आलोचना भयो ।
चौतर्फी विरोध र आलोचना हुँदा पनि अनमोल मौन रहे । न कतै मिडियामा भुवन र आफ्नो डिफेन्स गरे । न त कतै मिडियामा गएर तीतो पोखे । सामाजिक सञ्जालमा पनि उनी कुनै पनि विषयमा आफ्नो धारणा हम्मेसी राख्दैनन् । यो समय पनि राखेनन् । उनको शक्ति वाअबब्ल पक्ष यो पनि एउटा हो । कुनै पनि विषयमा धारणा नराखे पछि पक्ष विपक्षमा उभिने भएन । मौन रहेपछि न विरोध न आलोचना । अहिलेसम्म कहीँ कतै उनी विरोध र आलोचनामा नमुछिनुको मुख्य कारण नै उनको मौनता हो । अनमोलको शालीन पन हो । यो नैअनमोलको स्टारडमको कारण हो ।