‘आप्पा’ निर्देशकको नयाँ गीत ‘हजारौँ रहर’ सार्वजनिक

‘आप्पा’ निर्देशकको नयाँ गीत ‘हजारौँ रहर’ सार्वजनिक

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौँ –‘साँझ परेपछि नि लै लै, याद आउँछ तिम्रो नि धेरै…’ बोलको गीत पक्कै पनि सुन्नु भएकै छ होला ! यदि यो गीतले तपाईको मन छोएको छ भने अर्को खुसिको खबर छ ।

यहि गीतका सर्जक अनमोल गुरुङले नयाँ गीत सार्वजनिक गरेका छन् । ‘हजारौँ रहर’ बोलको गीतले तपाईको फेरि मन जित्न सक्छ । भिडियोमा उतारिएको वेस्ट बेंगल राज्यस्थित कालिम्पोङ जिल्लाको सुन्दरताले आनन्द दिन्छ ।

गीतमा कालिम्पोङका नेपाली भाषी अनमोलको शब्द, संगीत र आवाज छ । भिडियोमा अनमोल आफै फिचर्ड छन् । उनको साथमा रिया भुजेलको पनि अभिनय हेर्न सकिन्छ । प्रकृति र अधुरो प्रेम गीतले वर्णन गर्छ ।

डेनियल गदालको एरेञ्ज, रोबिन क्षेत्रीको मिक्स एण्ड मास्टर रहेको गीतको भिडियो छायांकन जोनह गुरुङले गरेका हुन् ।

‘आप्पा’बाट निर्देशन यात्रा
नेपाली भाषी भारतीयको बाहुल्यता रहेको दार्जिलिङ र सिक्किमले नेपाली सिनेमा क्षेत्रलाई केहि चर्चित नामहरु दिएको छ । निरुता सिंह, तुलसी घिमिरे, उत्तम प्रधान, शान्ति ठटाललगायतका व्यक्तिहरु नेपालीको मनमा बसिसकेका छन् ।

गत वर्ष रिलिज सिनेमा ‘आप्पा’बाट निर्देशनमा डेब्यु गरेका अनमोल गुरुङले पनि छोटो समयमै दर्शक माँझ छाप छोड्न सुरु गरेका छन् ।

‘आप्पा’बाट निर्देशकीय यात्रामा सम्भावना देखाएका अनमोलले गीत/संगीतबाट पनि दर्शकको मन जित्दैछन् । ‘आप्पा’ सिनेमामा समावेश ‘साँझ परेपछि’ बोलको गीतले उनलाई उचाइ दिएको थियो ।

सुरुवातमा युट्युबमा खास्सै भ्युज नपाएपनि ‘साँझ परेपछि’ले बिस्तारै रफ्तार समातेको थियो । पछि दर्शकको मुख मै गीत झुन्डिन थाल्यो । पछिल्लो समयमा स्टेज कार्यक्रम, कभर, गितार बजाउदा युवापुस्ताको पहिलो रोजाईमा उनकै गीत पर्ने गरेको छ ।