सेन्सर पास भयो सस्पेन्स थ्रिलर ‘चपली हाईट ३’

सेन्सर पास भयो सस्पेन्स थ्रिलर ‘चपली हाईट ३’

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौं – आगामी शुक्रबार अर्थात पौष २ गतेदेखि प्रदर्शनमा आउने सिनेमा ‘चपली हाइट ३’ सेन्सर पास भएको छ । केन्द्रीय चलचित्र जाँच समितिले प्रदर्शनको एक साताअघि शुक्रबार सिनेमालाई ‘पीजी’ सर्टिफिकेट दिएको हो ।

अब सिनेमा हेर्नका लागि १६ वर्षमुनिका दर्शकलाई अभिभावकको साथ आवश्यक पर्नेछ । अर्जुन कुमारको निर्माण एवं निकेश खड्काको निर्देशन रहेको सिनेमा क्राइम थ्रिलर जनरामा बनेको छ । सिनेमाको कथा तथा संवाद आकाश बरालले लेखेका हुन् ।

सिनेमामा स्वस्तिमा खड्का, आमिर गौतम, सुपुष्पा भट्ट, महेश त्रिपाठी, प्रतीकमान श्रेष्ठ, अर्पण थापा लगायतका कलाकार शीर्ष भूमिकामा छन् । त्यस्तै दीपाश्री निरौला, लक्ष्मी बर्देवा, लोकेन्द्र लेखक, विशाल पहारी, जीवन भट्टराई, सुष्मा निरौला लगायतका कलाकारको समेत चलचित्रमा अभिनय छ ।

‘चपली हाइट’का यसअगाडिका दुई सिरिज बक्सअफिसमा राम्रो कमाई गरेका थिए । ‘चपली हाइट ३’ले पनि दर्शकको मन जित्नेमा निर्माण टिम पूर्ण विश्वस्त देखिन्छ । सिनेमालाई स्टेसन फाइभले काठमाडौं र एफडी कम्पनीले उपत्यका बाहिर वितरण गर्नेछ ।

कोरोना महामारीपछि केही सानो बजेटका नेपाली सिनेमा प्रदर्शनमा आएपनि दर्शक तान्न नसकिरहेको अवस्थामा धेरैको नजर ‘चपली हाइट ३’माथि छ । यसले नेपाली सिनेमाका दर्शकलाई हलसम्म फर्काउने अपेक्षा गरिएको छ । निर्माण टिमले पनि सिनेमाको प्रदर्शन मिति नजिकिँदै जाँदा प्रचारप्रसारलाई तीव्र दिएको छ ।