बलिउड गायिका लता मंगेशकरको निधन, भारतमा राष्ट्रिय शोक घोषणा

बलिउड गायिका लता मंगेशकरको निधन, भारतमा राष्ट्रिय शोक घोषणा

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौं – चर्चित बलिउड गायिका लता मंगेशकरको ९२ वर्षको उमेरमा निधन भएको छ । गत महिना कोभिड संक्रमणपछि मुम्बईस्थित अस्पतालमा भर्ना गरिएकी उनलाई निमोनिया पुष्टि भएको थियो ।

शनिबारदेखि उनलाई चिकित्सकले भेन्टिलेटरमा राखेर उपचार गर्दै आएका थिए । जनवरी ८ मा उनलाई उक्त अस्पतालमा भर्ना गरिएको थियो । गतसाता स्वास्थ्यमा सुधार आए पनि शनिबारदेखि भने श्वासप्रश्वासमा समस्या आएपछि उनलाई भेन्टिलेटरमा राखिएको हो ।

लतालाई बलिउडमा सदावहार गायिका मानिन्छ । उनले हजारौं हिन्दी भाषीसहित भारतका ३६ भाषामा समेत गीत गाएकी छिन् । सन् १९८९ मा उनलाई दादा साहेब फाल्खे अवार्डबाट सम्मानित गरिएको थियो ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले ट्वीटरमा शोक व्यक्त गर्दै लेखेका छन् स् आउँदो पुस्ताले उनलाई भारतीय संस्कृतिको एक दिग्गजको रूपमा सम्झनेछन्, जसको मधुर आवाजले मानिसहरूलाई मन्त्रमुग्ध गर्ने अतुलनीय क्षमता थियो ।’ मोदीले गायिका मंगेशकरको निधनले मर्माहत भएको उल्लेख गरेका छन् । उनीसँगै भारतका विभिन्न राजनितिक दलका नेता तथा बलिउडकर्मीले उनलाई श्रद्धाञ्जली अपर्ण गरेका छन् ।

एमबीबी शाह नामले चिनिने पूर्वराजा महेन्द्रद्वारा लिखित आकाशमा तिरमिरे बोलको गीतलाई लताले गाएकी थिइन् । लताले नेपाली गायक रामकृष्ण ढकालसँग पनि मिलेर ‘बाँचुञ्जेलीलाई’ गाएकी छिन् । १३ वर्षको उमेरदेखि गीत गाउन सुरु गरेकी महान गायिका मंगेशकरले ७८ वर्षको गायक करिअरमा ५० हजारभन्दा धेरै गीत गाएकी छन् ।

उनले सन् १९४२ मा १३ वर्षको उमेरमा पहिलो गीत रेकर्ड गराएकी थिइन् । त्यसबापत थुप्रै पुरस्कार र सम्मान पनि पाइन् । उनले तीनपल्ट राष्ट्रिय अवार्ड जितिन् भने सन् १९६९ र १९९९ गरी दुईपल्ट पद्म विभूषण र पद्म भूषण सन् २००१ मा भारतरत्न अवार्डसमेत पाएकी छन् ।

समर्थकबाट मायाले ‘नाइटिंगेल अफ इण्डिया’ उपनाम पाएकी मंगेशकरका एक प्यारका नगमा हे, राम तेरी गंगा माई, एम राधा एक मीरा, दिदी तेरा देवर दिवाना लगायतका गीतहरु कालजयी छन् । भारत सरकारले उनको निधनमा दुई दिने राष्ट्रिय शोक घोषणा गरेको छ ।

राष्ट्रिय ध्वजा संहिताअनुसार राजकीय शोकमा संसद, सचिवालय, विधानसभा, अन्य महत्वपूर्ण राष्ट्रिय भवन तथा सबै सरकारी कार्यालयमा राष्ट्रिय झण्डा आधा झुकाइनेछ । समाचार एजेन्सीका अनुसार लताको पार्थिव शरीरको अन्तिम संस्कार आइतबार साँझ साढे ६ बजे राजकीय सम्मानका साथ मुम्बईको शिवाजी पार्कमा गरिनेछ ।