विशेष शोमा रुचाइयो ‘क्याप्टेन’, सिनेमाकर्मीले दिए यस्तो प्रतिक्रिया !

विशेष शोमा रुचाइयो ‘क्याप्टेन’, सिनेमाकर्मीले दिए यस्तो प्रतिक्रिया !

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौं – अहिले सुपरस्टार अनमोल केसी अभिनीत सिनेमा ‘क्याप्टेन’ देशभरका सिनेमा घरमा प्रदर्शन भैरहेको छ । यो सिनेमा दर्शक तथा समिक्षबाट मिश्रीत प्रतिक्रिया पाइरहेको भएता पनि बक्सअफिसमा भने बम्पर ब्यापार गरिरहेको छ । यस्तै सिनेमा प्रदर्शनको पाचौँ दिन निर्माण टिमले काठमाडौमा विशेष शोको आयोजना गरेको थियो । जहाँ थुप्रै सेलिब्रेटीले सिनेमा हेरेका थिए ।

मंगलबार सिनेमा हेर्न बरिष्ठ हास्य कलाकार हरिवंश आचार्य, सुनिल थापा, प्रशान्त ताम्राकार, हास्य कलाकार तथा समाजसेवी सिताराम कट्टेल धुर्मुस, कुञ्जना घिमिरे सुन्तली, अभिनेत्री नम्रता श्रेष्ठ, दीपिका प्रसाई, प्रमिता आरएल राणा, अभिनेता रमेश उप्रती, हास्य कलाकार तथा निर्देशक निर्मल शर्मा, निर्देशक शोभित बस्नेत, अभिनेता सलोन बस्नेत लगायतका कलाकार क्याप्टेन हेर्न हल पुगेका थिए । सिनेमा हेर्न हलमा पुगेका अधिकांश सेलीब्रेटीले सिनेमा राम्रो बनेको प्रतिक्रिया दिए । अनमोलले यसअघि गरेका सिनेमा भन्दा ‘क्याप्टेन’मा उत्कृष्ट काम गरेको बताए । प्राविधिक पाटो अलिकती कमजोर भए पनि समग्रमा सिनेमा राम्रो बनेको प्रतिक्रिया सिनेमाकर्मीले दिएका थिए ।

सिनेमा हेरेर हलबाट निस्किँदै गर्दा अभिनेत्री नम्रता श्रेष्ठले ‘क्याप्टेन’ मा अनमोलले गरेको काम उत्कृष्ट लागेको बताइन् । उनले भनिन्, ’अनमोलले एकदम मेहनत गरेको छ । ’कृ’ मा जसरी बड्डी बनाएको थियो र ‘क्याप्टेन’मा जति मेहनत गर्नुपर्ने थियो त्यो उसले गरेको छ । सिनेमा हेर्दा उसको मेहनत देखिन्छ । अनमोल साँच्चिकै फुटबल खेलाडी देखिन्छ ।’ उनले अनमोल केसी ’स्टार’ भएको बताइन् ।

अनमोलको पोजेटिभ पाटो के लाग्छ तपाईंलाई ? भन्ने पत्रकारको प्रश्नमा नम्रता भन्छिन्, ’उसले जे कुरालाई पनि सकारात्मक रुपमा लिन्छ, त्यो नै सबैभन्दा राम्रो कुरा हो ।’ छेवैमा उनको कुरा सुनेर दंग देखिएका अनमोलले पनि नम्रताको तारिफ गर्न पछि हटेनन् । उनले भने ’मलाई त उहाँको सबै मनपर्छ । उहाँको शिरदेखि पाउसम्म मनपर्छ ।’ उनको कुराले नम्रताले हाँसो रोक्न सकिनन् ।

अनमोलले नम्रताबाट आफूले हरेक कुराको आइडिया लिने गरेको पनि बताए । अनमोल र नम्रताबीच परिवार, साथी र सिनेमाका बारेमा सबै कुरा हुन्छ । ’म उहाँबाट धेरै प्रभावित छु । मलाई कुनै कुरामा आइडिया लिनु र्पयो भने उहाँबाट लिन्छु’, अनमोलले भने । नम्रता भने आफ्नो र अनमोलको स्वभाव मिल्ने बताउँछिन् । ’हामी दुबै खासै बाहिर निस्कँदैनौं । हामीले ह्याङआउट गर्ने नै एकअर्कासँग हो’, उनले भनिन् ।

दुईले टिमअपको विषयमा पनि आफ्नो विचार राखे । नम्रता भन्छिन्, ’केही सिनेमामा कुरा नभएको होइन । दुबैलाई चित्तबुझ्ने भूमिका आयो भने अवश्य काम गर्छौं ।’ अनमोल पनि नम्रताको कुरामा सही थप्दै भन्छन्, ’म विश्वस्त छु हामीबीच चाँडै टिमअप हुनेछ ।’ के ‘मेरो एउटा साथी छ २’ मा जोडी बाँधिने सम्भावना छ ? पत्रकारको प्रश्नमा नम्रताले भनिन्, ’त्यो त निर्देशक दिनेश राउतलाई नै सोध्नुस् ।’

यो सिनेमाको पहिलो भागमा अभिनेता आर्यन सिग्देलसँग नम्रताको जोडी बाँधिएको थियो । यसको सिक्वेलमा आर्यन नभएर नम्रता दोहोरिन सक्ने प्रवल सम्भावना रहेको चर्चा छ । यो सिनेमाबाट अफर आए काम गर्न तयार हुनुहुन्छ ? अनमोलले मिठो मुस्कानका साथ भने ’नम्रता दिदी हुनुहुन्छ भने म आँखा चिम्लिएर काम गर्न तयार छु ।’ यो सिनेमा गर्न अनमोलले ’ग्रिन सिग्नल’ देखाए पनि नम्रता भने यो विषयमा केही बोलिनन् ।

निर्देशक दीवाकर भट्टराईको लेखन तथा निर्देशन रहेको सिनेमालाई सुपर काजल फिल्मस्को ब्यानरमा अभिनेता तथा निर्माता भुवन केसीले निर्माण गरेका हुन् । यस्तै अभिनेता भुवन केसी सिनेमा दर्शक तथा सेलिब्रेटीबाट पाएको प्रतिक्रियाले दंग छन् । फुटबलको विषयमा नेपालमा सिनेमा बनाउन निकै गाह्रो रहेको अनुभव भुवनसँग छ । तरपनि आफ्नो टिमको मेहनतलाई दर्शकबाट राम्रो प्रतिक्रिया मिलेकाले पनि भुवन आफ्नो टिमले आगामी दिनमा निर्माण गर्ने सिनेमामा अझै चुनौती मोल्न तयार रहेको बताउँछन् ।