‘कठपुतली’ले फर्कायो नेपाली सिनेमामा दर्शक

‘कठपुतली’ले फर्कायो नेपाली सिनेमामा दर्शक

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौं – गत शुक्रवारबाट प्रदर्शनमा आएको नेपाली हरर सिनेमा ‘कठपुतली’ले राम्रो दर्शक संख्या हलमा फर्काएको छ । शुक्रवार अनि शनिवार देशभरका अधिकांश सिनेमा घरमा दर्शक भरिभराउ थिए । जसले गर्दा राम्रो सिनेमा निर्माण गरेको खण्डमा दर्शकलाई हलसम्म फर्काउन सकिन्छ भन्ने उदाहरण कठपुतलीले प्रस्तुत गरेको छ ।

यस्तै शुक्रवार सिनेमाको व्यापार सुखद भएपछि नेपालको सबैभन्दा ठूलो मल्टीप्लेक्स चेन क्यूएफएक्सले आफ्नो देशभरको स्टेशनमा शनिवारका लागि १४ बाट २२ शोज र्पुयाएको थियो । त्यसमध्ये अधिकांश शोजमा सिनेमाको अकुपेन्सी शतप्रतिशत रहेको वितरक कम्पनीले जानकारी दिएको छ । राजधानीका अन्य मेजर मल्टीप्लेक्सहरुमा पनि सिनेमा हेर्ने दर्शकको चाप उच्च देखिएको थियो ।

सिनेमाप्रति दर्शकको आकर्षण देखेर सिनेमाकर्मीले खुसी व्यक्त गरेका छन् । हुन पनि, नेपाली सिनेमाले दर्शकको साथ पाउन नसकिरहेको अवस्थामा ‘कठपुतली’ ले नयाँ आशाको किरण छरेको छ । माउथ पब्लिसिटी बलियो भएकाले सिनेमा बक्सअफिसमा लामो रेसको घोडा बन्ने धेरैको विश्वास छ ।

निर्माता पृथ्वी राना मगरले दर्शकबाट प्राप्त सकारात्मक प्रतिक्रिया र हाउसफुल व्यापारले उत्साह थपेको बताए । भिमसेन लामा निर्देशित सिनेमामा मिथिला शर्मा, गौरी मल्ल, कर्मा, उषा रजक, शिल्पा मास्के, सुवर्ण थापा, ध्रुव कोइरालाको मुख्य भूमिका छ । जोएल फ्रूमले खिचेका सिनेमाको सह-निर्माताहरुमा विशाल गुरुङ, धर्म श्रेष्ठ र हेम थापा छन् ।