‘गौतमबुद्ध अन्तराष्ट्रिय क्रिकेट रंगशाला’लाई ‘कबड्डी ३’को तीन लाख सहयोग

‘गौतमबुद्ध अन्तराष्ट्रिय क्रिकेट रंगशाला’लाई ‘कबड्डी ३’को तीन लाख सहयोग

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौँ – असोज ३ गते रिलिज हुने सिनेमा ‘कबड्डी कबड्डी कबड्डी’को टिमले भरतपुरमा निर्माणाधीन ‘गौतमबुद्ध अन्तराष्ट्रिय क्रिकेट रंगशाला’लाई तीन लाख रकम सहयोग गरेको छ ।आइतबार ‘कबड्डी ३’ कलाकार दयाहाङ राई, विल्सन विक्रम राई र निर्माता मणिराम पोखरेलले ‘धुर्मुस सुन्तली फाउन्डेसन’का अध्यक्ष सिताराम कट्टेल (धुर्मुस)लाई चेक हस्तान्तरण गरे । देशको गौरव आयोजनामा सानो भए पनि सहयोग गर्न पाउँदा खुसी महसुस गरेको दयाहाङ, विल्सन र मणिरामले बताए । साथै, यो आयोजनामा सबैलाई सक्दो सहयोग गरिदिन पनि आग्रह गरे ।

‘कबड्डी ३’को यो सहयोगको लागि सितारामले कृतज्ञता व्यक्त गरे । उनले राष्ट्रिय गौरवको यस अभियानमा सबैलाई साथ र सहयोग गर्न पनि आह्वान गरे । २ वर्ष भित्र निर्माण सम्पन्न गर्ने लक्ष्य रहेको रंगशालाको लागत ३ अर्व भन्दा माथि अनुमान गरिएको छ ।

रामबाबु गुरुङ निर्देशित सिनेमा ‘कबड्डी कबड्डी कबड्डी’ले रिलिज नजिकिदै गर्दा प्रचारमा गति बढाएको छ । अघिल्ला दुई सृंखला सुपरहिट भएकै कारण ‘कबड्डी ३’ले पनि बक्सअफिसमा उत्कृष्ट व्यापार गर्ने अनुमान गरिएको छ । मणिराम पोखरेल, अर्जुन कार्की र ओम चन्द रौनियारले निर्माण गरेको सिनेमाको ट्रेलर तथा गीतले हाइप सृजना गरिसकेका छन् ।

जातिय विवाह र अन्तर्जातिय प्रेम सम्बन्धको अन्तरद्वन्द्वको कथामा दयाहाङ र विल्सनसँगै कर्मा शाक्य, उपासना सिंह ठकुरी, बुद्धि तामाङ, माओत्से गुरुङ, विजय बराल, रिश्मा गुरुङ, लुनिभा तुलाधर, कमलमणी नेपाल, अरुणा कार्कीलगायतका कलाकारको अभिनय छ ।