जातीय विभेदविरुद्ध २० छोटो सिनेमा युएनडीपी र निर्देशक समाजले छाने

जातीय विभेदविरुद्ध २० छोटो सिनेमा युएनडीपी र निर्देशक समाजले छाने

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौं – जातीय विभेदविरुद्ध निर्माण गरिएका २० सिनेमा लघु सिनेमा प्रतियोगिता लागि छनौट भएका छन् । नेपाल चलचित्र निर्देशक समाजले कानुन, न्याय तथा संसदीय व्यवस्था मन्त्रालय र युनडीपीसँग मिलेर ६ सदस्यीय निर्णायक समूहले जातीय विभेद र उन्मुलनको उपायलाई कलात्मक रुपमा अभिव्यक्त गर्ने २० सिनेमालाई प्रारम्भिक चरणमा छनौट गरेको निर्देशक समाजका महासचिव जनकदीप पराजुलीले बताए ।

निर्देशक समाज र युनडीपीले जातप्रथा र यसको उन्मुलनका उपाय समेटिएका कथा ३ मिनेट भित्रमा प्रस्तुत गर्नुपर्ने गरी केही समयअघि सूचना प्रकाशित गरिएको थियो । कानुन न्याय तथा संसदीय व्यवस्था मन्त्रालयका सह-सचिव फणिन्द्र गौतम, वरिष्ठ निर्माता्निर्देशक तथा कलाकार नीर शाह, निर्देशक समाजका महासचिव जनकदीप पराजुली, कलाकार लक्ष्मी बर्देवा, ए टु जेड प्रोजेक्ट म्यानेजर वसन्त अधिकारी र युएनडीपीका प्रमुख सूचना अधिकृत कमलराज सिग्देल सम्मिलित निर्णायक मण्डलले प्राप्त सिनेमाबाट २० सिनेमा छानेका हुन् । निर्देशक समाजका महासचिव पराजुलीले प्राप्त ५६ सिनेमाबाट २० सिनेमा छनौट गरिएको जानकारी गराए ।

छनौट भएका सिनेमामा वाशिष्ठ प्रधानको ‘दि बास्केट’, सुरेन्द्र प्रजापतिको ‘शून्य’, सुदन सिंह ठकुरीको ‘सेम’, सराना श्रेष्ठको ‘सामना’, बालकृष्ण बंशीको ‘पुमावाङगु म्हगास’, हाफटाइम क्रिएसनको ‘पीडा’, रनधीर श्रेष्ठको ‘परी’, राजेश श्रेष्ठको ‘नयाँ जुत्ता’, अतीन श्रेष्ठको ‘म स्वयं नेपाली’ साफुको ‘म म नै हुँ’ आशिष शर्मा पंगेनीको ‘क ख ग घ’ छिन्न मस्ता फिल्मस्को ‘आइ एम नट ह्युमन’, नगेन्द्र राईको ‘हि इज माई गड’, मेरियन राजभण्डारीको ‘गंगा’ सन्तोष सरकारको ‘फू’, काव्यालय प्रोडक्सनको ‘चेत’, विनोद पुडासैनीको ‘भगवान सबैको’ प्रतीक सिंह एन्ड टिमको ‘ब्याटल अगेन्स्ट डिस्क्रिमिनेसन’ शर्मा क्रिएसनको ‘अछोप’, प्रकाश सुब्बाको ‘फ्लावर’ रहेका छन् ।

प्रतियोगितामा पहिलो हुने सिनेमाले २ लाख रुपैँया, दोस्रो हुनेले १ लाख ५० हजार र तेस्रो हुनेले ५० हजार रुपैँया प्राप्त गर्नेछन् । छनौट भएका यी सिनेमा अबको दुई हप्ता दर्शकको अवलोकनका लागि विभिन्न सामाजिक सञ्जालमा राखिन्छन् । यहाँ सिनेमाले पाउने दर्शक तथा प्रतिक्रिया एवम् निर्णायकले विजेता सिनेमाको घोषणा गरिनेछ । दर्शकले दिने प्रतिक्रियाको अंकभार ५० प्रतिशत रहनेछ भने ५० प्रतिशत निर्णायकको हात रहनेछ ।