‘ब्लुचिप इन्भेष्टमेन्ट’को नेपाली सिनेमामा लगानी गर्ने इच्छा

‘ब्लुचिप इन्भेष्टमेन्ट’को नेपाली सिनेमामा लगानी गर्ने इच्छा

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौं – बलिउड र दक्षिण भारतीय थुप्रै सिनेमामा फाइनान्स गरेको ‘ब्लुचिप इन्भेष्टमेन्ट’ले नेपाली सिनेमा निर्माण गर्ने इच्छा प्रकट गरेको छ । यो कम्पनिको लगानी रहेका बलिउड सिनेमा ‘सुर्यवंशी र ८३’ केही महिनाअघि रिलिज भएका थिए ।

शनिवार अर्थात पुष २४ गते राजधानीमा आयोजना भएको ‘नेपाल मिडिया अवार्ड’ मा सहभागी हुन बिहीवार दुबईबाट काठमाडौं आइपुगेको ‘ब्लूचिप’ को टिमले नेपाली सिनेमामा लगानी गर्न चाहाना रहेको उल्लेख गरेको थियो । ‘ब्लुचिप’ का सिइओ रविन्दरनाथ सोनीले सञ्चारकर्मीसँग भने-‘बलिउडमा हामीले धेरै काम गरेका छौं । अब राम्रो विषयमा हामी नेपाली सिनेमा निर्माण गर्न इच्छुक छौं । नेपाल बसाईको क्रममा फिल्मसँगै अन्य व्यवसायमा सहकार्य गर्ने विषयमा छलफल गर्नेछौं ।’

उनले आफूले नेपाली सिनेमा ‘ऐश्वर्या’ हेरेको पनि स्मरण गरे । नेपाल र भारतको संस्कृति मिल्दोजुल्दो भएकाले नेपालको संस्कृतिलाई प्रवद्र्धन गर्न आफूहरु तयार रहेको उनको भनाई छ । पहिलो पटक नेपाल आउन पाउँदा खुसी लागेको भन्दै उनले आफूलाई नेपाल आफ्नै देश लाग्ने गरेको बताए ।

पुनम यादव निर्माता रहेको ‘नेपाल मिडिया अवार्ड’ मा ‘ब्लुचिप’ सह-प्रायोजकको रुपमा जोडिएको छ । दुबईमा रियल स्टेट, फोरेक्स, गोल्ड, करेन्सी लगायतका विभिन्न क्षेत्रमा ठूलो लगानी गरेको ‘ब्लुचिप इन्भेष्मेन्ट कम्पनी’का सिइओ सोनीसँगै अपरेसन हेड गुरमीत कौर, सेल्स एन्ड मार्केटिङ हेड सुरज जुमानी, डाक्टर प्रिति गिरी लगायतको टिम नेपाल आएको हो ।