तीन दिने फोटोग्राफी तथा भिडियोग्राफी कार्यशाला सुरु

तीन दिने फोटोग्राफी तथा भिडियोग्राफी कार्यशाला सुरु

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौं – चलचित्र पत्रकार संघ नेपालको आयोजनामा बिहिबारबाट तीन दिने फोटोग्राफी तथा भिडियोग्राफी कार्यशाला सुरु भएको छ । कार्यशाला चलचित्र विकास बोर्डको सभा हलमा भइरहेको छ । संघका महासचिव समिर बलामीले संचालन गरेको कार्यक्रमका सभापतित्त्व दिनेश सिटौलाले ग्रहण गरेका थिए ।

कार्यक्रममा प्रमुख अतिथिको रुपमा चलचित्र विकास बोर्डका अध्यक्ष दयाराम दाहाल, विशिष्ठ अतिथिमा वरिष्ठ पत्रकार तथा सिनेमाकर्मी दिनेश डिसी र अतिथिमा कलाकार संघका अध्यक्ष रविन्द्र खड्का, नृत्यकार संघका अध्यक्ष जनक कार्की, द्धन्द्व निर्देशक संघका अध्यक्ष नारायण प्रधानको सहभागिता रहेको थियो ।

संघका संगठन उपाध्यक्ष कुवेर डंगोल संयोजक रहेको तीन दिने फोटाग्राफी तथा भिडियोग्राफी कार्यक्रममा आज पहिलो दिन पत्रकार महासंघका पूर्व अध्यक्ष महेन्द्र विष्ट, हरि न्यौपाने र विजय बस्यालले सहभागी प्रशिक्षार्थीलाई प्रशिक्षण दिनेछन् । आजको कक्षामा हरि न्यौपानेले फोटोग्राफी र विजय बस्यालले भिएफएक्स तथा भिडियोग्राफीको बारेमा प्रशिक्षण दिनेछन् । 

फोटोग्राफी तथा भिडियोग्राफी तलिमको उद्घाटन सत्रमा बोल्दै दिनेश डिसीले सिक्ने क्रम कहिले नसकिने भन्दै फोटो तथा भिडियोमा काम गर्न चाहने पत्रकारले हरेक दिन नयाँ नयाँ प्रविधि सिक्नु पर्ने चुनौति बढ्दै गएको बताए । त्यस्तै, बोर्डका अध्यक्ष दयाराम दाहालले फोटोग्राफी तथा भिडियोग्राफीलाई अनुसाशित भए सिक्न र सिकेको ज्ञानलाई आगामी दिनमा प्रयोग गर्न अनुरोध गरे । 

तीन दिने कार्यशालामा बोल्दै कार्यक्रमका सभापति तथा चलचित्र पत्रकार संघका अध्यक्ष दिनेश सिटौलाले फोटो तथा भिडियोग्राफी तालिम पश्चात समाचार लेखन तथा समीक्षा सम्बन्धि तालिम आयोजना गर्ने तयारी भइरहेको बताए । उनले भने, ‘नयाँ कार्यसमिति आएसँगै चलचित्र पत्रकार संघले सदस्य साथीहरूको हित र हामीले गर्दै आएको व्यवसायिक चलचित्र पत्रकारितालाई थप प्रभावकारी प्रखर बनाउनका योजनाहरू बनाएको थियौं । जसको सुरूवात हामीले चितवन कार्यशालाबाट सुरू गर्ने भनेका थियौं तर कोरोनाले गर्दा योजना अनुसार हामी बढ्न सकेनौं । संघले ती योजनाहरूलाई छिट्टै बढाउने वाचा गदर्छ । 

त्यसको सुरूवात हामीले यस ३ दिने भिडिओ तथा फोटोग्राफी कार्यशालाबाट सुरू गरेका छौं । यो तीन दिनमा सिक्ने फोटोग्राफी र भिडिओग्राफीका सैद्धान्तिक र प्रयोगात्मक प्रशिक्षणले सहभागी साथीहरूलाई थप उर्जा र ज्ञान प्राप्त हुने आशा हामीले राखेका छौं ।

समयक्रमसँगै सूचनाप्रविधि र इन्टरनेटको बढ्दो विस्तारले संचारकर्मलाई धेरै भन्दा धेरैको पहुँचमा पु¥याएको छ । मोबाइलले मानिसहरूको संचारमाध्यमसँगको पहुँचलाई सहज र सरल बनाइदिएको छ । यसले हामीलाई काम गर्न सहज बनाएको छँदैछ योसँगै हाम्रा जिम्मेदारी र जवादेहिता पहिले भन्दा अझ बढि सशक्त हुनुपर्ने बनाएको छ ।’