सिनेमा हल सञ्चालन अनुमति दिने मन्त्री कार्कीको प्रतिवद्धता

सिनेमा हल सञ्चालन अनुमति दिने मन्त्री कार्कीको प्रतिवद्धता

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौं – नेपाली सिनेमा सम्बन्धित संस्थाका पदाधिकारीले सुचना तथा संचार प्रविधि मन्त्रीलाई भेटेका छन् । मन्त्री ज्ञानेन्द्र कार्कीले चलचित्र विकास बोर्ड अध्यक्ष दयाराम दाहाल, चलचित्र संघका अध्यक्ष मधुसुधन प्रधान, महासचिव अशोक शर्मा, निर्माता संघका वरिष्ठ उपाध्यक्ष उदय सुब्बा र वितरक नरेन्द्र महर्जन लगायतको टिमले मन्त्री कार्कीलाई भेटेको थियो ।

कोरोनाभाइरस महामारीको तेस्रो लहरले बन्द रहेका सिनेमा हललाई चाँडै खुलाउन आफूले पहल गर्ने संचारमन्त्री कार्कीले बताएका छन् । कोरोना महामारीले प्रभावित नेपाली सिनेमा र यससँग आबद्ध व्यवसायी र व्यक्तिको मर्काबारे आफू जानकार रहेको बताउँदै मन्त्री कार्कीले हल खुलाउन सकारात्मक पहल गर्ने जानकारी दिए ।

सुचना तथा संचार मन्त्री कार्कीसँगको भेटपछि कुरा गर्दै बोर्ड अध्यक्ष दाहालले भने, ‘मन्त्रीज्यूले जतिसक्दो चाँडो सिनेमा हल खुलाउन पहल गर्ने वचन दिनुभएको छ । सकारात्मक पहल गर्छु भन्नुभएको छ ।’ यही अवसरमा चलचित्र संघ र निर्माता संघको तर्फबाट मन्त्रालयलाई कोरोना महामारीको कारण परेको असर र सुझावसहितको ज्ञापनपत्र बुझाइएको थियो ।

जवाफमा मन्त्री कार्कीले विभागीय मन्त्रीको नाताले सिनेमा क्षेत्रको समस्या समाधानमा पहल गर्ने प्रतिबद्धता जनाए । यता चलचित्र संघका महासचिव अशोक शर्माले मन्त्रीसँगको भेटमा आफुहरुले सिनेमा हल सवैभन्दा सुरक्षित रहेको कुरा बुझाएको र चाँडै सिनेमा हल सञ्चालनको अनुमति मिल्ने विश्वास व्यक्त गरे ।