मनकारी यश: तीन हजार प्राविधिकलाई ५/५ हजार सहयोग

मनकारी यश: तीन हजार प्राविधिकलाई ५/५ हजार सहयोग

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौं – कन्नड सिनेमा उद्योगका रकिङस्टार यशले प्राविधिकलाई सहयोग गर्ने भएका छन् । ‘केजिएफ’बाट एकाएक प्यान इन्डिया स्टारको पहिचान बनाएका उनले आफ्नो कमाइबाट १.५ करोड भारु कन्नड सिनेमा उद्योगका तीन हजार प्राविधिकलाई सहयोग गर्ने घोषणा गरेका छन् ।

यशले एक विज्ञप्ति जारी गर्दै सहयोगबारे जानकारी दिएका हुन् । तीन हजारमध्ये प्रत्येक व्यक्तिको बैंक खातामा ५ हजार जम्मा गरिदिने भएका हुन् । उनले सार्वजनिक विज्ञप्तीमा लेखेका छन्, ‘कोभिड–१९ एक अदृश्य शत्रु बनेर हाम्रो देशका असंख्य जनताको जीविका छिनेको छ । हाम्रो आफ्नै कन्नड सिनेमा क्षेत्रलाई पनि यसले नराम्रोसँग पिरोलेको छ । हामी बाँचिरहेको यस गम्भीर समयमा हाम्रो २१ वटै विभागका तीन हजारको खातामा मेरो कमाइबाट प्रत्येकलाई ५ हजार प्रदान गर्दैछु ।’

यशले केहि समय पहिले मात्रै ‘केजिएफ च्याप्टर २’को छायांकन सकाएका छन् । यो सिनेमामा बलिउड अभिनेता सञ्जय दत्त, अभिनेत्री रविना टन्डन, प्रकाश राज र श्रीनिधि सेट्टीको अभिनयर रहेको छ । सिनेमाको प्रदर्शन आगामी जुलाई १६ लाई तोकिएको छ । तर कोरोना महामारीको दोस्रो लहरका कारण सिनेमा अब उक्त मितिमा प्रदर्शन हुने छैन् ।