मंसिर २२ देखि ‘बाघको बङ्गारा’ प्रिमियर गर्दै सुरु हुनेछ किम्फ

मंसिर २२ देखि ‘बाघको बङ्गारा’ प्रिमियर गर्दै सुरु हुनेछ किम्फ

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौं – मह शिकारीको कथामा निर्माण भएको सिनेमा ‘बाघको बङ्गारा’ प्रिमियर गर्दै काठमाडौं अन्तर्राष्ट्रिय पर्वतीय सिनेमा महोत्सव (किम्फ)को बीसौं संस्करणमा आयोजना हुने भएको छ ।

बुधबार राजधानीमा आयोजित पत्रकार सम्मेलनमा कमलकुमार निर्देशित सिनेमा संचारकर्मीलाई देखाइएको थियो । ‘हेर्ने कथा’की संचालिका विद्या चापागाईले निर्माण गरेको सिनेमा प्रदर्शनपछि निर्माण टिमसँग अन्तक्रिया समेत गरियो ।

उत्तरी जाजरकोटका स्थानीयले लामो यात्रापछि अक्करे भीरमा चढेर गर्ने मह शिकारको कथा सिनेमामा प्रस्तुत गरिएको छ । गैरआख्यान श्रेणीको सिनेमाले मह शिकारको लागि हिमाली भेगका बासिन्दाले गर्ने दुःख र मिहेनतलाई चित्रण गरेको छ ।

‘हेर्ने कथा कार्यक्रम तयार पार्ने सिलसिलामा यो सिनेमा निर्माण गरेका हौं’ निर्मात्री चापागाईले भनिन्, ‘किम्फमार्फत दर्शकसामु सिनेमा देखाउन हामी तयार र उत्साहित छौं ।’ टेलिभिजन र रेडियोमा अनुभव बटुलेका निर्देशक कुमारले छायांकन बेलाको अनुभव सुनाए । ‘वास्तवमै निकै कठिनाइपूर्वक खिचिएको थियो । त्यो क्षण सम्झँदा पनि आङ सिरिंग हुन्छ’ उनले भने, ‘म फेरि त्यहाँ पुगेर सिनेमा खिच्न चाहन्न ।’

मंसिर २२ देखि २६ सम्म आयोजना हुने फेस्टिभलको पहिलो दिन ‘बाघको बङ्गारा’ प्रिमियर हुनेछ । फेस्टिभलको समापन चाहिँ अष्ट्रेलियाली प्याराग्लाइडरले पोलियो रोगविरुद्ध सहायता जुटाउने उद्देश्यले सगरमाथाबाट प्याराग्लाइड गर्ने कथावस्तु बोकेको सिनेमा ‘फ्लाइ फ्रम एभरेस्ट’बाट हुनेछ ।

पहिलो दिन विहिबार भारतीय निर्देशक एम गनी निर्देशित सिनेमा ‘माट्टोकी साइकिल’को विशेष प्रदर्शन हुनेछ । बलिउड अभिनेता प्रकाश झाको अभिनय रहेको सिनेमाले एउटा साइकलले मजदुरको जीवनमा आउने उतारचढावको कथा भन्छ ।

ओटीटी प्लेटफर्ममा रिलिज भैसकेको सिनेमालाई दर्शकले किम्फमा भौतिकरुपमै हेर्न पाउनेछन् । यस वर्ष किम्फमा ३० मुलुकका ६० भन्दा बढी सिनेमा प्रदर्शन गरिनेछन् । राष्ट्रिय सभागृह र पर्यटन बोर्डमा चल्ने फेस्टिभलमा यसपटक दुई दर्जन अन्तर्राष्ट्रिय सिनेमामेकर सहभागि हुनेछन् ।

यसपटक भौतिकरुपमै सिनेमा देखाउने तयारी छ । कोभिड महामारीको कारण अघिल्ला दुईवर्ष हाइव्रिड शैलीमा आयोजित फेस्टिभल यसपटक भौतिकरुपमा हुनेछ । यो संस्करणको मूल नारा दिगो आरोहण राखिएको छ । जलवायु परिवर्तन र वातावरणीय संकटले हिमाल आरोहणमा ल्याएको चुनौतिलाई लक्षित गर्दै नारा तय गरिएको फेस्टिभल निर्देशक रम्यता लिम्बुले बताइन् ।

सिनेमा स्क्रिनिङबाहेक नेपाली सिनेमाको भविष्य, सिनेमामा तन्नेरी पुस्ता र सिनेमामा बालबालिकाजस्ता विषयमा सिनेमाकर्मीबीच सामूहिक छलफल समेत हुनेछ । जर्मन लेखक तथा निर्माता माइकल पज, नेपाली सिनेमा निर्माता तथा एनिमेटेड अगुवा किरणभक्त जोशी र दक्षिण कोरियाको अल्जु पर्वतीय सिनेमा फेस्टिभलकी प्रोग्रामर जिन्ना ली जुरीको रुपमा किम्फमा हुनेछन् ।

फेस्टिभलबाहेक यसपटक विभिन्न मुलुकका पर्वतीय सिनेमा महोत्सवहरुको अलायन्स (आइएएमएफ)को साधारण सभा पनि काठमाडौंमा हुनेछ । उक्त संगठनका २८ सदस्य राष्ट्रको सहभागिता सभामा हुने जानकारी किम्फले दिएको छ । किम्फ आयोजकको रुपमा हिमाल एसोसिएसन छ भने सह–आयोजकमा काठमाडौं महानगरपालिका रहनेछ ।