निकिताले दिइन चलचित्र विकास बोर्ड अध्यक्ष पदबाट राजीनामा

निकिताले दिइन चलचित्र विकास बोर्ड अध्यक्ष पदबाट राजीनामा

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौं – चलचित्र विकाश बोर्डकी अध्यक्ष निकिता पौडेलले पदबाट राजीनामा दिएकी छन् । दुई दिन अगाडि मात्र सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा आयोजित समीक्षा बैठकमा अनुपस्थित भएको भन्दै मन्त्रालयले उनीसँग स्पष्टिकरण सोधेको थियो । उनले आफु बैठकमा उपस्थीत हुन नसक्नुको कारण बारेमा स्पष्टिकरणसँगै बुधबारबाट लागु हुने गरि बोर्ड अध्यक्षबाट राजीनामा दिएको पत्र मन्त्रालय पठाएकी छन् ।

उनले आफ्नो १४ महिने कार्यकालमा पर्याप्त नभएपनि दीर्घकालीन उपलब्धिका कयौं संभावनाका ढोकाहरु खुलाउने प्रयास गरेकोमा खुसी व्यक्त गरेकी छन् । साथै आफूलाई दिइएका जिम्मेवारी मन्त्रालयले तोकेको समय–सीमा भित्रै समापन गरी त्यसको प्रगति विवरण मन्त्रीलाई बुझाएको विज्ञप्तिमा उल्लेख गरेकी छन् । पौडेलले विकास बोर्डको अध्यक्ष नरहे पनि सिनेमा क्षेत्रको हितका लागि सँधै क्रियाशिल रहने बताएकी छन् ।

गएको केही हप्ता अगाडि मात्रै चर्चित सञ्चारकर्मी रवि लामिछानेसँग कानुनी विवाह गरेकी थिइन । उनले अब नीजि जीवनमा व्यस्त हुनुपर्ने भएकाले राजीनामा दिएको विज्ञप्तिमार्फत् जानकारी गराएकी छन् । पौडेलले आफ्नो तीन महिनाको तलब श्रीमान् रवि लामिछानेको संयोजकत्वमा बन्न लागेको रास्कोट सामुदायिक अस्पताललाई दिएको समेत विज्ञप्तिमा खुलाएकी छन् ।

नेपाली सिनेमा क्षेत्रको इतिहासमा पहिलो पटक बक्स अफिस प्रणालीको सुरुवात गर्ने अवसर आफूलाई प्राप्त हुनु र बोर्डकै पहिलो महिला अध्यक्ष हुन पाउनु आफ्नो लागि विशेष अवसर रहेको उनले विज्ञप्तिमा भनेकी छन् । उनी २०७४ मङ्सिर २५ गते खुल्ला प्रतिस्पर्धाबाट बोर्डको अध्यक्षमा नियुक्त भएकी थिइन् । निकिता गोपीकृष्ण मुभिजका मालिक उद्धव पौडेलकी छोरी हुन् ।