चलचित्र विकास बोर्डले सिनेमा बचाउने कार्यशाला गोष्ठी गर्ने

चलचित्र विकास बोर्डले सिनेमा बचाउने कार्यशाला गोष्ठी गर्ने

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौं – नेपाली सिनेमा क्षेत्रको विकास, प्रवद्र्धन तथा संरक्षणका निमित्त स्थापित नेपाल चलचित्र विकास बोर्डको पहलमा यही फागुन २१ गते मंगलबार सिनेमा संरक्षण सम्बन्धी कार्यशाला आयोजना हुने भएको छ । चावहिलस्थित विकास बोर्डकै प्रिभ्यु थिएटरमा १० बजेदेखि सुरु हुने कार्यशाला बेलुकी ४ बजेसम्म चल्नेछ ।

आइतबार बोर्डमा आयोजित पत्रकार सम्मेलनमा ’एफ.आइ.ए.एफ’का तालिम संयोजक बेलायत निवासी डेभिड वल्स र भारतीय शिवेन्द्र सिंह डुंगरपुरले एकदिने कार्यशाला सञ्चालन गर्ने जानकारी दिए । दुबै कार्यशालाकै लागि आइतबार मात्र नेपाल ओर्लिएका हुन् । दुबैले मंगलवार हुन लागेको कार्यशालामा नेपाली सिनेमाकर्मीलाई सिकाइने विषयबारे अवगत गराए ।

अन्तर्रा्ष्ट्रिय सिनेमा आर्काइभ संघका सदस्य तथा ट्रेनर डेभिड वेल्सले सिनेमाले समय र संस्कृति पनि जीवित राख्ने भएकाले इतिहासका लागि पनि धेरै सिनेमाहरु जीवित राख्नु पर्ने बताए । उनले भने ‘हामी धेरैले भविष्य सोचेर काम गरिरहेका हुँदैनौं । तर, आज गरेको काम भोलीको पुस्ताका लागि पनि जीवित रहनुपर्छ । सिनेमा, डकुमेन्ट्री वा अन्तर्वार्ता नै किन नहोस् तिनको महत्त्व हुन्छ र तिनलाई संरक्षण गर्ने विशेष विधि छ । एक दिनमा सबै कुरा त सिकाउन सकिन्न तर हामी धेरै भन्दा धेरै सिनेमाकर्मीलाई यस बारेमा सचेत गराउन चाहान्छौं ।’

पत्रकार सम्मेलनमा बोल्दै शिवेन्द्रले एनालग प्रविधिसँगै डिजिटल युगमा पनि सिनेमाको संरक्षणको रणनीति उत्तिकै महत्त्वपूर्ण रहेको बताए । उनले सिनेमा संरक्षण गर्ने कुरा गर्दा धेरैले एनालग प्रविधिमा खिचिएका सिनेमालाई डिजिटाइज गर्ने भन्ने मात्र बुझ्ने गरेता पनि डिजिटल फर्म्याटमा खिचिएका सिनेमालाई पनि उत्तिकै जतन गर्न जरुरी रहेको औंल्याए । उनले नेपालका धेरै सिनेमा आफूले मुम्बईका स्टुडियोमा अलपत्र अवस्थामा देखेको स्मरण गर्दै नेपालले आफ्ना सिनेमा संरक्षणमा काम गर्न ढिला गर्न नहुने सुझाए ।

चलचित्र विकास बोर्डका सदस्य दयाराम दाहालले चलचित्र विकास बोर्डले पहिलो छिमलका बाह्र सिनेमालाई डिजिटाइज गर्ने प्रक्रिया सुरु भएको बताउँदै यसरी संरक्षण गरिएका सिनेमालाई विशेष प्रदर्शन गर्ने योजना बोर्डको रहेको बताए । यस्तै, बोर्डका अधिकृत चिरञ्जीवी गुरागाइँले बोर्डले आयोजना गरेको कार्यशाला मार्फत् नेपाली सिनेमाका मेकरलाई धेरैभन्दा धेरै फाइदा लिन आग्रह गरेका छन् ।