चिसो एस्ट्रेको पहिलो गीत ‘ड्रीम पाइरेसी’ रिलिज

चिसो एस्ट्रेको पहिलो गीत ‘ड्रीम पाइरेसी’ रिलिज

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौं – सपनाको कथामा बनेको सिनेमा ‘चिसो एस्ट्रे’को पहिलो गीत सार्वजनिक गरिएको छ । ‘ड्रीम पाइरेसी’ बोलको गीतले विभिन्न पाइरेटेड सपनाहरूको कथा भन्छ । बिहीवार अस्कर इन्टरनेसनल कलेजका विद्यार्थीबीच गीत सार्वजनिक गर्दै गीतका गायक तथा संगीतकार अजर जंगमले गीतले सिनेमाको कथालाई अभिव्यक्त गर्ने बताए ।

‘हामी अहिले ग्लोबल भिलेजमा छौँ जहाँ हामीले देख्ने सपनासमेत आयातित छन् । सिनेमामा चरित्रले यस्तै सपना देख्छन् जुन आफैँमा मौलिक होइनन् । निर्देशक दिनेश पाल्पालीले सिनेमाका चरित्रलाई खिपेर शब्द लेख्नुभएको थियो जसलाई मैले संगीत र स्वरद्धारा अभिव्यक्त गर्ने कोसिस गरेको छु,’ अजरले भने । फंक शैलीको गीतमा परम्परागत सिनेमामा जस्तो कलाकार देखिन्नन् । बरु युवा पुस्ताको दैनिकी बनेका चुरोट, कन्भर्स, चश्मा आदिलाई एनिमेसन गरी देखाइएको छ ।

चैत ४ मा सार्वजनिक प्रदर्शनमा आउन लागेको सिनेमालाई दिनेश पाल्पालीले निर्देशन गरेका हुन् । सिनेमाले आधुनिक बन्न खोज्दा आफैंलाई गुमाउन पुग्ने चरित्रको कथा पेस गर्छ । ‘एउटा गाउँले ठिटो सहरी ठिटो बन्ने चक्करमा कसरी चुरोटको ठुटो बन्छ, सिनेमा यही दर्शनमा केन्द्रित रहेको छ,’ गीत सार्वजनिक कार्यक्रममा सिनेमाका निर्माता महेशबाबु तिमल्सिनाले बताए ।

उज्जल बस्ताकोटीको छायांकन रहेको सिनेमामा उज्जवल ढकालले सम्पादन र प्रशान्त रसाइलीले क्रिएटिभ हेडको जिम्मेवारी निर्वाह गरेका छन् । कंगारु क्रिएसन र लोकल सिनेमाको संयुक्त ब्यानरमा निर्मित सिनेमालाई महेशबाबु तिमल्सिनाले प्रस्तुत गरेका हुन् । निर्माणमा भने महेश बाबुलाई प्रबिन स्याङ्वो र सुष्मिता पराजुलीले सघाएका छन् । सिनेमाको सह-निर्मातामा भने रुपेश ढुंगाना, नविन ढुंगाना र सुजन खतिवडा रहेका छन् ।