‘ढाका अन्तर्राष्ट्रिय सिनेमा महोत्सव’मा दुई नेपाली सिनेमा उत्कृष्ट

‘ढाका अन्तर्राष्ट्रिय सिनेमा महोत्सव’मा दुई नेपाली सिनेमा उत्कृष्ट

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौं – दुई नेपाली सिनेमाले आइतबार बंगलादेशमा सम्पन्न २० औँ ढाका अन्तर्राष्ट्रिय सिनेमा महोत्सवमा उत्कृष्टताको अवार्ड जितेका छन् । १७ वटा अवार्ड वितरण गर्दै समापन भएको समारोहमा ‘ऐना झ्यालको पुतली’बाट निर्देशक सुजित बिडारीले उत्कृष्ट निर्देशकको अवार्ड हात पारेका छन् ।

एसियन सिनेमा विधाको प्रतिस्पर्धामा सुजित उत्कृष्ट निर्देशक ठहरिएका हुन् । सिनेमाले पितृसत्तात्मक परिवारमा हुर्किएका दिदीभाइको स्नेहको कथा उठाएको छ । यही विधामा उत्कृष्ट सिनेमाको अवार्ड भने भारतबाट अस्करमा सिफारिस गरिएको तमिल सिनेमा ‘पेब्बल्स’ले जित्यो । किरण पोखरेलको निर्माणाधीन सिनेमा ‘पुतलीको सपना’ ले स्क्रिप्ट ल्याबमा प्रथम पुरस्कार जितेको छ । ‘वेस्ट मिट इस्ट’ स्क्रिनप्ले ल्याबमा प्रथम पुरस्कारसँगै सिनेमाले ५ हजार अमेरिकी डलर प्राप्त गरेको छ ।

महोत्सवमा सहभागी हुन ढाका पुगेका दुवै सिनेमाकर्मीले आफूले जितेका पुरस्कार ग्रहण गर्न पाएनन् । ढाका पुगेका उनीहरू कोभिड १९ संक्रमित भएपछि होटलबाट लाइभमा आफू विजेता बनेको हेरेर बस्नु पर्यो । निर्देशक सुजित बिडारीले आफूहरू संक्रमित भएपछि होटलमै बसेर समारोह हेरेको जानकारी दिएका छन् ।

दक्षिण कोरियामा वर्षेनी हुने बुसान सिनेमा महोत्सवमा मुख्य प्रतिस्पर्धामा छानिने पहिलो नेपाली सिनेमा बनेको ‘ऐना झ्यालको पुतली’ले पहिलो अवार्ड जितेको हो । ‘बुसानपछि नै हामी सिनेमा रिलिज गर्ने तयारी भएतापनि महामारीले रोकेको थियो । महामारीको अवस्थामा पनि सिनेमा पुरस्कृत हुँदा पर्खाइको फल मीठै हुन्छ भन्ने अनुभूति भएको छ,’ निर्देशक बिडारीले बताए ।

सुशान्त श्रेष्ठको लगानीमा बन्ने पुतलीको सपनालाई किरण पोखरेलले निर्देशन गर्नेछन् । सिनेमाले ढाकाको स्क्रिप्ट ल्याबमा प्रथम पुरस्कार जित्नुअघि युरोपका केही ल्याबमा पनि छनोट भएको थियो । ‘पुतलीको सपना’ आफ्नो लैंगिक परिचयका लागि आफैंभित्र संघर्ष गर्दागर्दै तत्कालिन छापामार युद्धमा होमिएकी नेपालको पहाडी भेगकी किशोरीको कथा भन्ने छ ।

सिनेमा अध्यनमा स्नातक गरेका लेखक तथा निर्देशक किरण पोखरेलले यसअघि राष्ट्रिय तथा अन्तर्राष्ट्रिय रुपमा विभिन्न सिनेमा, डकुमेन्ट्री, रियालिटी सो लगायतमा लेखन, निर्देशन तथा निर्माण गरिसकेका छन् ।