किम्फमा २८ देशका ६० भन्दा बढी सिनेमा देखाइने

किम्फमा २८ देशका ६० भन्दा बढी सिनेमा देखाइने

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौं – काठमाडौं अन्तर्राष्ट्रिय चलचित्र महोत्सव (किम्फ)को १९ औं संस्करण आगामी मंसिरको तेस्रो हप्ता हुने भएको छ । आइतबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा यही मंसिर २३ देखि २७ गतेसम्म महोत्सव आयोजना हुने जानकारी दिइएको हो ।

किम्फको यो संस्करणमा वृत्तचित्र, फिक्सन, प्रयोगात्मक, लघु चलचित्र र एनिमेशन गरी विभिन्न २८ देशका ६० भन्दा बढी सिनेमाको अनलाइन र प्रत्यक्ष प्रदर्शन गरिने भएको छ । कोरोनाभाइरस महामारीको जोखिम कायमै रहेकाले यसपटकको किम्फ हाइब्रिड शैलीमा गर्न लागिएको हो । यसवर्षको किम्फको उपशीर्षक ‘जलवायु कर्म’ राखिएको छ ।

उक्त उपशीर्षकको माध्यमबाट दर्शकलाई मानिसहरु वातावरणसँग कसरी सम्बन्धित छन् र स्थानीय तथा विश्वव्यापी रुपमा भइरहेका जलवायु परिवर्तनका प्रतिकूल प्रभावलाई कसरी कम गर्न सकिन्छ भन्ने सन्देश दिनु फेस्टिभलको उद्देश्य रहेको जनाइएको छ ।

किम्फको उद्घाटन समारोहमा भारतको लद्दाखका चर्चित वातावरणविद् र रोलेक्स पुरस्कार विजेता सोनम वाङ्चुकको मुख्य सम्भाषण (किनोट) प्रस्तुत हुने भएको छ । चर्चित बलिउड सिनेमा ‘थ्री इडियट्स’ सोनमकै जीवनमा आधारित रहेको बताइन्छ ।

महोत्सवमा अनलाइनबाट देखाइने सिनेमाहरू किम्फको अफिसियल वेबसाइटमा दर्शकले महोत्सवको अवधिभर हेर्न सक्ने जनाइएको छ । किम्फ २०२१ को निर्णायक मण्डलमा स्विस पत्रकार तथा पर्वतारोही मारियो कासेला, स्वीस पत्रकार तथा सिनेमा निर्माता क्यारोलिन फिङ्क र नेपाली अभिनेता तथा निर्देशक अनुप बराल छन् ।

यस अन्तर्राष्ट्रिय प्रतिस्पर्धामा पहिलो हुनेलाई दुई लाख रुपैयाँ, दोस्रो हुनेलाई डेढ लाख र तेस्रो हुनेलाई एक लाख रुपैयाँ नगद पुरस्कार दिइने भएको छ । नेपाली पानोरमामा उत्कृष्ट हुने वृत्तचित्रले ७५ हजार रुपैयाँ र उत्कृष्ट सिनेमाले एक लाख रुपैयाँ पुरस्कार पाउनेछन् । यस्तै उत्कृष्ट माउन्टेन सिनेमाले एक हजार अमेरिकी डलर प्राप्त गर्ने आयोजकले बताएको छ ।

हिमाल एसोसिएसनले आयोजना गर्ने किम्फ २०२१ को सहआयोजक काठमाडौं महानगरपालिका रहेको छ भने यसको प्रवद्र्धन नेपाल पर्यटन बोर्डले गर्ने भएको छ । यसपटकको किम्फ चावहिलस्थित चलचित्र विकास बोर्डको सभाकक्षमा हुनेछ ।