‘नेपाल-अमेरिका अन्तर्राष्ट्रिय सिनेमा महोत्सव’को सुरुवात ‘हल्कारा’बाट गरिने

‘नेपाल-अमेरिका अन्तर्राष्ट्रिय सिनेमा महोत्सव’को सुरुवात ‘हल्कारा’बाट गरिने

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौं – अमेरिकाको म्यारिल्याण्ड राज्यमा प्रत्येक वर्ष आयोजना हुँदै आएको ‘नेपाल-अमेरिका अन्तर्राष्ट्रिय सिनेमा महोत्सव – २०२२’ यहि जुन महिनाको २३ देखि २६ सम्म भौतिक रुपमा र भर्चुअलबाट हुने भएको छ । महोत्सवमा नेपाल र अमेरिका लगायत विश्वका १२ देशका ३८ वटा सिनेमा प्रदर्शन हुने आयोजकले जानकारी दिएको छ ।

जुनको २३ तारिक बिहिबार साँझ पुरानो ग्रीन्बेल्ट थिएटरमा बिक्रम सापकोटाद्वारा निर्देशित सिनेमा ‘हल्करा’को भौतिक प्रदर्शनबाट महोत्सवको उद्घाटन हुनेछ । सिनेमा महोत्सवको समापन जुन २६ तारिक आइतबार साँझ निर्देशक माइकल ब्राउनको वृत्तचित्र ‘वृक म्युलु’ र एरिक स्पिंकको लघु सिनेमा ‘द लिप रिडर’बाट भौतिक रुपमै हुने जनाइएको छ ।

भौतिक प्रदर्शनी बाहेक महोत्सव अवधिभर स्मार्ट फोन, आइप्याड, कम्प्युटर, ल्याबटप र स्मार्ट टेलिभिजनमा इवेनटिभ एप मार्फत सिनेमा हेर्न सकिनेछ । बिगतका वर्ष जस्तै ग्लोबल पिस सिनेमा फेस्टिवलको सहकार्यमा २ वटा सिनेमा प्रदर्शन हुनेछन भने स्थानीय सिनेमाकर्मीलाई प्रोत्साहन गर्न डीएमभी क्लोजअप प्रदर्शन गरिने छ ।

प्रदर्शन भएका सिनेमाबारे दर्शक र सिनेमा निर्माता-निर्देशक तथा कलाकारसँग छलफल कार्यक्रम पनि आयोजना गरिने छ । महोत्सवमा यस वर्षको कान्स सिनेमा फेस्टिवलमा पुगेका निर्देशक अविनाश बिक्रम शाह र अभिनेत्री सुरक्षा पन्तसंग पनि ‘भर्चुअल’ संवाद गरिने भएको छ । प्रतिस्पर्धाका लागि छानिएका उत्कृष्ट सिनेमा लाई पुरस्कृत पनि गरिनेछ ।

सिनेमा महोत्सव २०२२ का लागि ७ जनाको निर्णायक मण्डल घोषाणा गरिएको छ । निर्णायक मण्डलले उत्कृष्ट सिनेमाको पुरस्कार घोषणा गर्नेछन् । नेपालबाट अनुप सुबेदी, अमेरिकाबाट रिबेका बिसमानते, निना स्ट्रिच्क, भवानी राओ, डेब्रा जनसन, फारिड बोजोरमेयर र पोर्सिया कोब जुरीको रुपमा रहेका छन् । महोत्सवमा आवेदन परेका सिनेमालाई सिनेमा सोसाइटीको सिनेमा छनोट समितिले प्रदर्शनका लागि छानेको थियो ।

सन् २०१७ देखि गैर-नाफामुलक संस्था नेपाल अमेरिका सिनेमा सोसाइटीले निरन्तर यो सिनेमा महोत्सव आयोजना गर्दै आइरहेको छ । कार्यक्रमबारे थप जानकारी संस्थाका सामाजिक संजाल तथा वेबसाइटमा उपलब्ध हुने जनाइएको छ ।