रोट्रेड्यामको ५१ औँ संस्करणमा छानिए ‘अन्हद र बाघथान’

रोट्रेड्यामको ५१ औँ संस्करणमा छानिए ‘अन्हद र बाघथान’

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौं –  विश्व प्रतिष्ठित रोट्रेड्याम सिनेमा महोत्सवमा निरञ्जन राज भेटवाल र सुनिल पाण्डे निर्देशित सिनेमा छानिएका छन् । निरञ्जन निर्देशित ‘अन्हद’ र सुनिल निर्देशित ‘बाघथान’ इन्टरनेसल सिनेमा महोत्सव रोट्रेड्यामको ५१ औँ संस्करणमा छानिएका हुन् ।

नेपाली सिनेमा पहिलो पटक दुई सिनेमा विश्वको यति ठूलो महोत्सवमा एकसाथ छानिएका छन् । शुक्रबार सार्वजनिक लाइन अपमा नेपालबाट एकै निर्माताले बनाएका दुई सिनेमा छनोट भएका हुन् । दुवै सिनेमालाई आइसफल प्रडक्सनले निर्माण गरेको हो । निरञ्जन निर्देशित ‘अन्हद’लाई एक्लै निर्माण गरेको आइसफलले ‘बाघथान’का लागि भने सिमल सिनेमाको सहयोग लिएको हो ।

सर्ट तथा मिड लेन्थ विधामा दुवै सिनेमा प्रतिस्पर्धी बनेका छन् । अंग्रेजी नाम ‘इटर्नल्स मेलोडी’रहेको निरञ्जन निर्देशित सिनेमाले हिन्दू संस्कारमा विद्यमान प्रेत र प्रेत मुक्तिका लागि गरिने क्रियाकर्मको कथा पेस गर्छ । कथानुसार दिवंगत श्रीमान् सपनामा आएर आफू मुक्त नभएको सन्देश दिएपछि छोरालाई लिएर श्रीमतीले गर्ने आन्तरिक तथा बाह्य यात्रालाई सिनेमाले विषय बनाएको छ ।

यसैगरी सुनिल निर्देशित सिनेमाले भने बसाइँ सराइ र त्योसँग जोडिएका स्मृतिको कुरा गर्छ । निर्देशकको आफ्नो हजुरबाले सुनाएको कथालाई आधार मानेर बुनिएको कथाले विगतमा मानव बस्तीलाई बाघको पञ्जाबाट मुक्त गर्न प्रयत्नहरूको चर्चा गर्छ । सिनेमाको लम्बाइ २० मिनेट रहेको छ । ‘अन्हद’ले भने १३ मिनेटमै आफ्नो कथा भनिसक्छ ।

जनवरी २६ तारिखदेखि फ्रेब्रुअरी ६ सम्म सञ्चालन हुने महोत्सव यसवर्ष भर्चुअल माध्यमबाट हुनेछ । ओम्रिकोनका कारण केही दिनअघि मात्र महोत्सव आयोजकले यो संस्करण अनलाइन हुने सूचना जारी गरेका थिए ।