कथा नै हाम्रो मेरूदण्ड हो: दीपेन्द्र लामा

कथा नै हाम्रो मेरूदण्ड हो: दीपेन्द्र लामा

द सिनेमा टाइम्स
0
Shares

‘घामपानी’, ‘गोपी’ र असोज २४ गते रिलिज हुने ‘छ माया छपक्कै’का निर्देशक दीपेन्द्र लामा ८/१० वर्ष अगाडी काभ्रेको कोटतिमल भन्ने ठाउँमा काम विशेषले पुगिरहेका हुन्थ्ये ।

२-३ पटकको आवतजावत क्रममा लामाको दिमाग गाउँको कुनै एक पृथक कथामा ठोकिन पुग्यो । सिनेमासँग सम्वन्धित भएकाले उनलाई त्यो कथा, पटकथामा ढाल्न मन लाग्यो । पटकथामा ढालेर सिनेमा निर्माण गर्नुपर्छ भन्ने मनले आफैसँग जुहारी खेल्न थाल्यो । राजधानी फिर्दासम्म मन मान्दै मानेन । अब त निर्माता खोज्नै पर्यो ।

सन् २०१३ मा अभिनेता/निर्देशक अनुप बराल दोस्रो सिनेमा निर्माणको तयारीमा थिए । ‘फिटकिरी’ पश्चात उनले नयाँ सिनेमाको लागि स्क्रिप्ट खोजिरहेको पत्तो पाएपछि निर्देशक लामा उनि कहाँ पुगे । अनुपलाई कथा मन पर्यो । तर, निर्माता भेटिएनन् ।

यो सिनेमा निर्माणको मेसो मिलिरहेको थिएन । बरु लामाले ‘घामपानी’बाट निर्देशनमा डेब्यु गरे । पहिलो सिनेमाले राम्रै उचाई दिलायो । त्यसपछि लामाले आसिफ शाहलाई कोट तिमलको कथा सुनाए । उनले पनि मन पराएर सहकार्य गर्न निर्णय गरे । तर, समयले साथ नदिदा दुई बीचको पहिलो सहकार्य गर्भमै तुहियो ।

अब लामा दोस्रो सिनेमा ‘गोपी’को निर्माणमा जुटिसकेका थिए । सिनेमाको छायाँकन सकिए लगतै निर्माता रोहित अधिकारीको फोन आयो ‘दाई कुनै नयाँ कथा छ ?’ । लामाले १५ मिनेटमा कथाको मुलसार फोनबाटै सुनाए । रोहितले लामाको कुरा दीपकराज गिरी र दीपाश्री निरौलालाई सुनाए । दुवैलाई कथा मन पर्यो ।

दीपक-दीपाले ‘छक्का पन्जा ३’ रिलिज अगावै आगामी सिनेमा बाहिरको निर्देशक र निर्मातासँग सहकार्यमा गर्ने योजना बनाइसकेका थिए । र, त्यहि योजना अनुरुप दीपक-दीपा क्याम्पमा निर्माताको रुपमा रोहितको इन्ट्री भएको थियो ।

लामाको कथा मन परेपछि दीपकराजले आफुले पटकथामा ढाल्ने इच्छ्या व्यक्त गरे । अब निर्देशन पनि लामाकै रहने टुँगो लाग्यो ।

सहकार्यको पहिलो चरणमा जस्तै रिलिजको नजिक आउँदासम्म ‘छ माया छपक्कै’ले थुप्रै उतार-चढाव थेगेको छ । यसै विषयमा निर्देशक लामाद्वारा ‘द सिनेमा टाइम्स’ले केहि जिज्ञासा मेटाउने प्रयास गरेको छ ।

सिनेमाप्रतिको दर्शक प्रतिक्रियालाई दीपक-दीपाले नियोजित भनिरहँदा, तपाईको दृष्टि के थियो ?

म समिक्षकको बाटो हुँदै आएकोले मलाई सबै कुरामा प्रशंसा र आलोचना सुन्न मन पर्छ। तर, सबैको सोच एकनासको हुँदैन । उहाँहरु बढी संवेदनशिल हुनुहुन्छ । दीपकराज अझ बढी संवेदनशिल हुनुहुन्छ । मनमा लागेका कुरा दबाएर बस्नु हुँदैन भन्ने उहाँको मान्यता छ ।

पछिल्लो समय दीपक-दीपाको तारिफ भन्दा बढी आलोचना हुन लागेको हो ?

हामी स्रष्टाको उत्पादनमा आलोचना र समिक्षा गर्न पाउछौँ । त्यस्तै हाम्रो आलोचना र समिक्षामा पनि स्रष्टाले आलोचना गर्न पाउनु पर्छ । दीपकराजले प्रतिक्रियाको छिट्टै प्रतिक्रिया जनाइहाल्ने भएकाले उहाँ आलोचनामा पर्नुहुन्छ ।

र, मैले बुझेसम्म दीपक-दीपाको आलोचना गर्ने र प्रशंसा गर्ने दर्शकको जमात फरक छ । जस्तो विदेश र नेपालबाट युट्युबमै सिनेमा हेर्न रुचाउने दर्शकले उहाँहरुको आलोचना गर्नुहुन्छ । भने, उहाँका सकृय दर्शक हल पुगेर सिनेमा हेर्नुहुन्छ ।

सबै जना आलोचक भैदिएको भए, ‘छक्का पन्जा ३’ले हलमा दर्शक कसरी बटुल्न सक्थ्यो र ? बस आलोचनाको आलोचना हुँदा ध्वनि मात्र उत्पन्न भएको हो ।

तपाई दीपक-दीपासँग जोडिदा बजारमा बहस उत्पन्न भयो, यसलाई कसरी आत्ममुल्यांकन गर्नु भएको छ ?

