हरिवंश दम्पतिलाई कोरोना संक्रमण

हरिवंश दम्पतिलाई कोरोना संक्रमण

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौं – वरिष्ठ कलाकार हरिवंश आचार्यलाई कोरोना संक्रमण पुष्टि भएको छ । उनिसँगै पत्नी रमिला आचार्यलाई पनि संक्रमण देखिएको हरिवंशले जानकारी दिएका छन ।

उनले आफुहरुमा सामान्य लक्षण देखिएको पनि बताएका छन । छिट्टै संक्रमण मुक्त हुने आशा व्यक्त गर्दै हरिवंशले सम्पूर्णमा जनस्वास्थ्य मापदण्ड अबलम्बन गर्न आग्रह गरेका छन ।

हरिवंशको स्टाटस:

सामान्य लक्षण देखिएकोले हिजो मेरो र मेरो श्रीमती रमिलाको ‘PCR Test’ गरेका थियौँ । हामी दुवै जनाको कोरोना संक्रमण पुष्टि भएको रिपोर्ट आज आयो । हाम्रो स्वास्थ्य अवस्था सामान्य छ । हामीसँग सम्पर्कमा रहनुभएका सम्पूर्ण महानुभावहरुले होम आइसोलेसनमा बसेर निर्धारित समयमा परीक्षण गराउनुहोला ।
यहाँहरुको माया, आशिर्बाद र शुभेच्छाको कारण हामीले छिट्टै कोरोना संक्रमणलाई जित्नेछौँ । कोरोना संक्रमण ब्यापक रुपमा फैलिएको हुँदा यहाँहरु सबैले जनस्वास्थ्यका मापदण्ड अनिबार्य रुपमा अबलम्बन गर्नुहुन अनुरोध गर्दछौँ ।

संक्रमणको खबर पाएपछि हरिवंश दम्पतिको शिघ्र स्वास्थ्यलाभको कामना गर्दै सिनेकर्मी र दर्शकले प्रार्थना गरेका छन् ।

स्रोतका अनुसार हरिवंश यतिबेला आफ्नो आगामी सिनेमा ‘हु.तु.तु’को स्क्रिप्ट लेखनमा व्यस्त थिए । सन्तोष सेनको निर्माण एवं निर्देशन रहने सिनेमा अहिले प्रिप्रोडक्सनमा व्यस्त छ । हरिवंशमा संक्रमण देखिएपछि अहिले ‘हु.तु.तु’ टिम नै होम आइसोलेशनमा बसेको छ ।