चैत १० देखि काठमाडौंमा निफ सिनेमा महोत्सव हुने

चैत १० देखि काठमाडौंमा निफ सिनेमा महोत्सव हुने

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौं – ‘नेपाल अन्तर्राष्ट्रिय सिनेमा महोत्सव’ (निफ) आगामी चैत १० गतेदेखि चारदिनसम्म काठमाडौंमा आयोजना हुने भएको छ । ‘विश्वभरिका कथाहरुको उत्सव, नेपाल अन्तर्राष्ट्रिय सिनेमा महोत्सव’ भन्ने नाराका साथ पाँचौं संस्करण हुन लागेको आयोजक संस्था नेपाल चलचित्र तथा सांस्कृतिक प्रतिष्ठानले जानकारी दिएको छ ।

५५ देशबाट चारसयभन्दा बढी सिनेमा प्राप्त भएकोमा ती मध्येबाट ३८ देशका ८९ सिनेमा छानिएको आयोजक संस्थाका अध्यक्ष केपी पाठकले जनाएका छन् । अन्तर्राष्ट्रिय प्रतिस्पर्धामा फिचर, एनिमेटेड, वृत्तचित्र, सर्ट र राष्ट्रिय प्रतिस्पर्धाअन्तर्गतका विधामा आवेदन मागिएको थियो । यो वर्ष नेपाली प्रतिस्पर्धामा ५० हजार रुपैयाँ नगद पुरस्कारसहितको ‘वेष्ट डकुमेन्ट्री अवार्ड’ थप गरिएको आयोजकले जनाएको छ ।

अन्तर्राष्ट्रिय प्रतिस्पर्धाअन्तर्गत सर्वोत्कृष्ट फिचर सिनेमालाई १५ सय अमेरिका डलर राशीसहितको गौतमबुद्ध अवार्ड दिइने भएको छ । राष्ट्रिय तथा अन्तर्राष्ट्रिय फिचर सिनेमाबाट एकलाई ‘सिनेमा समाजहरुको अन्तर्राष्ट्रिय महासंघ, आईएफएफएस डन क्विजोट अवार्ड’ प्रदान दिइने भएको छ ।

महोत्सवमा सर्वोत्कृष्ट हुने डकुमेन्ट्रीलाई एक हजार डलर राशीको माउण्ट एभरेष्ट अवार्ड, सर्वोत्कृष्ट एनिमेटेड सिनेमालाई ५ सय डलर राशीको मञ्जुश्री अवार्ड, सर्वोत्कृष्ट लघु सिनेमालाई ५ सय राशीको बागमती अवार्ड प्रदान गरिने भएको छ । नेपाली प्रतिस्पर्धा अन्तर्गत उत्कृष्ट फिचरलाई १ लाख नगद र ट्रफी, उत्कृष्ट छोटो सिनेमा र उत्कृष्ट वृत्तचित्रलाई ५० हजार नगद र ट्रफी प्रदान गरिनेछ ।

छोटो सिनेमामध्येबाट उत्कृष्ट निर्देशकलाई ट्रफी प्रदान गरिनेछ भने फिचर सिनेमा तर्फका उत्कृष्ट निर्देशक, लेखक, छायांकार, अभिनेता र अभिनेत्रीलाई पनि ट्रफी प्रदान गरिने आयोजकले जनाएको छ ।