बिकास बोर्डद्वारा ‘अन्तर्राष्ट्रिय फिल्म सिटी’को अवलोकन अनुगमन

बिकास बोर्डद्वारा ‘अन्तर्राष्ट्रिय फिल्म सिटी’को अवलोकन अनुगमन

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौं – चलचित्र बिकास बोर्डले दोलखाको लाकुरीडाँडामा निर्माणाधीन ‘अन्तर्राष्ट्रिय फिल्म सिटी’को अवलोकन अनुगमन गरेको छ ।

राष्ट्रपतिद्वारा प्रस्तुत चालु आर्थिक बर्षको नीति तथा कार्यक्रममा सम्बोधन भएको फिल्म सिटी निर्माणमा ११ वर्ष यता भएका प्रगति, नयाँ सम्भाव्यता तथा तीन तहका सरकार र निजी क्षेत्रसंगको लगानी सहकार्यको सम्बन्धमा स्थानीय सरकारसंग छलफल समेत भयो ।

बोर्ड अध्यक्ष भुवन केसीसहित सदस्यहरु र संचार तथा सुचना प्रविधि मन्त्रालयका पदाधिकारीले भिमेश्वर नगरपालिकाका प्रमुख ईश्वर नारायण मानन्धरसहित स्थानीय तहका पदाधिकारीहरु र नेपाल पत्रकार महासंघ दोलखाका अध्यक्ष दिप शंकर चौलागाईंसंग फिल्म सिटीको लगानी सहकार्य, सिटीको महत्व, पर्यटन प्रवर्द्धन, रोजगारी तथा वरपर हुने व्यापारिक केन्द्रको बिषयमा छलफल गरेका थिए ।

छलफलमा अध्यक्ष केसीले फिल्म सिटी हलिउड/बलिउडको जस्तै बन्ने र सिटीको भौगोलिक अवस्थाले आफुलाई अचम्मित पारेको बताए ।

‘फिल्म सिटी एक छुट्टै संसार हो । मैले बलिउड र हलिउडमा देखेको फिल्म सिटीजस्तै हो यो फिल्म सिटी । चलचित्र विकास बोर्डले मात्र होईन नेपाल सरकारले पनि एकदमै रुचि राखिरहेको छ । चलचित्र मनोरन्जनको माध्यम मात्र नभएर यसले हाम्रो देशको कलासंस्कृतिको विकास र पर्यटन प्रवर्द्धनमा महत्वपूर्ण भुमिका खेलेको हुन्छ । हामी छिट्टै नै नेपाली र विदेशी सिनेमाहरु यो सिटीमा छायांकन भएको हेर्न चाहन्छौँ।’ केसीले भने ।

‘मैले यसअघि यो सिटीलाई सामान्य रुपमा बुझेको थिएँ । बोर्ड अध्यक्ष बनेर आइसकेपछि विस्तृत अध्ययन र फिल्ड भिजिटमा पुग्दा निकै विशाल पाएँ । हामीले सुनेको आधारमा बनाउदै आएको धारणा भन्दा निकै बृहत स्थान रहेछ ।’

भिमेश्वरमा फिल्म सिटी बनाउने योजना ल्याउने बरिष्ठ कलाकार मदनदास श्रेष्ठ र सम्बन्धित निकायप्रति आभार व्यक्त गर्दै केसीले निकै ठुलो योजना भएको हुँदा तुरुन्तै सम्पन्न नहुने बताउदै सहकार्यको लागि सबै तहका सरकार र निजी क्षेत्रलाई सहयोग गर्न आह्वान गरे ।

नगरपालिका प्रमुख मानन्धरले फिल्म सिटीलाई दोलखाबासीले अति महत्वपूर्ण सपनाको रुपमा हेरेको र ठुलो बजेटको परियोजना सफल बनाउन संघीय सरकारको लगानीमा बढोत्तरी हुनु पर्नेमा जोड दिए ।

‘यो सपना देखेको धेरै बर्ष भईसकेको छ । यो बीचमा लगानीको समस्याका कारण काम थालनी गरी बेवारिसे रुपमा छोडिन थालेपछि सरकारकै अन्य मन्त्रालयले यसभित्र आँखा लगायो । सरकारी संयन्त्रहरु कुन अवस्थामा रहेछन् भन्ने कुरा फिल्म सिटीको कथाब्यथाले बताउँछ ।’ राष्ट्रिय योजनाको रुपमा एउटा योजना चलिरहेको क्षेत्रभित्र अर्को मन्त्रालयद्वारा अन्य कामको लागि ठेक्का लगाउने कोसिस गरेको भन्दै मानन्धरले बिष्मयता प्रकट गरे ।

स्थानीय सरकारले गर्ने सबै प्रयासहरु भिमेश्वर नगरपालिकाले गरिरहेको नगरपालिका उपप्रमुख कमला बस्नेतले बताइन ।

संचार तथा सुचना प्रविधि मन्त्रालयका सहसचिव उत्तर कुमार खत्रीले परियोजनाका लागि स्रोत र साधन जुटाउन ‘पब्लिक प्राइभेट पार्टनरसिप’को मोडलमा काम अगाडी बढिरहेको बताए ।

बोर्डका सदस्य सचिव टंक प्रसाद महतले नीति तथा कार्यक्रममा उल्लेख भएबमोजिम ‘पब्लिक प्राईभेट पार्टनरसिप’को मोडललाई अन्तिम रुप दिने काम भईरहेको जानकारी दिए ।

संचालन तथा व्यवस्थापन समितिका संयोजक मदनदास श्रेष्ठले सिटीमा भईसकेका केहि कामहरु चलचित्र विकास बोर्डलाई हस्तान्तरण गर्ने तयारी भइरहेको बताए। उनले अन्य जग्गा प्राप्ती तथा अन्य पूर्वाधारको लागि आवश्यक कामहरु भइरहेको जानकारी दिए ।

केहि वर्ष अगाडी बोर्डले लगभग २ हजार रोपनी जग्गामा करिब १६ अर्ब लगानीको डीपीआर तथा मास्टरप्लान तयार पारेको थियो ।

जसअन्तर्गतको विद्युत प्रसारण लाइन तान्ने, स्टुडियो क्षेत्रभित्र पर्ने झन्डै ६ किलोमिटर बाटो कालोपत्रे गर्ने र प्रवेशद्वार/सूचना केन्द्र/गेष्ट हाउसको लागि तीन वटा भवन निर्माणको काम अन्तिम चरणमा पुगेको छ ।

ति भवनहरु र प्रवेशद्वार भिमेश्वर नगरपालिका मातहतमा बागमती प्रदेश सरकारको लगानीमा तयार हुन लागेका हुन् । केहि महिनाभित्र फिल्म सिटी परियोजनालाई नगरपालिकाले भवन हस्तान्तरण गर्नेछ ।