महानगरपालिकाले काठमाडौंको भित्तामा सिनेमाको पोस्टर टाँस्न नदिने

महानगरपालिकाले काठमाडौंको भित्तामा सिनेमाको पोस्टर टाँस्न नदिने

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौं काठमाडौंका हरेक गल्ली–गल्लीका भित्ताहरुमा वर्षौदेखि नेपाली सिनेमाको कब्जा छ । सायद नेपाली सिनेमाको पोस्टर नटांगिएको राजधानीमा कुनै भित्ता छैन । यसले काठमाडौंको सुन्दरता नै कुरुप बनाएको चर्चा वर्षैदेखि चल्दै आएको छ । तर, अब काठमाडौंका भित्तामा सिनेमाको पोस्टर टाँस्न नपाइने भएको छ ।

काठमाडौं महानगरपालिकाले नेपाली सिनेमाको पोस्टर राजधानीभित्र टाँस्न बन्देज लगाएको छ । चलचित्र निर्माता संघले बिहीवार आयोजना गरेको पत्रकार भेटघाटमा बरिष्ठ उपाध्यक्ष केशव भट्टराईले निर्माताको सहजताका लागि हाल नयाँ विकल्पको विषयमा छलफल भइरहेको बताए ।

उनले भने, ‘महानगरपालिकाले हामीलाई बोलाएर काठमाडौंमा सिनेमाको पोस्टर टाँस्न नपाइने जानकारी गराएको छ । अबदेखि सिनेमाको पोस्टर टाँस्न पाइने छैन ।’ यही कार्यक्रममा वर्षमा दुई नेपाली सिनेमा चीनमा प्रदर्शन गर्ने तयारी भइरहेको पनि जानकारी गराइएको थियो ।

हालै चीन भ्रमणबाट फर्किएका निर्माता संघका अध्यक्ष आकाश अधिकारीले २५ देशका निर्माताहरुको छाता संगठन आवद्ध भएको ‘द फेडेरेशन अफ मोसन पिक्चर्स, एसिया प्यासिफिक’मा चलचित्र निर्माता संघ पनि प्रवेश गरेको बताउँदै नेपाली सिनेमा चीनमा प्रदर्शन गर्ने विषयमा कुराकानी भएको बताए ।

चीनमा आयोजना भएको सम्मेलनमा नयाँ कार्यसमिती गठन भएको र आफू पनि सदस्य रहेको बताउँदै उनले भने, ‘मैले वर्षमा २ वटा नेपाली सिनेमा चीनमा प्रदर्शन गर्नका लागि प्रस्ताव राखेको छु । यदी नेपाली सिनेमा चीनमा प्रवेश गरेको खण्डमा यसले निर्माताहरुलाई ठूलो फाइदा हुनेछ ।’