होलीमा अक्षय कुमारको ‘बच्चन पाण्डे’ रिलिज घोषणा

होलीमा अक्षय कुमारको ‘बच्चन पाण्डे’ रिलिज घोषणा

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौं – बलिउड अभिनेता अक्षय कुमारको मुख्य भुमिका रहेको सिनेमा ‘बच्चन पाण्डे’को नयाँ रिलिज मिति घोषणा गरिएको छ । यसअघि मार्च ४ मा रिलिज हुने भनिएको सिनेमा अब दुई साता पछि अर्था होलीको अवसर पारेर मार्च १८ बाट रिलिज हुने भएको छ ।

मंगलबार निर्माण कम्पनीले सिनेमाका केही पोस्टर सार्वजनिक गर्दै नयाँ रिलिज मिति घोषणा गरेको हो । भारतमा कोरोना संक्रमणको तेस्रो लहरसँगै केही राज्यमा सिनेमा हल बन्द छन् भने केही राज्यमा ५० प्रतिशत अकुपेन्सीमा सञ्चालन भैरहेका छन् ।

जसका कारण रिलिजको संघारमा रहेका थुप्रै बलिउड सिनेमाको रिलिज मिति पोष्टपोन्ड गरिएको छ । तर, कोरोनाको तेस्रो लहर लामो समयसम्म नजाने विश्वास बलिउडकर्मीले लिएका छन् । मार्च महिनामा नै नयाँ बलिउड सिनेमाको प्रदर्शन मिति घोषणा गरिनुले पनि यो कुराको पुष्टि गर्दछ ।

दोस्रो चरणको कोरोनापछि अक्षयले नै सिनेमा ‘बेल बटम’ रिलिज गर्ने हिम्मत गरेका थिए । त्यो सिनेमाले बक्सअफिसमा खासै कमाल नगरेपनि बाटो खोलि दिएको थियो । तर तिहारमा रिलिज भएको अक्षय अभिनित सिनेमा ‘सूर्यवंशी’ले बक्स अफिसलाई चलायमान बनाएको थियो भने तेस्रो चरणको लकडाउनपछि पनि अक्षय नै अगाडि सरेका छन् ।

साजिद नाडियाडवालाको लगानीमा निर्माण भएको सिनेमालाई फरहाद साम्जीले निर्देशन गरेका हुन् । सिनेमामा अरसद वार्सी, कृति सेनन र ज्याकलिन फर्नान्डेजको पनि अभिनय रहेको छ । सिनेमामा अक्षय ग्याङस्टारको भुमिकामा देखिएका छन् ।