बजारमा दीपेन्द्र लामा माथि दीपक-दीपा क्याम्पका सदस्यको हस्तक्षेप भएको भन्ने खालका टिका-टिप्पणी भएका रहेछन । यसलाई एक खालको म प्रतिको प्रेम मानेको छु । तर, बजारमा सुनिए भन्दा ठ्याक्कै उल्टो परिस्थितिमा मैले ‘छ माया छपक्कै’को कार्य सकाए ।

दुई निर्देशन गर्दैमा मैले सिनेमा निर्माणको सबै ज्ञान सिकिसकेको थिएन । जो आमा सरस्वती मुभिजको व्यानरमा सिक्न पाएँ । टेक्निकल र मार्केटिङको विधामा मैले धेरै सिक्ने मौका पाएँ । यसलाई हस्तक्षेप भन्नु की स्वतन्त्रता ?

तपाईको बिचारमा ‘छ माया छपक्कै’को लागि उत्तम प्रदर्शन मिति कुन थियो ?

मेरो बिचारमा असोज २२ मै रिलिज गर्न पाएको भए अझ राम्रो हुने थियो । टिकाको भोलिपल्ट नै रिलिज गर्दा दशैँको तापक्रमले छुने थियो जस्तो लाग्छ । तर, प्राविधिक गडबडीले असोज २४ मा आउदैछौँ ।

यो क्याम्पमा काम गर्दाका सहज र असहज परिस्थिति के – के थिए ?

रमाईलो टिमसँग काम गर्दा कति छिट्टै रिलिजको मुखमा आइसकेछौँ, पत्तै भएन । असहज परिस्थतिको रुपमा मेरो निर्देशकीय क्षमतालाई प्रमाणित गर्नु हो । ‘छ माया छपक्कै’ ठ्याक्कै ‘छक्का पन्जा’ सिरिज जस्तो हुनु भएन, र दुरुस्तै ‘गोपी’ जस्तो बन्दा काम बिग्रिने भयो । मैले यी दुईको समिश्रण घोल्ने प्रयत्न गरेको छु । यो मरो परिक्षा पनि हो ।

यस्तै ‘छक्का पन्जा’ सिरिजको व्यापारिक रिपोर्ट र ‘छ माया छपक्कै’ले दिने व्यापारिक अंक पनि मेरो लागि यो क्याम्पका असहज परिस्थिति हुनेछन । यसपछि मेरो आगामी कदममा यो सिनेमाले अर्थ राख्ने भएकाले अर्को असहज परिस्थिति त्यहाँ पनि उत्पन्न हुनेछ ।

अघिल्ला केहि सिनेमासँग कथा मिलेको अनुमान भैरहेका छन्, रिलिज पछाडी यो अनुमान सफल हुन्छ ?

यो एकदमै गलत अनुमान भइरहेको छ । कुनै मेकरले २-३ करोड खर्च गरेर किन पुरानो कथा भन्छ होला ? कथा नै हाम्रो मेरुदण्ड हो । त्यसैले सस्पेन्स राख्नु परेको हो । हल पुग्दा जति पनि धेरै अनुमान फेल हुनेछन ।

‘छ माया छपक्कै’मा कला र व्यवसायिकताको समिश्रण कस्तो छ ?

हामीले कला र व्यावसायिकतालाई उच्च विन्दुमा घोल्ने प्रयास गरेका छौँ । दुवैलाई प्रभावशाली बनाउनु हाम्रो धेय हो । हामीले सकेसम्मको कला सिनेमामा प्रस्तुत गरेका छौँ । जसलाई सबैभन्दा धेरै दर्शक माझ पुर्याउनलाई पनि कुनै कसर बाँकी छोडेका छैनौँ ।

आमा सरस्वती मुभिजमा यसपटक व्यापार बढ्छ की रेटिङ ?

व्यापार चै भन्न सक्दिन, रेटीङ निश्चय पनि बढ्नेछ ।

कन्ट्रोभर्सीले सिनेमाको व्यापारमा कस्तो असर पार्छ ?

नियोजित कन्ट्रोभर्सीले सिनेमाको व्यापारमा नकारात्मक असर पार्छ भने अकल्पनीय कन्ट्रोभर्सीले सम्भवत: सकारात्मक असर नै देखाउछ । ‘छ माया छपक्कै’को साधारण कन्ट्रोभर्सीले खासै बक्सअफिसमा अर्थ नराख्ला ।

दीपेन्द्र लामाको आगामी सिनेमा कस्तो हुनेछ ?

भरपुर कलात्मक पनि बक्सअफिस लक्षित

तस्विर: ज्ञानु राई