शाहरुखको घरमा बम पड्काउने धम्की दिने पक्राउ

शाहरुखको घरमा बम पड्काउने धम्की दिने पक्राउ

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौं – बलिउड अभिनेता शाहरूख खानको घरमा बम पड्काउने धम्की दिने व्यक्तिलाई मुम्बई प्रहरीले पक्राउ गरेको छ । भारतीय सञ्चारमाध्यम कोइमोइका अनुसार गत जनवरी ६ तारिकमा एक व्यक्तिले फोन गरेर शाहरूखलाई घरमा बम पड्काउने धम्की दिएका थिए ।

ती व्यक्तिले आफूले बम बोकिरहेको र शाहरूखको घर मन्नतमा पड्काउने भनेका थिए । उक्त खबर पाउनासाथ निकै तनाव सिर्जना भएको थियो । प्रहरीले तत्कालै यसबारे खोजबिन गरेको थियो । बलिउड मिडिया कोइमोइका अनुसार त्यो फोन मध्य प्रदेश जबलपुर जिल्लाबाट आएको पत्ता लाएपछि मुम्बई प्रहरीले तत्कालै जबलपुर प्रहरीसँग समन्वय गरको थियो । अनि ती व्यक्तिका बारेमा थप विवरण मागेको थियो ।

प्रहरीले शाहरूखको घरमा बम पड्काउने धम्की दिएको आरोपमा जितेश ठाकुरलाई पक्राउ गरेको छ । जितेशलाई उनको घरबाटै पक्राउ गरिएको हो । शाहरूख खान यति बेला मिडियामा सार्वजनिक रूपमा आएका छैनन् । केही समयअघि उनका छोरा आर्यन लागुपदार्थ सेवन तथा कारोबार आरोपमा पक्राउ परेका थिए ।

आर्यनलाई तीन साताभन्दा बढी समय हिरासतमा लिइएको थियो । त्यो बेलादेखि नै मिडियाबाट बाहिर रहेका शाहरूख अहिलेसम्म सार्वजनिक रूपमा देखा परेका छैनन् । आर्यन जेलबाट रिहा भएको केही समयपछि भने उनी सुटिङ लागि बाहिर निस्किएको खबर भारतीय सञ्चारमाध्यमले छापेका छन् ।

शाहरुख हाल यशराज फिल्मस्को ब्यानरमा निर्माण भैरहेको सिनेमा पठानको सुटिङमा व्यस्त छन् । सिद्धार्थ आनन्दको निर्देशन रहने पठानमा जोन अब्राहम र दीपिका पादुकोण पनि मुख्य भूमिका रहनेछ ।