रोशन कुमारको निर्देशनमा सिनेमा ‘मीरा’को शुभमुहुर्त

रोशन कुमारको निर्देशनमा सिनेमा ‘मीरा’को शुभमुहुर्त

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौं –  नेपाली सिनेमा ‘मीरा’ निर्माण हुने भएको छ । रोशन कुमारको निर्देशन रहने सिनेमाको मंगलबार काठमाडौंको गुहेश्वरी मन्दिर परीसरमा शुभमुहुर्त गरिएको छ । सरकारले निर्धारण गरेको २५ जना भन्दा बढी मानिस भेला नहुने मापदण्डलाई पालना गर्दै सिनेमाको शुभमुहुर्त गरिएको थियो ।

द लाइफ एक्सप्रेस मुभि मेकर्स प्रालि तथा मझारे ईन्टरटेन्मेन्टले संयुक्त रुपमा निर्माण गर्ने उक्त सिनेमाको शुभमुहुर्त समारोहमा सिनेमाका मुख्य कलाकार रमेश क्षेत्री तथा रजिना अर्यालले मुहुर्त शटमा अभिनय गरेका थिए । कलाकार सुनिल कटुवालको क्यामेरा पुजा र लेखक सुशिल देवकोटाले नरिवल फुटाएर गरिएको मुहुर्त शटको निर्देशन बरिष्ठ अभिनेता कृष्ण मल्लले गरेका थिए । मुहुर्त शटमा द्धन्द्व निर्देशक संघका अध्यक्ष नारायण प्रधानले क्यामराको स्विच अन गरेका थिए भने राजेश बिसुरालले क्ल्याप हानेका थिए ।

सिनेमाका निर्देशक रोशन कुमारले मीरा नारी प्रधान हुने जानकारी दिँदै सिनेमाले बलात्कार जस्तो निन्दनीय घटनालाई हतोत्साहित गर्ने कथावस्तु समेटिएको जानकारी गराए । सिनेमामा रजिना अर्यालले मीराको चरित्र चित्रण गर्दैछिन् । यो उनको डेब्यू सिनेमा हो ।

सिनेमामा रजिनाका अलवा रमेश क्षेत्री, प्रेम बस्याल, रविना केसी, महेश धामी क्षेत्री, राजु श्रेष्ठ , सञ्जय ढुंगाना, उन्नत उप्रेती, मन्जिल श्रेष्ठ, प्रमिला बिक, प्रज्वल गिरी लगायतका कलाकारको अभिनय रहनेछ । सिनेमाका निर्माता गोपाल कार्की तथा आरोही श्रेष्ठ हुन् । सिनेमाको कथा प्रेम बस्यालले लेखेका हुन् । शुभमुहुर्त समारोहमा सिनेमाको पोस्टर समेत अनावरण गरिएको थियो ।

स्वास्थ्य मापदण्ड पालना गर्दै केही दिनमै फ्लोरमा जाने सिनेमा यही नयाँ वर्षको अवसर पारेर प्रदर्शनमा ल्याइने निर्देशक रोशन कुमारले जानकारी दिएका छन् । अमृत पाण्डेको छायांकन रहने सिनेमाका सह निर्देशक सागर ढकाल हुन् ।