थ्रिलर हरर सिनेमा ‘पर्पला’को फर्स्टलुक सार्वजनिक

थ्रिलर हरर सिनेमा ‘पर्पला’को फर्स्टलुक सार्वजनिक

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौं – अस्ट्रेलियामा निर्माण भएको नेपाली सिनेमा ‘पर्पला’को फर्स्टलुक सार्वजनिक गरिएको छ । नेपालीहरुको बाक्लै बसोबास रहेको अस्ट्रेलियाको सिड्नीमा निर्माण गरिएको ‘पर्पला’ थ्रिलर हरर सिनेमा हो ।

कोरोना महामारीले विश्वग्रस्त भएपनि नेपाली सिनेमा निर्माणलाई पनि निरन्तरता दिनुपर्छ भन्ने उद्देश्य राखेर ‘पर्पला’ निर्माण गरिएको लेखक तथा निर्देशक मनोज अधिकारीले जानकारी दिए । अष्ट्रेलियामा बस्ने नेपालीहरुकै जीवनमा घटेका विभिन्न घटनाक्रमबाट प्रभावित भएर सिनेमाको कथा लेखिएको उनले बताए ।

हलिउड प्राविधिक र नेपाली सिनेमाकर्मीको सहकार्यमा निर्मित सिनेमाको पहिलो चरणको छायांकन अष्ट्रेलियामा गरिएको र दोस्रो चरणको छायांकन छिट्टै गरेर सिनेमालाई प्रदर्शनमा ल्याउने निर्माण पक्षले बताएको छ । ‘पर्पला’मा मुख्य अभिनेताको रुपमा पुकार गौतम रहेका छन् । उनले यसअघि झरना थापासँग ‘झिल्के’ नामक सिनेमामा अभिनय गरेका थिए भने अष्ट्रेलिया गएपछि ‘ह्याप्पी न्यु इयर’मा अभिनय गरिसकेका छन् ।

निर्माता तथा कलाकार भानु प्रतापले अस्ट्रेलिया बसाइको क्रममा त्यहाँको टिमसँग मिलेर सिनेमा ‘पर्पला’को निर्माण गरेका हुन् । सिनेमा ‘लाल्टिन’पछि अस्ट्रेलियामा बसोबास गर्दै आएका उनले यस बीचमा म्युजिक भिडियो, छोटा सिनेमा निर्माण साथै नेपाली सिनेमाहरुको अस्ट्रेलियामा प्रदर्शन गर्दै आएका थिए ।

फस्र्टलुकमा सिनेमाकी मुख्य अभिनेत्री निखिला बुढाथोकीलाई मात्र प्रस्तुत गरिएको छ । आधा मुहार मात्र प्रस्तुत गरिएको उनको आँखाबाट रगत चुहिएको छ । एक दशकदेखि अष्ट्रेलिया बस्दै आएका मनोज ‘पर्पला’ सिनेमाका लेखक तथा निर्देशक हुन् । उनले अष्ट्रेलियामा बनेको पहिलो नेपाली सिनेमा ‘ऋतु’ को निर्माण तथा निर्देशन गरेका थिए ।

आरकेएस अस्ट्रेलिया, ओएमजी इन्टरटेन्टमेन्ट र ग्रीन हिल्स इन्टरटेन्टमेन्टको ब्यानरमा निर्माण भएको सिनेमाका प्रस्तुतकर्ता भानुप्रताप ढकाल हुन् । अस्ट्रेलियन छायांकार कास्मिर डिक्सनले खिचेको सिनेमालाई सुरेन्द्र पौडेलले सम्पादन गरेका छन् । रविन्द्रकुमार शर्मा, डम्बरबहादुर रसाइली, छवि अधिकारी र सरोजकुमार वाइबा सिनेमामा निर्माता हुन् ।