दिग्गज बलिउड अभिनेता दीलिप कुमारको निधन

दिग्गज बलिउड अभिनेता दीलिप कुमारको निधन

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौं – दिग्गज बलिउड अभिनेता दीलिप कुमारको निधन भएको छ । उनको निधनले सिंगो बलिउड नै शोकमा डुवेको छ । बलिउडमा सवैजसो सिनेमाकर्मीले सामाजिक सञ्जाल मार्फत उनलाई श्रद्धान्जली दिएका छन् ।

दीलिप कुमारको ९८ वर्षको उमेरमा बुधवार विहान निधन भएको हो । बलिउडका ‘ट्रेजेडी किङ’ को रुपमा चिनिने उनको मुम्बईको एक अस्पतालमा उपचारको क्रममा विहान ७ः३० बजे निधन भएको पारिवारिक श्रोतले जनाएको छ । उनी लामो समयदेखि श्वासप्रश्वासका विरामी थिए । गएको एक महिनामा उनी दुईपटक अस्पताल भर्ना भएका थिए ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी, कांग्रेस नेता राहुल गान्धीले पनि उनलाई श्रद्धाञ्जली अर्पण गरेका छन् । दीलिपले सिनेमा ‘ज्वार भाटा’ बाट अभिनय करिअर सुरु गरेका थिए । सन १९४७ मा रिलिज भएको सिनेमा ‘जुगनू’ले उनलाई चर्चामा ल्याएको थियो । आफ्नो करिअरको दौरान उनले ६० भन्दा बढी सिनेमामा अभिनय गरेका छन् ।

‘देवदास, नयाँ दौर, मधुमती, मुगल-ए-आजम, गंगा-जमुना, लिडर, मेला, शहीद, अंदाज’ लगायतका सिनेमामा अभिनय गरेर भारतका नम्बर वान अभिनेताको रुपमा स्थापित दीलिपले अभिनेत्री सायरा बानोसँग विवाह गरेका थिए । उनले अभिनय गरेको अन्तिम सिनेमा ‘किला’ १९९८ मा रिलिज भएको थियो । उनले लाइफटाम आठवटा फिल्मफेयर अवार्ड जितेका थिए ।

सन् १९९१ मा दीलिप कुमारलाई भारत सरकारले पद्मभूषणबाट सम्मानित गरेको थियो । त्यस्तै, उनलाई सिनेमाको सर्वोच्च राष्ट्रिष्य सम्मान दादा साहब फाल्के अवार्ड सन १९९५ मा मिलेको थियो । दीलिपलाई भारतमा मात्रै पाकिस्तानमा पनि त्यहाँको सरकारले १९९७ मासर्वोच्च नागरिक सम्मान निशान-ए-इम्तियाजबाट सम्मानित गरेको थियो ।