‘कबड्डी ३’को अग्रिम बुकिङ खुल्यो, क्युएफएक्समा सर्वाधिक शोज

‘कबड्डी ३’को अग्रिम बुकिङ खुल्यो, क्युएफएक्समा सर्वाधिक शोज

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौं – असोज ३ मा रिलिज हुने सिनेमा ‘कबड्डी कबड्डी’को मंगलबारै मल्टीप्लेक्समा अग्रिम बुकिङ खुला गरिएको छ । वर्षकै प्रतिक्षित सिनेमालाई मल्टीप्लेक्सले सर्वाधिक शोज उपलब्ध गराएका छन् ।देशकै ठुलो मल्टीप्लेक्स च्यानल क्युएफएक्सले मात्रै आफ्ना ९ स्टेशनमा ६४ शोज दिएको छ । जसमा राजधानीका ५ स्टेशनमा ३७ शोज छन् । राजधानीमा क्युएफएक्सले नेपाली सिनेमालाई दिएको यो शोज संख्या अत्याधिक हो । यसअघि ‘छक्का पन्जा ३’ले ३१ शो पाएको थियो ।

देशैभरका मल्टीप्लेक्समा सिनेमाको अग्रिम बुकिङ खोलिने क्रममा छ । सिनेमाले देशव्यापी सय बढी शोज पाउने अनुमान छ । भने, यो साताले ‘कबड्डी कबड्डी कबड्डी’ले ८० प्रतिशत बढी हल र शोज कब्जा गर्ने ट्रेडको अनुमान छ ।

‘कबड्डी ३’ले पाएको शोज अनुसार बक्सअफिसमा बम्पर ओपनिङको आशा गरिएको छ । रामबाबु गुरुङ निर्देशित सिनेमामा दयाहाङ राई, उपासना सिंह ठकुरी, विल्सन विक्रम राई, कर्मा शाक्य, बुद्धि तामाङ, माओत्से गुरुङ, विजय बराल, रिश्मा गुरुङ, लुनिभा तुलाधर, कमलमणी नेपाल, अरुणा कार्कीलगायतका कलाकारको अभिनय छ ।

निर्देशक गुरुङ र उपेन्द्र सुब्बाले लेखेको कथामा सिनेमा आर्टको प्रस्तुतिसँग बाँसुरी फिल्मस् र माउन्टेन स्टोरिजले सहकार्य गरेका छन् । मणिराम पोखरेल, अर्जुन कार्की र ओमचन्द रौनियारले लगानी रहेको सिनेमामा रुदेन सदा लेप्चाको सह-लगानी छ । सिनेमा असोज ३ देखि अलनेपाल रिलिज हुँदैछ ।