पनामा पेपर्स लिकको बारेमा ऐश्वर्यासँग सोधपुछ

पनामा पेपर्स लिकको बारेमा ऐश्वर्यासँग सोधपुछ

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौं – बलिउड अभिनेत्री ऐश्वर्या रायसँग पनामा पेपर्स लिक विषयमा भारतको प्रवर्तन निर्देशालयले ७ घण्टा सोधपुछ गरेको छ । ऐश्वर्यासँग उनको कम्पनी र बैंकको खाताको बारेमा सोधपुछ गरिएको हो ।

भारतीय मिडियाका अनुसार ऐश्वर्याले ५० हजार डलरको कम्पनीलाई १५ सय डलरमा किन बेचेको ? अभिनेता अमिताभ बच्चनको बुहारी बनेपछि कम्पनीलाई किन बन्द गरेको भनेर प्रश्न गरिएको थियो । इडीले सोमबार उनीसँग दिल्लीको लोकनायक भवनमा सोधपुछ गरेको हो । सोधपुछको क्रममा उनले केहि प्रमाण पनि पेश गरेकी छन् ।

एक महिनाअघि यसै विषयमा अभिनेता अभिषेक बच्चनलाई पनि ईडीले सोधपुछ गरेको थियो । इडीको अनुसार अब, उनका पिता अभिताभ बच्चनलाई पनि सोधपुछको लागि कार्यालय बोलाउने तयारी गरिएको छ ।

पनामा पेपर्समा भारतका ५ सय व्यक्तिको नाम आएको छ । यसमा नेता, खेलाडी, व्यापारी र कलाकारको नाम छ । उनीहरु सबैलाई ट्याक्सको फेरबदलको आरोप छ । सन् २०१६ मा बेलायतको ल फर्मको १.१५ करोड ट्याक्स डकुमेन्ट लिक भएको थियो । जसमा भारतका ५ सय मानिसको नाम समावेश थियो ।

रिपोर्ट अनुसार अमिताभलाई चार कम्पनीको निर्देशक बनाइएको थियो । यसमा तीनवटा कम्पनी बहामास र एउटा कम्पनी भर्जिन आइल्याण्डमा थियो । यी कम्पनीको सम्पत्ति ५ हजारदेखि ५० हजार डलरसम्म थियो । तर, यी कम्पनीहरुले शिप्सको कारोबार गरिरहेका थिए । जसको मुल्य करोडौंमा थियो ।

ऐश्वर्यालाई पनि एउटा कम्पनीको निर्देशक बनाइएको थियो । पछि उनलाई कम्पनीको शेयर होलडर मात्र भनिएको थियो । कम्पनीको नाम अमिक पार्टनर्स प्राइभेट लिमिटेड थियो । यसको मुख्य कार्यालय भर्जिन आइल्याण्डमा थियो । सन् २००५ मा बनाइएको यो कम्पनी २००८ मा बन्द गरिएको थियो ।

-एजेन्सी