सिनेमा हल नेपाली सिनेमाको कल्चर, डिजिटल प्लेटर्फम हाललाई असम्भव

सिनेमा हल नेपाली सिनेमाको कल्चर, डिजिटल प्लेटर्फम हाललाई असम्भव

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौं – राजधानीमा जारी नेपाल अन्तराष्ट्रिय सिनेमा महोत्सव (निफ)मा विभिन्न क्षेत्रमा आवद्ध सिनेमाकर्मीले आफ्नो अनुभव बताइरहेका छन् । हालसम्म कार्यक्रममा बलिउड लेखक तथा निर्देशक अनुराग कश्यप, अभिनेत्री करिष्मा मानन्धर, रेखा थापा, अर्जुन कुमार र अशोक शर्मा लगायतले बहस गरिसकेका छन् ।

शनिबार भएको निफ अन्तर्गत बहसमा ‘नेपाली सिनेमामा महिलाको सहभागिता’ विषयमा करिष्मा मानन्धर, दीपाश्री निरौला र रक्षा सिंह राणाबीच सम्वाद भएको थियो । छलफलको सहजीकरण सम्झना उप्रेती रौनियारले गरेकी थिइन । डेढ घन्टा लामो छलफलमा उनीहरुले नेपाली सिनेमामा महिलाको भूमिका, यस क्षेत्रमा महिलाले भोग्ने कठिनाइ र पारिश्रमिकमा हुने गरेको विभेद आदि विषयमा धारणा राखेका थिए ।

दीपाश्री निरौलाले पहिलाको तुलनामा नेपाली सिनेमामा महिलाको सहभागिता उल्लेख्य रुपमा वृद्धि भएको तर्क गरेकी थिइन । ‘हिजो सिनेमा खेल्न जाँदा मुख छोपेर जानु पर्ने बाध्यता थियो । सिनेमा खेल्नेले सामाजिक बहिष्कार नै खप्ने डर हुन्थ्यो तर आज हामी डिमान्ड गर्ने अवस्थामा पुगेका छौं । छानी छानी सिनेमा काम गर्न पाइन्छ, पैसा पनि भनेजति माग्न पाइएको छ । यसलाई म ठूलो फड्को मान्छु’ उनले भनिन् ।

नेपाली सिनेमामा महिलाको भूमिका कत्तिको प्रभावकारी भन्ने प्रश्नमा अभिनेत्री करिष्मा मानन्धरले आफ्नो समयमा आफ्नो भूमिका जत्ति प्रभावकारी भए पनि हिरोको छायाँबाट मुक्त हुन नसकेको बताइन् । ‘सन् १९९० देखि २००० सम्मको समयलाई नेपाली सिनेमाको गोल्डेन पिरियड भनिन्छ । म यही समयमा सक्रिय थिएँ । तर, म मेरो भूमिकामा जत्ति सशक्त भए पनि साँच्चिकै आपत परेको बेला राजेश हमाल उद्धार गर्न आइहाल्नु हुन्थ्यो ।’ उनले भनिन्,‘नत्र त माइतीघर, नुमाफुङ आदि सिनेमालाई छाडेर हाम्रो भूमिका प्रभावकारी थियो भन्ने लागेको छैन ।’

यस्तै, निफद्धारा आयोजित चौथो संस्करणमा आइतबार भएको ‘कोभिड पछिको सिनेमा बजार’ शीर्षकमा छलफल गर्दै सिनेमाकर्मीले नेपाली सिनेमा कल्चर भनेकै थियटर कल्चर भएको बताएका छन् । पछिल्लो समय कारोना कारण दर्शक हलसम्म जाने वातावरण नरहेकाले डिजिटल बजार खोज्नु पर्ने चर्चा चलिरहेका बेला सिनेमाकर्मीले यस्तो बताएका हुन् ।

आइतबार अभिनेत्री तथा निर्माता रेखा थापाले डिजिटल प्लेटफर्म वैकल्पिक उपाय भए पनि नेपालको सबै भूगोल र जनतासम्म पुग्न नसक्ने हुँदा अहिलेलाई डिजिटल प्लेटर्फम उपयुक्त नहुने बताइन । नेपाली सिनेमा हलमा हेर्न नै रमाइलो हुने अभिनेत्री थापाको तर्क थियो ।

‘सरकारले गरेको निषेधाज्ञा खुलेको अवस्थामा पनि सिनेमा क्षेत्र नियमित लयमा फर्कन करिब ६÷८ महिना लाग्ने देखिएको छ । यस्तो अवस्थामा सिनेमा कर्म गर्दै आएका कलाकार तथा प्राविधिकहरु भने पूर्ण रुपमा बेरोजगार हुने सक्ने देखिएको छ’ रेखाले थपिन्, ‘अनुभवी प्राविधिक पेसा परिवर्तन गर्न बाध्य भए भने यसले उद्योगलाई थप क्षति पुग्नेछ ।’

कार्यक्रममा सिनेमा निर्माता तथा निर्देशक अशोक शर्माले भने नेपालमा सिनेमा कल्चर भनेकै थियटर कल्चर रहेको बताए । सिनेमा बनेपछि थियटरमा लगाउनु अघि प्रचार प्रसार गरेको हुन्छ । हलमा दर्शकहरुको माहोल, रियाक्सन, मनोविज्ञान बुझेर नै निर्माताले सोही अनुसार सिनेमा निमार्ण गर्छन् । हाललाई सिनेमाको विकल्प छैन । उनले सिनेमाको प्रारम्भिक बजार भनेको हल नै भएको हुँदा यसलाई बिर्सेर अगाडि बढ्न नसकिने बताएका थिए ।