‘जाइरा’ आइटम गीत ‘यो मात चढेको साँझ’ रिलिज

‘जाइरा’ आइटम गीत ‘यो मात चढेको साँझ’ रिलिज

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौं – नम्रता श्रेष्ठ स्टारर सिनेमा ‘जाइरा’को आइटम गीत सार्वजनिक गरिएको छ । सिनेमामा समावेश आइटम गीत ‘यो मात चढेको साँझ’ बोलको आइटम गीत शुक्रबार इन्टरनेटमा रिलिज गरिएको हो । सार्वजनिक गीतमा सिनेमाका मुख्य कलाकार प्रमोद अग्रहरी, सिर्जना रेग्मी र तनुजा गुरुङलाई फिचर्ड गरिएको छ ।

जाइराको सार्वजनिक दोस्रो गीत ‘यो मात चढेको साँझ’ पुरानो सुपरहिट सिनेमा ‘मनको बाँध’मा रहेको गीतको रिमेक हो । उक्त गीतमा मिरा राणाको स्वर रहेको थियो । गीतमा बरिष्ठ गीतकार किरण खरेलको शब्द रचना रहेको गीतको संगीत शिव शंकरले सिर्जना गरेका थिए । ‘जाइरा’को लागि रिमेक गरिएको गीतमा फिरोज बज्राचार्य, डिजे राजुको रि-एरेञ्ज र मिना निरौलाको स्वर छ । गोविन्द राईले कोरियोग्रफी गरहेको गीतलाई बाबु श्रेष्ठले छायाँकन गरेका हुन् ।

‘जाइरा’मा नम्रताले मिक्स मार्शल आर्ट खेलाडी (एम.एम.ए) को भूमिका निर्वाह गरिेकी छन् । उनलाई यसअघिका सिनेमामा भन्दा ‘जाइरा’मा भिन्न अवतारमा प्रस्तुत गरिएको छ । छोटो कपाल र सुगठित शरीरमा देखिएकी नम्रताले बदलाको कथामा आफुलाई ढालेकी छन् । डेब्यु निर्देशक आशुतोष राज श्रेष्ठले सिनेमा मिक्स मार्शल आर्ट केन्द्रित भएपनि प्रमुख प्लट बदला रहेको बताए ।

भदौ ६ गतेदेखि अलनेपाल रिलिज हुने सिनेमामा अनुपबिक्रम शाही, प्रमोद अग्रहरी, रेमनदास श्रेष्ठ, र नवकलाकार सृजना रेग्मी, सुजता श्रेष्ठ र सम्राट मगरको पनि अभिनय छ । सिनेमामा कलाकार मगरले नम्रताको कोचको भूमिकामा छन् । कल्याण सिंह, डिजे राजु र टम्ब्लीविडले संगीत भरेको सिनेमामा सम्राट बस्नेतको द्वन्द, राउल मोक्तान र मेघराज चेम्जोङले एक्सन कोरियोग्राफीको काम गरेका छन् ।

कटामरी फिल्मसको सहकार्यमा नम्रता श्रेष्ठ प्रोडक्सन र ट्रेन्डसेटर्स प्रालिको व्यानरमा निर्मित सिनेमाको कार्यकारी निर्माता प्रशन्न गोपाली हुन् । भने, जाइरामा प्रनिता श्रेष्ठ निमाताको रुपमा रहेकी छन् । सिनेमामा निर्देशक श्रेष्ठ र निरोज महर्जनको पटकथा छ । सिनेमालाई लोकेश बज्राचार्यले सम्पादन गरेका हुन् ।