‘चपली हाईट ३’ बारे यस्तो भन्छन् निर्देशक, निर्माता तथा कलाकार

‘चपली हाईट ३’ बारे यस्तो भन्छन् निर्देशक, निर्माता तथा कलाकार

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौं – आगामी शुक्रबार अर्थात पौष २ गतेबाट सिनेमा ‘चपली हाईट ३’ रिलिज हुँदैछ । सिनेमाको रिलिज डेट नजिकिएसँगै निर्माण टिम प्रचार प्रसारमा व्यस्त छन् ।

गत हप्ता काठमाडौंमा आयोजित पत्रकार भेटघाट कार्यक्रममा निर्माण टिमले सिनेमाको बारेमा कुराकानी गरेका थिए । उक्त कार्यक्रममा निर्देशक, निर्माता तथा कलाकारहरु सिनेमाको विषयमा यस्तो भन्छन् :-

निकेश खड्का, निर्देशक
दर्शकहरु थ्रिलर सिनेमा हेरिरहेका छन् । तर, नेपालमा यस्तो सिनेमा कमै बन्छ । त्यहि दर्शकहरुलाई मध्यनजर गर्दै हामीले सस्पेन्स थ्रिलर कथामा ‘चपली हाईट ३’ निर्माण गरेका छौं । नेपालका लागि हामी यस क्राइम थ्रिलर सिनेमाबाट एउटा ट्रेन्ड सेट गर्दैछौं ।

अर्जुन कुमार, निर्माता
अहिले नेपाली सिनेमाको अवस्था दयनिय छ । नेपाली सिनेमा सधै हेपाईमा परिरहेको छ । जतिसुकै गफ गरेपनि नेपाली सिनेमा कसैको प्राथमिकतामा छैन । कोरोना महामारी अगाडी नेपाली सिनेमाको बजार राम्रो भइरहेको थियो । वर्षमा सय बढि सिनेमा बनेता पनि अपवाद बाहेकका सिनेमा असफल नै भइरहेका थिए । त्यसकारण दर्शकले नेपाली सिनेमालाई मान्यता दिदैनन् । अहिले हलवाला र वितरकले नेपाली सिनेमालाई भन्दा पनि डब सिनेमालाई प्राथमिकता दिइरहेका छन् । यो दुखद कुरा हो । यसले भविष्यमा नेपाली सिनेमालाई विस्थापित नगर्ला भन्न सकिदैन् ।

स्वस्तिमा खड्का, अभिनेत्री
मैले सस्पेन्स थ्रिलरमा काम गरेको थिइन् । चपली हाईट ३को स्टोरी सुन्दा केहि फरक गर्न सक्छु, र मैले यो सिनेमाबाट केहि कुरा सिक्न पाउँछु भन्ने लागेरै अफर स्विकार गरेकी हुँ । मलाई आइरहेको स्क्रिप्ट भन्दा यो चित्त बुझेको स्क्रिप्ट हो । चपली हाईट ३ मा स्वस्तिमाले एकदम भयंकरै फरक भुमिका गरेको रहेछ भन्ने चै होइन । तर मैले गरिरहेको सिनेमा र जनराभन्दा फरक छ ।

महेश त्रिपाठी, अभिनेता
सस्पेन्स राखेर बनाइएको सिनेमाले दर्शकमा कौतुहलता बढाउँछ । यसले दर्शकलाई एक्टिभ बनाउनुको साथै सिनेमाको स्टोरीले दर्शकलाई हलमा बाँधेर राख्छ । त्यसैले ‘चपली हाईट ३’ले दर्शकलाई निराश बनाउदैन भन्ने आशा छ । अहिलेको सन्दर्भमा दर्शक मेरो लागि भन्दा पनि नेपाली सिनेमा क्षेत्रको लागि आउनुपर्छ । किनभने २ वर्ष पछाडि बल्ल नेपाली सिनेमाहरु रिलिज हुँदैछन् । त्यो कारणले दर्शकहरु आउनुपर्छ भन्ने मान्यता हो । तर, दर्शक आउन पनि सिनेमा राम्रो हुनुपर्छ ।

सुपुष्पा भट्ट, अभिनेत्री
‘चपली हाईट ३’को ट्रेलर र गीत रिलिज भइसकेको छ । त्यो हेरेर दर्शकहरु हलसम्म कतिको आउनु हुन्छ भन्ने हो । मैले आफ्नो तर्फबाट शतप्रतिशत दिएको छु । तर कलाकारले दर्शकलाई ल्याउने भन्ने हुँदैन । सिनेमाको स्टोरीले नै दर्शकलाई हलसम्म ल्याउने हो ।

प्रतिक मान श्रेष्ठ, अभिनेता
पहिलो सिनेमामै स्वस्तिमा, सुपुष्पा र महेश दाईसँग काम गर्न पाउँदा म आफुलाई भाग्यमानी ठान्छु । पब्लिकको नजरबाट हेर्दा सिनेमा खेल्न सजिलो छ भन्ने लाग्थ्यो । तर सिनेमा गर्न गाह्रो रहेछ ।