द सिनेमा टाइम्स, काठमाडौं – कथा: २००८ सालमा भीमनिधि तिवारीले सोही नाममा लेखेको कथामाथि सिनेमा बनाइएको छ। यो कथा २००८ सालमा नेपाल भाषा प्रकाशिनी समितिले प्रकाशन गरेको ‘नेपाली सामाजिक कहानी’को अन्तरे भागमा समाविष्ट छ। तिवारी आफ्ना सामाजिक कथाका लागि नेपाली साहित्यमा कहलिएको नाम हो। कथा ८ सालमा लेखिएको भएपनि सिनेमामा भने २०३० सालको सेरोफेरोमा प्रस्तुत गरिएको छ।
कथा अनुसार कोजाग्रत पूर्णिमाको दिन दुई देउरानी जेठानीको झिंगेदाउ खेल्न थाल्छन्। यो खेलमा दाउ हाल्नेले आआफ्नो अगाडि सिक्का पैसा राख्छन् र जसको पैसामा आएर पहिला झिंगा बस्छ, पैसाले उसले नै जित्छ। आफ्नो पैसा लगालग जेठानी सीताले जितेपछि रिसको झोकमा देउरानी राधाले उक्त झिंगा मारिदिन्छिन्। आफूलाई जिताइरहेको झिंगा मार्दिएपछि उनी देउरानीसँग झोक्किन्छिन्। दुबैबिच लोपारालोपार हुन्छ र उनीहरू हात हालाहालमा पुग्छन्। यहाँबाट सुरू भएको मनोमालिन्यले अन्तत दाजुभाइमासमेत फाटो आउन थाल्छ। यसपछि चल्ने घटनाक्रम नै झिंगेदाउको कथा हो।
स्क्रिप्ट : यस कथालाई पटकथामा प्रदीप भारद्वाजले ढालेका हुन्। उनले यो कथालाई बडो कुशलतापूर्वक पटकथा ढालेका छन्। यसक्रममा मूल कथामा नभएका केही पात्र र घटनाक्रमलाई पनि यसमा थपेका छन्। उनले थपेका कुराहरू मूलकथामा सर्लक्कै मिलाएर राखेका छन्। उनको लेखनीले दर्शकहरूलाई सिनेमा हेरून्ञेल बाँधेर राख्छ दर्शकहरूले भरपुर मनोरञ्जन प्राप्त गर्छन्। पटकथासँगै सिनेमाको संवाद पनि प्रदीपले लेखेका हुन्। यो काममा पनि उनको कुशलता देखिन्छ। उनले पात्र सुहाउँदोगरी संवादहरू लेखेका छन्। उनको संवाद सरल हुनुकासाथै गहकिलो पनि छ।
अभिनय : सिनेमामा केकी अधिकारी, मुकुन भुषाल, आँचल शर्मा, कुशल विष्ट, हिउबाला गौतम, अन्शु महर्जन, आयान खड्का, संगम भण्डारी, विजय देउजा, अभयराज बराल, पासा. टि शेर्पा, आशा भुषालको अभिनय रहेको छ। देउरानी जेठानीको भूमिकामा आँचल र केकीले स्वभाविक अभिनय गरेका छन्। त्यस्तै मुकुन र कुशल पनि आफ्नो भूमिकामा फिट अभिनय गरेका छन्। यस्तै आमाको भूमिकामा रहेकी हिउबालाले पनि मन जित्ने अभिनय गरेकी छन् भने फतौरीको भूमिकामा अभिनय गरेकी संगम भण्डारीको अभिनय स्मरणीय छ भने अन्शु महर्जनले पनि दर्शकको मन जित्छिन्। यस्तै अभयराज र आयानको अभिनय पनि स्वादिलो छ।
निर्देशन : ग्रामिण कथामा निर्देशक ज्ञानेन्द्र देउजाको निर्देशन तारिफयोग्य छ। उनले प्रत्येक सट र सिनलाई आफ्नो नियन्त्रणमा राखेका छन्। उनले कथालाई कतै नअलमलाइ दर्शकलाई बाँधेर राख्ने किसिमले कमाण्ड गरेका छन्। ‘मुनामदन’ जस्तो कृतिमाथि सिनेमा निर्देशन गरेका देउजाले यस कृतिमा पनि निर्देशकका रूपमा सिनेमामाथि पूर्ण न्याय गरेका छन्। सिनेमालाई उनले ओपन एण्डमा लगेर छोडेका छन्। यसले पनि उनी राम्रा निर्देशक हुन भन्ने छाप छोड्छ। उनको निर्देशकिय प्रस्तुति तारिफयोग्य छ।
संमग्रमा : समग्रमा नेपाली जनजीवन र परिवेशमा आज पनि समसामयिक अनुभुत हुने घटनालाई पस्केको सिनेमा दर्शकका लागि पूर्ण मनोरञ्जक बनेको छ। हेरूञ्जेल दर्शकका लागि सिनेमा मनोरञ्जकसँगै भावुक बनाउने किसिमको छ। नेपाली अर्गानिक कथामा बनेको यो सिनेमा परिवारसहित हेर्न सिफारिस योग्य सिनेमा हो।
रेटिङ :⭐️⭐️⭐️⭐️
प्रतिक्रिया