वाङ्चुकको जलवायु परिवर्तनको असरप्रति गम्भीर बन्न आग्रहसहित ‘किम्फ’ सुरु

वाङ्चुकको जलवायु परिवर्तनको असरप्रति गम्भीर बन्न आग्रहसहित ‘किम्फ’ सुरु

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौं – अन्तर्राष्ट्रिय सिनेमा महोत्सव (किम्फ) को १९ औं संस्करण बिहीबारदेखि राजधानीमा सुरु भएको छ । कोभिड-१९ महामारीको जोखिमले यसपटकको किम्फ हाइव्रिड शैलीमा आयोजना गरिएको हो ।

हिमाल एसोसियसनद्वारा आयोजित फेस्टिभल चलचित्र विकास बोर्डको अडिटोरियममा सुरु भएको हो । मंसिर २७ गतेसम्म चल्ने फेस्टिभलको उद्घाटन भारतको लद्दाखका चर्चित वातावरण अभियन्ता तथा रोलेक्स अवार्ड विजेता सोनम वाङचुकले किनोट स्पिचसहित गरे ।

डकुमेन्ट्री, फिक्सन, प्रयोगात्मक, सर्ट र एनिमेसन सिनेमा गरी २८ मुलुकका ६० भन्दा बढी सिनेमा अनलाइन र प्रत्यक्षरुपमा देखाइने भएको छ । विश्वभरदेखि दर्शकले सबै सिनेमालाई महोत्सव अवधीभर किम्फ सिनेमा फेस्टिभलको पोर्टलमा हेर्न सक्नेछन् ।

यसपटक किम्फ फेस्टिभलको मुख्य थिम ‘क्लाइमेट कर्म’ राखिएको छ । यसपटक जलवायु परिवर्तनका असर चित्रण गरिएका सिनेमा, लैंगिक समानता र सशक्तीकरणका सन्देश दिने सिनेमाहरु किम्फमा देखाइने भएको छ ।

फेस्टिभल शुभारम्भ काइली रुडिक निर्देशित १८ मिनेट लामो वृत्तचित्र ‘ड्रीम माउन्टेन’ प्रिमियरसँगै सुरु भयो । एक बच्चाकी आमासमेत रहेकी नेपाली महिला हिमाल आरोही पासाङ ल्हामु शेर्पाले गरेको संघर्षपूर्ण हिमाल आरोहणको कथा यसले भन्छ ।

‘उत्साहपूर्ण प्रतिक्रियाले खुसी छु’ प्रिमियरपछि मिडियासँग आरोही शेर्पाले भनिन्, ‘यो सिनेमाले दर्शकलाई जीवनप्रति आशावादी रहन र बाँच्न प्रेरणा दिन्छ ।’ प्रिमियरमा पनि उनी छोरासहित उपस्थित थिइन् । यसपटकको किम्फमा ४० सिनेमा अन्तर्राष्ट्रिय प्रतिस्पर्धामा सहभागी छन् भने १३ सिनेमा नेपाल पानोरमा प्रतिस्पर्धी छन् ।