सकियो किम्फ, ‘भगवानको भैंसी’ सर्वोउत्कृष्ट सिनेमा

सकियो किम्फ, ‘भगवानको भैंसी’ सर्वोउत्कृष्ट सिनेमा

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौं – काठमाडौं अन्तर्राष्ट्रिय पर्वतीय सिनेमाफेस्टिभल ९किम्फ०को १९ औं संस्करण सम्पन्न भएको छ ।

महोत्सवमा छायाँकर विष्णु कल्पितले निर्देशन गरेको १४ मिनेट २० सेकेन्ड लामो ‘गड्ज बफ्यालो’ अर्थात् ‘भगवानको भैंसी’ले सर्वोत्कृष्ट पर्वतीय सिनेमाको अवार्ड जितेको छ । अवार्डसँगै सिनेमाले १ हजार अमेरिकी डलर प्राप्त गरेको छ । सिनेमाले नेपाल पानोरमा विधातर्फ सर्वोत्कृष्ट डकुमेन्ट्री विधामा समेत अवार्ड जित्दै ७५ हजार रुपैयाँ हासिल गरेको छ ।

चलचित्र विकास बोर्डका अध्यक्ष दयाराम दाहालले कल्पितलाई पुरस्कार प्रदान गरेका थिए । यस्तै महोत्सवमा नेपाल पानोरमा खण्डमा किरण श्रेष्ठ निर्देशित सिनेमा ‘येट एनादर विन्टर’ उत्कृष्ट आख्यान सिनेमा बन्यो । अवार्डसहित सिनेमाले १ लाख रुपैयाँ नगद पुरस्कार समेत जितेको छ ।

नेपाल पानोरमा खण्डमै विभूषण बस्नेत र पूजा गुरुङ निर्देशित ३८ मिनेट लामो सिनेमा ‘द बिग हेडेड ब्वाई, स्यामन्स एण्ड सामुरिज’ले स्पेसल मेन्सन अवार्ड जितेको छ । अन्तर्राष्ट्रिय खण्डतर्फ पाभ्लो बारबास निर्देशित ५४ मिनेट लामो सिनेमा ‘एभरेस्टः द हार्ड वे’ सर्वोत्कृष्ट बन्यो । सिनेमाले नगद २ लाख रुपैयाँ पुरस्कार जितेको छ ।

कोलम्बियाली निर्देशक भिभियाना गोमेजको निर्देशनमा बनेको ९२ मिनेट लामो सिनेमा ‘बिट्विन फायर एण्ड वाटर’ अन्तर्राष्ट्रिय प्रतिस्पर्धा खण्डतर्फ दोस्रो बनेको छ । सिनेमाले डेढ लाख रुपैयाँ पुरस्कार जितेको छ । १०५ मिनेट लामो अमेरिकी सिनेमा ‘आफ्टर अन्टार्कटिका’ अन्तर्राष्ट्रिय प्रतिस्पर्धामा तेस्रो स्थान हासिल गर्न सफल भयो । सिनेमाले एक लाख रुपैयाँ पुरस्कार प्राप्त गरेको छ ।

तासा भान ज्यान्डट निर्देशित सिनेमाले ध्रुवीय अनुसन्धानकर्ता विल स्टिगरले अन्टार्कटिका पुगेर फर्किएपछि पृथ्वीका दुई ध्रुवमा देखिएको वातावरणीय परिवर्तनको कथालाई उठान गरेको छ । अन्तर्राष्ट्रिय विधातर्फ अरमेनियाली निर्देशक तामारा स्टेफनयानले निर्देशन गरेको ‘भिलेज अफ वुमन’ले स्पेसल मेन्सन अवार्ड जित्न सफल भयो । ८३ मिनेट लामो सिनेमाले पुरुषबिनाका ९ महिना कसरी महिला, बालबालिका र वृद्धवृद्धाले एउटा गाउँमा आफ्नो जीवनलाई अगाडि बढाउँछन् भन्ने कथालाई देखाएको छ । किम्फ चलचित्र विकास बोर्डको हलमा पाँच दिनसम्म चलेको थियो ।

समापन कार्यक्रममा डोमिनिक बुस र जोन पोर्टरको निर्देशनमा बनेको ‘एभरेस्टः बाइ दोज हु वेयर दियर-१९२१, १९२२, १९२४’ सिनेमा प्रदर्शन गरिएको थियो । महोत्सवमा ४० सिनेमा अन्तर्राष्ट्रिय प्रतिस्पर्धा र १३ सिनेमा नेपाली पानोरमा विधामा सहभागी भएका थिए । हिमाल एशोसियसनले आयोजना गरेको फेस्टिभलमा जलवायु परिवर्तन, लैंगिकता, महिनावारी, स्वास्थ्यजस्ता मुद्दामा छलफल भएको थियो ।

महोत्सवको उद्घाटन वातावरण अभियन्ता तथा रोलेक्स अवार्ड विजेता सोनम वाङचुकले गरेका थिए । किम्फको १९ औं संस्करणमा निर्देशक अनुप बराल, स्वीस फिल्ममेकर क्यारोलिन फिंक र स्वीस लेखक मारियो कासेला जुरी थिए ।