सिनेमा ‘म’को शुभ साइत, सरोज-सरितादेखि निशा-निराजनसम्म

सिनेमा ‘म’को शुभ साइत, सरोज-सरितादेखि निशा-निराजनसम्म

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौं – कन्तिपुर पिल्म एकेडेमीले पहिलो पटक निर्माण गर्न लागेको सिनेमा ‘म’ को शुभ साइत गरिएको छ । सोमवार एकेडेमीकै परिसरमा सिनेमाको शुभ साइत गर्दै आगामी पुष ११ गतेबाट छायांकन सुरु हुने जानकारी गराइयो । सिनेमाको २ वर्ष अगाडि निर्माण घोषणा गरिएको भए पनि कोरोनाका कारण छायांकन सुरु हुन सकेको थिएन ।

समिक्षात्मक रुपमा सफल सिनेमा ‘सुनगाभा’का निर्देशक सुर्वण थापाले ‘म’ को निर्देशन गर्नेछन् । सिनेमाको कथा कान्तिपुर सिनेमा एकेडेमीका सिइओ समेत रहेका प्रकाश पुरीले लेखेका हुन् । सिनेमामा सरोज खनाल, सरिता लामिछाने, निशा अधिकारी, सविन श्रेष्ठ, निराजन प्रधान, रुविना थापा, प्रमोद अग्रहरी, संजोग रसाइली र पुनम श्रेष्ठ लगायतका कलाकारहरुको अभिनय रहनेछ ।

त्यस्तै, सिनेमामा बनिष शाहको सम्पादन, तेन्जिन पाल्देनको छायांकन र सुजन परियारको कस्टुम डिजाइन रहनेछ । पदम पुरी सह-निर्माता र विमला हुँमागाइँ निर्माता रहेको सिनेमाको प्रोडक्सन म्यानेजर करन सिंह हुन् । निर्देशक सुवर्ण थापाले सिनेमाले आफ्नो अस्तित्वको खोजीमा रहेका पात्रहरुको कथा भन्ने जानकारी दिए । सिनेमाको कथा निकै बलियो रहेको निर्देशक थापाको भनाई छ ।

अभिनेता खनालले सिनेमाको नाम ‘म’ भए पनि समाजभित्रको कथा भन्ने बताएका छन् । उनले भने, ‘सिनेमाले समाजभित्रको कथा भन्छ । सिनेमा हेर्दा दर्शकहरुले आफ्नै कथा पाउनुहुनेछ । यसअर्थमा सिनेमा समाजको ऐना हो ।’ अभिनेत्री लामिछानेले पनि सिनेमाको कथा नेपाली समाजभित्रैको रहेको बताएकी छन् । सिनेमामा आफ्नो भूमिका दर्शकले फरक पाउने उनको दाबी छ ।

सविन श्रेष्ठले भने म आफ्नो कमब्याक सिनेमा हुनसक्ने बताए । हलमा आफू अभिनीत सिनेमा रिलिज भइरहे पनि ‘म’मा दर्शकले आफूलाई फरक रुपमा देख्न पाउने उनको भनाई छ । यस्तै, निराजन प्रधान र रुविना थापाले सिनेमाको कथावस्तु र आफ्नो चरित्र मन परेकाले काम गर्न लागेको बताए । निराजन प्रधानले यही सिनेमाबाट लिड अभिनेताको रुपमा नेपाली सिनेमा क्षेत्रमा डेब्यू गर्दैछन् ।