शुक्रबारबाट हलमा तीन सिनेमा ‘गोपी’, ‘रणवीर’ र ‘सयकडा दश’

शुक्रबारबाट हलमा तीन सिनेमा ‘गोपी’, ‘रणवीर’ र ‘सयकडा दश’

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौं – यो वर्ष थोरै मात्रै सिनेमाले शोलो रिलिजको अवसर पाएका छन् । नत्र भने हरेक शुक्रबार २३ सिनेमा एकसाथ रिलिज भैरहेका छन् । यसको निरन्तरता माघ १८ गतेको शुक्रबारले पनि पाएको छ । यो शुक्रबारबाट तीन नेपाली सिनेमाले प्रदर्शनको सुरुवात गरेका छन् । आज शुक्रबारबाट तीन फरक जनराका सिनेमा एकसाथ प्रदर्शनमा आएका छन् । शुक्रबारबाट प्रदर्शनमा आएका तीन सिनेमा हुन्, ‘गोपी’, ‘रणवीर’ र ‘सयकडा दश’ ।

दीपेन्द्र लामा निर्देशित सिनेमा ‘गोपी’ ले स्वदेशमै केही गर्न सकिन्छ भन्ने सन्देश दिन्छ । भने गोविन्द सिंह भण्डारीको निर्देशनमा तयार भएको सिनेमा ‘रणवीर’ले प्रेम, विछोड र बदलाको कथामा निर्माण भएको छ । रामशरण पाठकको निर्देशन रहेको ‘सयकडा दश’ ले भने भष्ट्राचार विरुद्धको प्रेमको कथा बोल्छ । गीत, संगीत र ट्रेलरका कारण तीनै सिनेमाप्रति दर्शकको अपेक्षा धेरै छ ।

दुईपटक विशेष शोमा विशिष्ट व्यक्तित्वहरुबाट वाहवाही बटुलेको ‘गोपी’ मा अभिनेता विपिन कार्की शिर्ष भुमिकामा छन् । प्रत्येक सिनेमामा फरक चरित्र निभाउने उनी यसमा एक गाईपालक युवकको भूमिकामा छन् । उनीसँगै वर्षा राउत, सुरक्षा पन्त, भोलाराज सापकोटा, अंकित खड्कालगायतका कलाकारहरुको पनि अभिनय छ ।

आरोही केसीले निर्माण गरेको सिनेमामा श्रीधर पौडेल कार्यकारी निर्माताको रुपमा छन् । सामिप्यराज तिमल्सिनाको पटकथा तथा संवाद रहेको सिनेमालाई शैलेन्द्र डि. कार्किले छायांकन गरेका हुन् । गोपीका गीतमा गोविन्द राईले कोरियोग्राफरको रुपमा काम गरेका छन् । सिनेमाले नेपालका गाई पालक किसानहरुको वास्तविक समस्या भनेको छ ।

गोमा बिष्ट थापा र दिपेन्द्र रेग्मी निर्मित लभ तथा एक्सन ड्रामा सिनेमामा ‘रणवीर’मा शुशील सिटौला, प्रशान्त ताम्राकार, शुभेच्छा खड्का, सुपुष्पा भट्ट, रवि गिरी, नरेश पौडेल, टिका पहाडी, बसन्ती भाट, शैलेश्वरी सिंह, जीवन भट्टराई लगायतका कलाकारको अभिनय रहेको छ । सिनेमामा महेश पौडेलको छायांकन, कृष्ण भण्डारीको सम्पादन, गम्भिर बिष्ट र सुरेन्द्र बसेलको कोरियोग्राफी छ ।

राजनराज सिवाकोटी, हर्कुलस बस्नेत, सुशान्त गौतम र अमित श्रेष्ठको संगीत रहेको फिल्मले शिक्षित युवाले समाजमा गर्ने संघर्षको कथा भन्छ । सिनेमामा निर्देशक भण्डारीले नै कथा, पटकथा तथा संवाद तयार पारेका हुन् । करीब दुई करोडको लगानीमा सिनेमा निर्माण भएको हो ।

यस्तै, ‘सयकडा दश’ बाट हास्यकलाकार मनोज गजुरेलले नेपाली सिनेमामा डेब्यु गरेका छन् । भष्ट्राचारले समाज र परिवारमा पार्ने प्रभावको कथा भन्ने सिनेमामा मनोजका अलावा सोनिया राई, अमृत ढुंगाना, करुणा श्रेष्ठ, उत्सव न्यौपाने, राजाराम पौडेल, अमित पोखरेल, रवि डंगोल, रश्मी भट्टलगायतका कलाकारको पनि अभिनय रहेको छ ।

रज्जु प्रधान, उत्तम खत्री, डीआर उपाध्याय, संजीव न्यौपानेले दर्शन नेपाल क्रिएसनको ब्यानरमा सिनेमा निर्माण गरेका हुन् । सिनेमाका छायांकार रामेश्वर कार्की हुन् । बनिष शाह र भुपेन्द्र अधिकारीको सम्पादन रहेको सिनेमाको कथा रज्जु प्रधानको हो । बरिष्ठ हास्यकलाकार राजाराम पौडेलले पहिलो पटक सिनेमामा कार्यकारी निर्माताका रुपमा लगानी गरेका छन् ।